टिकटक प्रतिबन्ध विरुद्धको रिट सर्वोच्च अदालतमा
टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध अधिवक्ताहरू रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्।
कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक चल्न नदिने निर्णय गरेको थियो। त्यही निर्णय खारेजीको माग राखेर अधिवक्ताद्वय सुनीलरञ्जन सिंह र सरिता थापा शुक्रबार सर्वोच्च अदालत पुगेका हुन्।
अधिवक्ता सिंहले निवेदन दर्ता प्रक्रियामा रहेको जानकारी दिए। उनी सरकारको गैरकानूनी कदम बदरको माग राखेर आफूहरूले रिट दर्ता गर्न लागेको बताए। टिकटक प्रयोगमा देखिएका कमीकमजोरीलाई नियमन गर्न सकिने तर प्रतिबन्ध लगाउन नहुने निवेदक सिंहको भनाइ छ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको छ।
टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पठाएको सातबुँदे पत्रमा टिकटक प्रतिबन्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको विपरीत रहेको जनाएको छ।
हिमालखबर सम्पादकीय : टिकटक प्रतिबन्धको निर्णय फिर्ता गर