खागविहीन अवस्थामा मृत भेटिए दुई गैंडा
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई वटा गैंडा मारेका छन्।
निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत चपरचुली पोस्टबाट ३.५ किलोमिटर दक्षिण-पूर्वमा खाल्डोमा पारेर गैंडा मारिएको हो। निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी ६ वर्ष र १८ वर्षका पोथी गैंडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन्।
दुवै गैंडा खागविहीन अवस्थामा मृत भेटिएका छन्। उनले भने, “६ वर्षको गैंडाको खाग काटिएको देखिएको छ। अर्को ठूलो गैंडाको पनि खाग छैन।”
६ वर्षको गैंडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को खाल्डो तुलनात्मक रूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए। सानो गैंडा अन्दाजी तीन दिन पहिले र ठूलो गैंडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ।
बिहीबार साँझ घटनाको विवरण आए लगत्तै अनुसन्धान थालिएको उनले बताए। यस वर्ष निकुञ्जमा चोरी-शिकारीबाट पहिलो पटक गैंडा मरेका हुन्। प्राकृतिक कारणले पाँच वटा गैंडा मरेका छन्। गत वर्ष तस्करले अमलटारी क्षेत्रमा दुई वटा गैंडा मारेका थिए।