विश्वकप : अस्ट्रेलिया फाइनलमा
आईसीसी पुरुष एकदिवसीय विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलिया विजयी भएको छ।
दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्ट्रेलियाले सात विकेटको क्षतिमा ४७ ओभर दुई बलमै पूरा गर्यो।
टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभर पनि खेल्न सकेन। ४९ ओभर चार बलमै दक्षिण अफ्रिकी टोली २१२ रनमै अलआउट हुन पुग्यो।
दक्षिण अफ्रिकाका लागि मध्यक्रमका ब्याटर डेभिड मिलरले १०१ रनको शतकीय पारी खेले। यस बाहेक हेनरी क्लासेनले ४७, जेरल्ड कोट्जीले १९ तथा एडन मार्क्रम र कगिसो रबाडाले समान १० रन बनाए। अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क तथा प्याट कमिन्सले समान तीन विकेट लिए। यस्तै, जोस हेजलवूड र ट्र्याभिस हेडले समान दुई विकेट लिए।
अस्ट्रेलियाको जितमा आज ओपनर ब्याटर ट्र्याभिस हेडले ६२ रनको पारी खेले। उनीसँगै ओपनिङमा आएका डेभिड वार्नरले २९ रन बनाए। मिचेल मार्स शून्य रनमै आउट हुँदा अफगानिस्तान विरुद्ध दोहोरो शतक बनाएका ग्लेन माक्सवेल एक रनमै पभेलियन फर्के।
मार्नस ल्याबुसेनले १८ रन मात्रै बनाए भने स्टिभ स्मिथले ३० र जोश इंग्लिसले २८ रनको पारी खेल्दै टीमलाई लयमा ल्याएका थिए।
अन्ततः मिचेल स्टार्कले अविजित १६ तथा कप्तान प्याट कमिन्सले पनि अविजित १४ रन बनाउँदै टोलीलाई जित दिलाए। अन्तिममा चौका प्रहार गर्दै उनले विजयी रन बटुलेका थिए।
अब अस्ट्रेलियाले उपाधिका लागि भारतको सामना गर्नेछ। फाइनल खेल आगामी आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ।
यसअघि सेमिफाइनलमा न्यूजिल्यान्डलाई ७० रनले हराउँदै भारतले घरेलु मैदानमा भइरहेको विश्वकपको फाइनलमा स्थान बनाएको थियो।