मुस्लिम अगुवाले भाइटीका लगाएर मनाए तिहार
मुस्लिम समुदायका अगुवाले आफूले मानेको दिदीबहिनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन्।
बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेज अलि सिद्दीकीले आज हिन्दू धर्म अनुसरण गर्ने दिदीबहिनीको हातबाट भाइटीका लगाएका हुन्। धार्मिक सद्भाव कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन आफूले भाइटीका लगाएको उनी बताउँछन्। उनले दिदी माया थापा र बहिनी मीना तुलाधरको हातबाट झन्डै दुई दशकदेखि भाइटीका लगाउँदै आएको बताए।
“म आफू ३५ वर्षको हुँदादेखि नै दिदीबहिनीको हातबाट भाइटीका लगाउँदै आएको छु। अहिले म ५४ वर्षको भएँ। यो सम्बन्ध केवल सामाजिक सद्भावको मात्र नभई दिदीभाइ र दाजुबहिनीबीचको प्रेमको सम्बन्ध पनि हो,” उनले भने।
त्यसैगरी, बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले पनि आफूले मानेको बहिनीको हातबाट भाइटीका लगाएर तिहार हर्षोल्लासका साथ मनाए।
“यो शहर आफैंमा धार्मिक परम्परा अनुसार मिलेको शहर हो। यहाँ मुस्लिमले हिन्दूको मात्र नभई हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ,” उनले भने, “मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनदेखि सम्मान छ।”
तिहारको अवसरमा भाइटीकाको दिन मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीलाई शुभकामना दिएका छन्। -रासस