नेपाल नौ विकेटले पराजित
चार देश सम्मिलित महिला टी-२० शृंखला अन्तर्गत आज भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभरमै ५६ रनमा अलआउट भएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हङकङले नौ ओभरमै एक विकेटको क्षतिमा लक्ष्य भेटायो।
यस हारसँगै नेपालको फाइनल खेल्ने सपना समाप्त भएको छ। नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ भने प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ। दुई जित निकालेको तान्जानिया पनि फाइनलमा पुगेको छ।
नेपालका लागि ब्याटिङतर्फ रुबिना छेत्रीले २५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। विकेटकिपर काजल श्रेष्ठ, कप्तान इन्दु बर्मा र बलर अस्मिना कर्माचार्य शून्य रनमै आउट भएका थिए। नेपालले पाँच रन बनाउँदा नै चार विकेट गुमाएको थियो।
बलिङतर्फ हङकङकी लक्रा साहरले तीन विकेट लिइन् भने रुचिथा भेनकातेसले दुई विकेट झारिन्। त्यस्तै, बेट्टी चान, मरिको हिल र करी चानले समान एक एक विकेट लिए।
ब्याटिङतर्फ हङकङकी नताशा मिलेसले सर्वाधिक ३० रनको योगदान दिइन्। त्यस्तै, शानजिन शहजादले २० रन बनाइन्। मारिको हिलले पाँच रन जोडिन्।
नेपाली बलरले हङकङको विकेट झार्न भने सकेनन्। हङकङकी ओपनर ब्याटर मारिको हिल रनआउट भएकी थिइन्।
यसअघि पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो। चार देश सम्मिलित यस प्रतियोगितामा अब नेपालले औपचारिकताका लागि मात्रै मंसीर २ गते जापान विरुद्ध खेल्नेछ।