धनगढीमा भीषण आगलागी, अस्पताल सहित थुप्रै पसलमा क्षति
धनगढी उपमहानगरपालिका-१ मा अवस्थित सारथि अस्पताल आसपासमा गएराति १ बजे भीषण आगलागी भएको छ।
अस्पतालका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीका अनुसार आगलागी लगत्तै त्यहाँ उपचाररत बिरामीलाई राति नै अन्यत्र सारिएको थियो। मानवीय क्षति नभए पनि आगलागीका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा चार वर्षदेखि सञ्चालित यस अस्पताल पूर्ण क्षतिग्रस्त भएको छ।
आगलागीले अस्पताल सहित आधा दर्जन पसलमा पनि क्षति भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ। कैलाली प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार अस्पताल नजिकै दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर एन्ड शू सेन्टरको जुत्ताचप्पलको होलसेल गोदाममा अचानक विद्युत्को तार शर्ट भई आगलागी भएको थियो। त्यहाँबाट सल्केको आगोले अन्यत्र पनि क्षति गरेको हो।
आगलागीबाट टेकेन्द्र शर्माले सञ्चालन गरेको मधुमाला देवी शप, वासुदेव भट्टले सञ्चालन गरेको भट्ट शपिङ सेन्टर, जगतबहादुर बलायरले सञ्चालन गरेको शुभेच्छादेवी शपिङ सेन्टर, शोदा साउदले सञ्चालन गरेको न्यू सदीक्षा इन्टरप्राइजेज, गौरी भण्डारीले सञ्चालन गरेको भण्डारी शू सेन्टर, जानकी भट्टले सञ्चालन गरेको भट्ट ट्रेडर्स एन्ड सप्लायर्समा पनि क्षति भएको छ।
राति नै जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको कमान्डमा ४० जना प्रहरी, तेघरी ब्यारेक कैलालीबाट सेनानी विपेन आचार्यको कमान्डमा २६ जना सैनिक, सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टर कैलाली नैनादेवीबाट सहायक प्रहरी नायब उपरीक्षक खेमराज ठकुल्लाको कमान्डमा ३० जना सशस्त्र प्रहरी आगलागी नियन्त्रणमा खटिएका थिए।
धनगढी उपमहानगरपालिकाका दुई वटा, गोदावरी नगरपालिकाको एउटा र पुनर्वास नगरपालिकाको एउटा गरी चार वटा दमकल सहित स्थानीयले आगो नियन्त्रणमा लिएका थिए।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।