जाडो छल्न नेपाल आए चरा
विगतमा झैं यस वर्ष पनि जाडो छल्न चराहरू नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन्।
मंसीरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम शुरू भएको हो। सुनसरी, सप्तरी र उदयपुरको संगमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष ती चराको वासस्थान बनेको छ।
कोशीटप्पुमा बर्सेनि नयाँ नयाँ प्रजातिका चरा आउने गरे पनि झुन्ड झुन्डमा आउने चराको संख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए। गौतमका अनुसार गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार ५०० भन्दा बढी चरा नेपाल आएका थिए।
तर हजारौंको संख्यामा आउने बार हेडेड गूस (खोया हाँस)को संख्या भने घट्दो क्रममा रहेको प्रमुख गौतम बताउँछन्।
उत्तरी ध्रुवमा हिमपात शुरू भएसँगै जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौं चरा बसाइँ सरी आउने गर्छन्। बर्सेनि करीब १५० प्रजातिका चरा रूस, किर्गिस्तान, तुर्किमिनिस्तान, उज्वेकिस्तान, अजरबैजान, चीन, मंगोलियाका साथै यूरोप, तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्यांक छ।
करीब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलंकातिर जाने गर्छन्।
जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन्। अन्य प्रजातिमा शिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राई आदि पर्दछन्।
“नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरि नेपालमै रहन्छन् भन्ने हुँदैन,” बर्ड वाचिङ क्याम्प कोशीटप्पुका सञ्चालक कुरमान मन्सुरीले भने, “नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइ वर्षभरि नै निरन्तर चलिरहन्छ।”
उनका अनुसार कोशीटप्पुकै आसपासमा रहेका बर्जु ताल र मोरङको बेतना सिमसारमा पाहुना चरा झुन्डमै आउने गरेको पाइएको छ।
वातावरण पत्रकार एवं उपप्राध्यापक रामचन्द्र अधिकारीका अनुसार नेपालका विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरियासम्मका चरा बेतनामा हेर्न पाइन्छ। बेतना सिमसारमा ४९ प्रजातिका चरा रहेको तथ्यांक छ। यसमा ७० प्रतिशत स्थानीय, १८ प्रतिशत हिउँदमा आउने पर्यटक चरा र १२ प्रतिशत गर्मीमा आउने पर्यटक चरा छन्।
“कोशीटप्पुमा आउने प्रायः पाहुना चरा यहाँ पनि आइपुग्छन्, मंसीरदेखि फागुनसम्म नेपाल बाहिरबाट आउने चरा यहाँ बस्ने गरेको पाइएको छ,” उनी भन्छन्।
आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्छन्। जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन्। अन्य प्रजातिमा शिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राई आदि पर्छन्।
बच्चा कोरल्न आएका चरा असोजसम्म आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन्। यसरी आउने करीब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ।
नेपाल आउने अन्य चरामा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि छन्। ग्रीष्मकालीन आगन्तुक चराको मुख्य वासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषि भूमि भएको कोशी संरक्षण केन्द्रका प्रमुख गौतम बताउँछन्।