झोलुङ्गे पुलका सामान चोरी
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२, तिल्कीस्थित वनहरा नदीले भत्काएको झोलुङ्गे पुलका सामान चोरी हुन थालेका छन्।
पुलका डेग, तारजाली, नटबोल्ट, लठ्ठा लगायत सामानको संरक्षण हुन नसक्दा चोरी हुन थालेका हुन्। पुलका सामान चोरी हुनबाट जोगाउन कुनै पनि निकायले अहिलेसम्म चासो देखाएका छैनन्।
गत वर्षको भदौमा नदीमा आएको बाढीले रु.तीन करोडको लागतमा बनेको झोलुङ्गे पुलको दक्षिणतर्फको पिलर भत्काउँदा पुल नदीमा खसेको थियो। नदीमा खसेको पुलको आधा सामान खोलेर वडा कार्यालयमा राखिएको छ। पुलको आधा सामान नदीमै खसेको अवस्थामा छ ।
नदीमा पुलका सामान अलपत्र रहँदा चोरी हुने क्रम बढेको स्थानीय बासिन्दा मंगलप्रसाद चौधरीले बताए। “दिउँसै पुलका नटबोल्ट खोलेर चोरेर लैजान थालेका छन्, लठ्ठा फलामे आरीले काटेर लगेका छन्,” चौधरीले भने, “सामान चोरी हुनबाट जोगाउनका लागि कुनै पनि निकायको ध्यान पुग्न सकेको छैन।”
वडाध्यक्ष नवलसिंह राना नदीमा खसेको पुलका सामान जोगाउन खोलेर सुरक्षित ठाउँमा राख्नुको विकल्प नरहेको बताउँछन्। रानाका अनुसार वडा कार्यालयको पहलमा पुलको दक्षिणी क्षेत्रतर्फको भाग खोलेर सुरक्षित राखिएको छ। –रासस