टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चमा मुद्दा दर्ता
सरकारको टिकटक प्रतिबन्ध गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सुनीलरञ्जन सिंह लगायतको रिट शुक्रबार सर्वोच्चमा दर्ता भएको हो। रिटको पेशी सोमबार बिहान १० बजेलाई तोकिएको अधिवक्ता सिंहले जानकारी दिए।
सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले रिट निवेदन आउने क्रम जारी रहेको बताए। उनले भने, “आठ–दश वटा निवेदन प्राप्त भएका छन्, ती निवेदन दर्ता प्रक्रियामा छन्।”
मन्त्रिपरिषद् बैठकले २७ कात्तिकमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।