भारत पुग्यो फाइनलमा, तीन खेलाडीले बनाए शतक
न्यूजिल्यान्डलाई पराजित गर्दै भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
समूह चरणको सबै खेल जितेको भारतले बुधबार मुम्बईमा न्यूजिल्यान्ड विरुद्ध ७० रनको जित निकालेको हो। भारतका लागि विराट कोहलीले सर्वाधिक ११७ र श्रेयस ऐयरले १०५ रन जोडे।
३९८ रनको विशाल लक्ष्य पछ्याएको न्यूजिल्यान्डका लागि डी. जोसेफ मिसेलले सात छक्का र नौ चौकाको मद्दतले १३४ रन जोडेका थिए। टीमका कप्तान केन विलियम्सनले ६९ रनको योगदान दिए। न्यूजिल्यान्डका बाँकी खेलाडीले अर्धशतक बनाउन सकेनन्।
‘प्लेयर अफ द म्याच’ मोहम्मद शमीले जम्मा ५७ रन खर्चेर सात विकेट लिए। जसप्रित बुमराह, मोहम्मद सिराज र कुलदीप यादवले एक-एक विकेट लिए।
टस जितेर ब्याटिङ रोजेको भारतले चार विकेटको क्षतिमा ३९७ रन जोडेको थियो। तीन छक्का सहित ८० रन जोडेका शुभमन गिल र २० बलमा ३९ रन जोडेर केएल राहुल अविजित रहे। चार छक्का प्रहार गरेका रोहित शर्माले २९ बलमा ४७ र सूर्यकुमार यादवले एक रन जोडे।
न्यूजिल्यान्डका टिम साउदीले तीन र ट्रेन्ट बोल्टले एक विकेट लिए।
विश्वकपको दोस्रो सेमिफाइनल बिहीबार हुँदै छ। दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच हुने दोस्रो सेमिफाइनल इडेन गार्डेन कोलकातामा हुँदै छ। फाइनल खेल मंसीर ३ गते अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुँदै छ।