अफगानिस्तानमा बन्दूक छल्दै रिपोर्टिङ गरें, पत्रकारिता ‘मिस’ गर्छु
समाचार छापिएपछि अफगानिस्तानमा बन्धक बनाई जोखिमपूर्ण काममा लगाइएका, यौनदासी बनाइएका नेपालीले मुक्ति पाए। म आफैं भने त्यहाँ जाँदा लागेको खर्चले तीन वर्ष ऋणमा डुबें।
साइरन बजाउँदै आएको गाडी अचानक छेउमै रोकियो। सैनिकहरूले च्याप्प मेरो घाँटी अँठ्याए। घिसार्दै भित्र लगे अनि केरकार गर्न थाले। मैले आत्तिँदै हस्तलिखित ‘प्रेस कार्ड’ देखाएँ। राहदानी बुझाएँ। तैपनि शंका गर्न छाडेनन्। द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा थिएँ म। भर्खरै मात्र अमेरिकी सैन्य क्याम्पको फोटो-भिडिओ खिचेको थिएँ र अहिले त्यसै बापतको ‘सजाय’ भोगिरहेथें।
त्यहाँ द्वन्द्वग्रस्त क्षेत्रको रिपोर्टिङ गर्न यूएनको ‘आमन्त्रित पत्रकार’ को सूचीमा हुनुपर्ने रहेछ। सेनाले यूएनमा फोन गरेर बुझ्यो। मेरो नाम हुने कुरै थिएन। शायद उनीहरूले म कम्तीमा जासूस वा ‘आतंकवादी’ नरहेको निर्क्योल चाहिं गरिसकेका थिए। त्यसैले क्यामेराबाट फोटो मेटाएर छाडिदिए।
तालिवानले आक्रमण तीव्र पारेको समय थियो त्यो। त्यसलाई रोक्न अमेरिकी र विभिन्न देशका ‘नाटो’ सेना त्यहाँ तैनाथ थिए। म पनि नेपालमा कुनाकुना पुगेर दशवर्षे सशस्त्र द्वन्द्वको रिपोर्टिङ गरेको पत्रकार। धेरै माओवादी लडाकूसँग चिनजान थियो। द्वन्द्वको उत्कर्षमा तीमध्ये धेरै जना पार्टी छाड्दै थिए। त्यही कुरा समेटेर २०६२ सालमा एउटा रिपोर्ट तयार पार्दा कमान्डर भरत थापासँग परिचय भएको थियो। पार्टी शान्ति प्रक्रियामा आउनुअघि पनि उनी काठमाडौंमै बस्थे। कहिले मलाई पाँचतारे होटल त कहिले महँगा रेस्टुराँमा भेट्न बोलाउँथे। माओवादी लडाकूको यस्तो रवाफ- अचम्म लाग्थ्यो। एक चोटि त राजदरबारको उत्तरढोकास्थित सैनिक क्याम्पमै भेटेको थिएँ।
माओवादी पार्टी शस्त्र त्यागेर शान्ति प्रक्रियामा आयो। तर मेरा ती छापामार कमान्डर साथी गुमनाम थिए। २०६४ को शुरूआततिर हो, अनौठो नम्बरबाट फोन आयो, उनै रहेछन्। थापाले आफू अफगानिस्तानमा अमेरिकी क्याम्पमा कार्यरत रहेको सुनाए। अमेरिकी सेनाको पोशाक लगाएर एके-४७ बन्दूक भिरेको फोटो पनि पठाए। अनि आफू जस्तै अन्य माओवादी कमान्डर पनि त्यहाँ रहेको सुनाए।
संसारले नै आतंकवादी भनेका, अमेरिकाले पनि त्यही सूचीमा राखेका नेकपा (माओवादी)का लडाकू अमेरिकी सेनामा! कसरी? जिज्ञासासँगै मलाई गज्जबको समाचार फुर्न थाल्यो। सम्भावित प्रतिक्रिया सम्झेर दिमाग चञ्चल भयो। मैले थापालाई अफगानिस्तान आउन चाहेको बताएँ। उनले सघाउने वचन दिए।
त्यति वेला म कान्तिपुर पब्लिकेशनको नेपाल म्यागजिनमा काम गर्थें। तत्कालीन सम्पादकलाई त्यो विषय सुनाएँ। उहाँले भन्नुभयो, “राम्रो हुन सक्छ, जाऊ। बाँकी कुरा पछि हेरौंला।”
मेरो तलब थियो, मासिक साढे आठ हजार। अफगानिस्तान गएर रिपोर्टिङ गर्न पुग्ने रकम बचत थिएन। त्यसैले डेढ लाख रुपैयाँ ऋण लिएँ। दिल्लीबाट भिसा लगाएर जानुपर्थ्यो। २०६४ को तिहार लगत्तै म जसोतसो अफगानिस्तान त पुगें तर थापा बेपत्ता भइदिए। उनी पाकिस्तानको सीमाक्षेत्र हुँदै भागेर नेपाल फर्किसकेछन्। अब म अलपत्र पर्ने भएँ। चाहेको समाचार पनि तयार नहुने भयो। तर खाली हात फर्कन मन लागेन। धन्न, त्यहीं अन्य नेपालीहरू भेटिए।
लडाइँ चलिरहेको भूमिमा जोखिम अवश्य थियो। तर जोखिम नयाँ कुरा त थिएन। सशस्त्र द्वन्द्वका वेला पैदलै दाङबाट ढोरपाटन हुँदै रोल्पा–रुकुम, म्याग्दीबाट सुर्खेत, फुङलिङबाट ताप्लेजुङ हुँदै ओलाङचुङगोला अनि खाँदबारीबाट किमाथांका पुगेर पनि रिपोर्टिङ गरेकै हुँ।
त्यही जोशमा मैले झोलाबाट क्यामेरा झिकें। त्यहीं भेटिएका नेपालीले अमेरिकी क्याम्प चिनाइदिए। अनि पहिलो दिन नै परें, अमेरिकी सेनाको फन्दामा।
यो घटनाले केही हतोत्साह बनायो। फुत्किएपछि नेपालीहरू बसेकै शेल्टरमा वास मागें। इन्टरनेट सहजै पाइँदैनथ्यो। अफिसमा फोन गरेर पहिले भनिएको रिपोर्ट बन्न नसक्ने जानकारी गराएँ। अनि लागें नयाँ विषय खोज्न।
अब मैले बुझिसकेको थिएँ- नेपालको भन्दा निकै कठिन छ त्यहाँको द्वन्द्व छिचोलेर रिपोर्टिङ गर्न। अफगान भूमिमा खटिएका अन्य देशका पत्रकार स्रोतसाधनले सम्पन्न थिए। उनीहरू एक्ला थिएनन्, टोली थियो। बीमा थियो। तिनका स्थानीय ‘फिक्सर’ हरू थिए। ऋण लिएर गएको मसँग त ‘फिक्सर’ राख्ने पैसा कहाँबाट होस्! कार्यालयको सहयोग थिएन। बस्, सम्पादकको वचन थियो- ‘पछि हेरौंला।’
म नेपाली रहेका क्याम्प डुलेर समाचार खोज्न थालें। उति वेला झन्डै ५० हजार नेपाली गैरकानूनी रूपमा अफगानिस्तान पुगेको सूचना थियो। धेरैजसो भाडाको सैनिक बनेका थिए। जबकि नेपाल सरकारले अफगानिस्तानमा रोजगारीमा जान प्रतिबन्ध लगाएको थियो। ज्यान जोखिममा राखेर त्यहाँ पुग्नेमा केही पूर्व सैनिक, प्रहरी र धेरैजसो सर्वसाधारण नागरिक थिए। सामान्य हतियार चलाउन नआउनेलाई समेत एके-४७ भिराएर युद्धको अग्रपंक्तिमा खटाइएको सूचना थापाले दिएका थिए। मैले यही विषयमा रिपोर्टिङ थालें।
काबुलमा ठूलो पर्खालले घेरिएको घरभित्र दलालले नेपालीहरूलाई राखेका रहेछन्। त्यहीं उनीहरूको राहदानी लिएर अन्तर्वार्तामा लगिंदो रहेछ। नेपाली र अफगान दलालको चेपुवामा रहेका उनीहरू आश्वासन दिइए जस्तो काम र कमाइ नपाउँदा बिचल्लीमा रहेछन्।
हरेक क्याम्पमा ३००-४०० नेपाली थिए, बन्धक जसरी राखिएका। कोही कोही क्याटरिङ र सप्लायर्सतिर काम गर्थे। यस्ता सयौं क्याम्प थिए। ‘बहादुर हुने’ भन्दै नेपालीलाई बढीजसो जोखिमपूर्ण काममा लगाइन्थ्यो। तलब चाहिं दुई हजार डलर तोकिए पनि हातमा ६०० डलर मात्र पर्दो रहेछ। बाँकी बीचैमा दलालले खाइदिंदा रहेछन्।
भाडाका कामदारलाई अमेरिकी सेनाले सोझै नभई ‘एजेन्सी’ मार्फत लिन्थ्यो। एजेन्सीमा दलालको दबदबा थियो। त्यसैले तिनै मार्फत जानुको विकल्प थिएन। कोही त राम्रो कमाइ हुने लोभमा दलाललाई लाखौं रुपैयाँ खुवाएर आएका थिए। तर बन्धक जसरी बस्नुपरेको, भने जस्तो कमाइ नभएको अनि दिनहुँजसो हुने आक्रमण र विस्फोटका कारण मानसिक रूपमा विक्षिप्त थिए उनीहरू।
मैले नेपालीहरू बिचल्ली परेको समाचार काठमाडौं पठाएँ। त्यो छापिएपछि म बसेकै क्याम्पका चार अफगान दलाल आएर बन्दूक तेर्स्याउँदै समाचार नलेख्न धम्की दिए। अब त्यहाँ बसेर समाचार लेख्न सम्भव भएन। रिपोर्टिङ भने जारी राखें। यस्तैमा बीबीसी नेपाली सेवाबाट भगीरथ योगी दाइको फोन आयो। उहाँले त्यहाँको अवस्थाबारे मसँग अन्तर्वार्ता लिनुभयो। त्यसले राम्रो प्रभाव पर्यो। पीडितले ‘हाम्रा बारे पनि बोल्ने मान्छे रहेछन्’ भनी प्रतिक्रिया दिए। तर दलालहरू फेरि सलबलाइहाले। अब उनीहरू ‘यो मान्छेलाई नेपाल फर्कन दिनुहुन्न, नत्र हामीलाई अप्ठ्यारो पार्छ’ भन्दै तर्साउन थाले। म अर्कै क्याम्पमा शरण लिन गएँ। त्यहाँ चाहिं ठगिएका मानिस थोरै मात्र थिए।
त्यसपछि पनि रिपोर्टिङकै लागि धेरै क्याम्प डुलें। कुनै कुनैमा नेपाली चेलीहरूलाई यौनदासी बनाएर राखिएको थियो। चार-पाँच दलालबाट ठगिएर त्यहाँ पुगेका उनीहरूको जीवन नारकीय थियो। एक पटक स्थानीय सञ्चारमाध्यमको गाडी चढेर आत्मघाती विस्फोट हेर्न पुगें। त्यहाँको दृश्यले मलाई विक्षिप्त बनायो। यस्तै खतरा त्यहाँ जताततै मडारिइरहन्थ्यो। जति वेला जे पनि हुन सक्ने।
अफगानिस्तानमा करीब एक महीना बसेर नेपाल फर्किएँ। अनि त्यहाँका सबै कुरा समेटेर विस्तृत समाचार लेखें। २०६४ पुस १ गते नेपाल साप्ताहिकमा आठ पृष्ठको आवरण रिपोर्ट छापियो– ‘अफगानिस्तानमा मर्दै छन् भाडाका नेपाली सैनिक’ शीर्षकमा।
त्यसपछि अफगानिस्तानमा कामदार पठाउने नेपाली दलालहरूले खूब धम्क्याए। तिनले तीन महीना जति निकै तनाव दिए।
लाग्छ- म त्यति वेला जीवन दाउमा राखेर 'स्कूप'को खोजीमा हिंडेको ‘क्रेजी’ पत्रकार थिएँ। त्यसैले आफ्नै खर्चले त्यो आवरण रिपोर्ट र आफ्नो रिपोर्टिङ अनुभव अंग्रेजी भाषामा अनुवाद गर्न लगाएर अफगानिस्तानमा रहेका यूएन लगायत कूटनीतिक नियोग, सुरक्षासँग सम्बन्धित सबै सरोकारवालालाई इमेल पठाएँ। तिनमा नेपालीले नेपालीलाई ठगेको, सर्वसाधारणलाई भाडाको सैनिकका रूपमा अग्रपंक्तिमा खटाइएको जस्ता विवरण खुलाएको थिएँ। पीडित नेपालीसँगै क्याम्पमा बसेको, आफ्नै आँखाले तिनको बिजोग देखेकाले यति त गर्नैपर्छ भन्ने लाग्यो।
ती इमेलले काम पनि गरे। ६ महीनापछि अफगानिस्तानमा दलालको रजगज अन्त्य भयो। नेपालीलाई पाकिस्तान हुँदै अफगानिस्तान पुर्याइने तस्करी धन्दा रोकियो। अर्कातिर नेपालीलाई दुबई हुँदै काबुल पुर्याएर क्याम्पमा राखी दासयुगमा झैं बिक्री गरिंदै थियो। त्यसमा अफगान सरकार र त्यहाँ कार्यरत नेटो फोर्ससँग सम्बन्धित निकायले कडाइ गरे। दलालका क्याम्पमा निगरानी हुन थालेपछि तिनको भागाभाग मच्चियो। कति जेल समेत गए। मैले बुझे अनुसार पछि नेपालीले एजेन्सीबाट सोझै काम पाउन थाले। पहिले जस्तो बिचल्ली हुने क्रम रोकियो। काबुलमा सयभन्दा बढी चेली बन्धक जसरी राखिएका थिए। पछि ती कोही नेपाल फर्किए त कोही त्यहींकै एजेन्सीमा काम गर्न थाले।
अनि यो सब नेपाल सरकार या दूतावासबाट होइन, ऋण काढेर गएको एउटा पत्रकारका कारण सम्भव भएको थियो। अहिले सम्झँदा खुशी लाग्छ।
अभावले मोडियो बाटो
समाचारले पीडितका पक्षमा राम्रो प्रभाव पारे पनि म भने आर्थिक तनावमा परें। मैले रिपोर्टिङका लागि लिएको ऋण म कार्यरत सञ्चारगृहले नबेहोर्ने भयो। त्यहाँ रिपोर्टिङ खर्चको बिल सम्पादकको सिफारिशमा भुक्तानी गरिन्छ। मैले आफ्नो खर्च विवरण दिएँ। ‘पछि हेरौंला’ भनेका सम्पादकले जवाफ फर्काए, “त्यत्रो सकिंदैन, १५ हजार रुपैयाँ जति मात्र सकिन्छ।” मलाई त्यति सानो रकम लिन मन लागेन। थप स्टोरी लेख्न पनि मन लागेन।
पत्रकार भाटको रिपोर्टिङ
गुप्तांगमा राखेर लागूऔषध ओसारपसार गरेको आरोपमा ६ नेपाली युवती अफगान जेलमा बन्दी रहेको, नेपालको ‘जनयुद्ध’ सँग अफगानिस्तानको एके-४७ को सम्बन्ध आदि विषयमा गरेका रिपोर्टिङ त्यत्तिकै रहे।
अब तलब आयो कि ऋण तिर्नै ठिक्क हुन्थ्यो। म सधैं माइनसमा। अभावले पारिवारिक लय बिथोलियो। अफगानिस्तान जाने वेला भर्खरै बिहे गरेको थिएँ। यो रिपोर्टिङले आफूलाई हरहिसाबले माथि उठाइदिने श्रीमतीलाई बताएको थिएँ। विषय थियो पनि त्यस्तै। तर झन्डै तीन वर्ष ऋणमा डुब्नुपर्यो। श्रीमती त्यही कुरा झिकेर व्यंग्य गर्न थालिन्।
मैले १७ वर्ष सक्रिय पत्रकारिता गरें। यसबीच सात वटा ल्यापटप र चार वटा क्यामेरा फेरें। रिपोर्ट खँदिलो पार्न भनेर कैयौं किताब किनें। जग्गाजमीन जोर्नेतिर सोचिनँ। तर दिनमा १८ घण्टा खटिंदा पनि खानलाउनै समस्या पर्न थाल्यो। त्यसमा ऋण पनि थपिएपछि गम्भीरतापूर्वक सोच्न बाध्य भएँ।
मेरो रुचि वृत्तचित्रतिर पनि थियो। एक चोटि त्यतैतिर प्रयास गर्ने विचार गरें। कुनै वेला मुगु जाँदा त्यहाँका फूटबल खेल्ने महिलाहरूको कथाले निकै छोएको थियो। तिनको संघर्ष खिच्न कम्तीमा १५-२० दिन लाग्थ्यो। कार्यालयले यति धेरै बिदा दिंदैनथ्यो।
अब यस्तो मोडमा आइपुगें- कि पत्रकारिता छोड्नुपर्ने भो कि त वृत्तचित्र। म वृत्तचित्रतिरै लागें। यो निर्णयलाई कतिले पागलपन भने। किनकि तिनले पत्रकारितामै मेरो भविष्य उज्ज्वल रहेको ठानेका थिए। म भने फूटबल मैदान पुग्न नेपाली महिलाले गर्ने संघर्ष र जितपछिको तिनको अवस्था क्यामेरामा उतार्न थालिसकेको थिएँ। यो कथा खिच्न र सम्पादन गर्न दुई वर्ष जति लाग्यो। तयार भयो- सुनाकली।
वृत्तचित्रले राम्रो चर्चा पनि पायो। १८ भाषामा अनुवाद र ८५ देशमा प्रदर्शन गरियो। म आफैं विदेशका दर्जनौं चलचित्र महोत्सवमा गएँ। प्रत्यक्ष अनुभव पनि गरें- कलाको प्रशंसा संसारभर हुँदो रहेछ जुन पत्रकारितामा छँदाको भन्दा निकै व्यापक थियो। सामान्य केटीहरूको कथा रहेको त्यही वृत्तचित्रबाट प्रेरित भई फिफाले पनि ‘मीट द हिमालयन मेस्सी’ भनी १२ मिनेटको वृत्तचित्र बनायो।
सुनाकलीले मेरो जीवनमा नसोचेको बदलाव ल्याइदियो। आर्थिक रूपमा पनि केही सुधार आयो। अहिले साइपाल हिमालसँग जोडिएको एउटा अन्धविश्वासमा आधारित वृत्तचित्र बनाउँदै छु। सुदूरपश्चिमको यो सुन्दर हिमालमा महिला जान हुन्न भन्ने स्थानीय मान्यता छ। त्यसलाई चिर्न सुदूरपश्चिमकै चेलीहरूलाई काठमाडौं ल्याएर तालीम दिई प्रयोगात्मक वृत्तचित्र बनाउन लागेको हुँ। यसको काम पाँच वर्षमै सकिने ठानेको थिएँ। तर कोरोना र देशको आर्थिक संकट आदि कारणले थप पाँच वर्ष लाग्ने देखिएको छ।
पत्रकारिता ‘मिस’ गर्छु
म पत्रकारिता ‘मिस’ गरिरहेकै हुन्छु। तर फेरि यसमा फर्कन्छु जस्तो लाग्दैन। मूलधार भनिएकै मिडियाहरूले महीनौं तलब नदिएको सुन्दा वैराग लागेर आउँछ। आखिर पत्रकारिता पनि व्यवसाय नै हो। पत्रकारको पनि परिवार हुन्छ। आफ्नै घरगाडी होस् भन्ने सपना हुन्छ। यसका लागि पत्रकारले दलाली नै गर्नुपर्ने हो त?
अरू पेशामा मानिस अनुभवी हुँदै जाँदा सेवासुविधा बढ्छ। पत्रकारको चाहिं झन् खस्कन्छ। एउटा सञ्चारगृहले हटाउने बित्तिकै ऊ शून्यमा झर्छ। पत्रकारिताकै गुरुहरूले ‘पैसा कमाउन अरू पेशामा जानुपर्छ, पत्रकारितामा होइन’ भनेको सुन्छु। १८ देखि २५ वर्षसम्मको मानिसलाई यो कुरा लागू होला। तर परिवार भएपछि आम्दानी त चाहियो नि। आफ्नो भविष्य नै सुरक्षित नहुँदासम्म पत्रकारिताको धर्म पालना गर्न कसरी सकिएला?
म पनि पत्रकारितामै केही गर्ने सपना बुनेर एसएलसीपछि काठमाडौं पसेको थिएँ। आईएमा आमसञ्चार तथा पत्रकारिता विषयमा देशभरिकै सर्वोत्कृष्ट विद्यार्थी बनें। त्यही क्रममा स्पेशटाइम दैनिकमा इन्टर्नशिप गरें। त्यहीं काम पनि मिल्यो। तीन महीनापछि नेपाल म्यागजिनमा गएँ।
पत्रकारितामा स्नातकोत्तर सकेपछि मलाई स्थलगत रिपोर्टिङमा बढी जोड दिनुपर्छ भन्ने लाग्यो। त्यति वेला धेरैजसो पत्रकार काठमाडौंमै बसेर माओवादीबारे लेख्थे। माओवादी र सरकार दुवै पक्षले आफ्ना कुरा लुकाउँथे। ‘प्रोपगान्डा वार’ हुन्थ्यो। यस्तोमा पत्रकारले जोखिम मोलेरै भए पनि घटनास्थल पुगेर जनतालाई सुसूचित गर्न जरुरी थियो। त्यसैले म थवाङमा के भयो, चुनवाङमा के भयो भनी त्यहीं पुगेर लेख्न थालें। कखरा नजानेकी महिलालाई माओवादी जिन्दावाद भन्ने चेतना कहाँबाट आयो होला? जुनसुकै वेला ज्यान जान सक्ने युद्धमा होमिएकाहरूको आँखामा मृत्युको डर किन थिएन? यस्ता कुरा खोज्न थालें।
अफगानिस्तानबाट गरिएको रिपोर्टिङको अङ्ग्रेजी अनुवाद
अहिले आफ्ना पुराना रिपोर्ट हेर्दा आनन्द लाग्छ, केही गरिएछ भन्ने अनुभूति हुन्छ। आजभोलिका रिपोर्टमा म त्यति गहनता देख्दिनँ। राम्रो पत्रकार हुन गहिरो अध्ययन र लगाव चाहिन्छ। तर अहिले के देखिन्छ भने जो राम्रो पत्रकार भनिन्छ उसले पढेको हुँदैन। जसले पढेको छ, ऊ पत्रकारिताको गुरु छ। गुरुले राम्रो रिपोर्टिङ एउटै गरेको हुँदैन।
हामी केही पत्रकारलाई ‘थ्री पी’ भनेर जिस्क्याउँथ्यौं– प्रोजेक्ट, प्रोफाइल र पोजेटिभ। सधैं ‘पोजेटिभ’ समाचार मात्र लेख्नेहरूले त्यस बापत आर्थिक फाइदा पनि लिइरहेका हुन्थे। अहिले पनि पत्रकारका नाममा उच्च तहका दलालहरू छँदै छन्। ती आफूलाई पत्रकार, सम्पादक भन्दै मोलमोलाइ गरिरहेका हुन्छन्। कतिपय पत्रकारको धन्दा नै सरकारी कर्मचारी, सेना र प्रहरीको सरुवाबढुवा र अन्य काममा ‘सेटिङ’ मिलाइदिने हुन्छ।
ठोकर्पा घटना रिपोर्टिङ गर्दाको प्रसंग सम्झन्छु। झडपमा झन्डै मेरै ज्यान गएको थियो। एक छापामार महिला सरकारी फौजको गोलीले ढलिन्। अन्तिम सास फेर्नुअघि उनले साथीसँग ‘कमरेड म मरे पनि मुक्ति आन्दोलन जारी रहोस्, प्रचण्डपथ जिन्दावाद’ भनेको आफैंले सुनें। अहिले हेर्छु, प्रचण्डपथ त तिनका कमान्डर प्रचण्डलाई नै चाहिएको रहेनछ। तर त्यसैका खातिर त्यसरी निष्ठापूर्वक क्रान्तिमा होमिएकाहरू अहिले के सोच्दा हुन्? ती कहाँ होलान्?
यी कुरा अहिलेको पत्रकारिताले खोज्न सकेको छैन। त्यो परिवेश देखेका र घटना-विवरण संग्रह गरिराखेका पत्रकार अहिले छैनन् पनि। जति छन्, ती भागदौडमा छन् तर फलदायी काम भएको छैन। त्यसैले अहिले सञ्चारमाध्यमभन्दा नेताले सामाजिक सञ्जालमा लेख्ने ‘स्टाटस’ शक्तिशाली बनेको छ। त्यो तत्काल मूलधारको समाचार बनिहाल्छ। धेरैजसो पत्रकार नेताका ‘स्टाटस’ र भाषण लेखेरै जागीर खाइरहेछन्। तिनकै हाइहाई छ। समय लगाएर खोज समाचार लेख्नेहरू दबिएका छन्।
(पत्रकार भाटसँग सागर बुढाथोकीले गरेकाे कुराकानीमा आधारित। सम्पादन : प्रदीप खतिवडा, भाषा : प्रद्युम्न खनाल)
त्यो रिपोर्टका थप सामग्री: