चलचित्र दिमाग खराबको प्रदर्शन रोक्ने निर्णय
चलचित्र प्रदर्शकहरूबाट अन्यायपूर्ण व्यवहार खेपेको भन्दै नेपालमा चलचित्र दिमाग खराबको प्रदर्शन रोकिने भएको छ।
आज सिनेमा आर्ट प्रालिका तर्फबाट निर्माता रौनकविक्रम कँडेल र ब्ल्याक हर्स पिक्चर्श प्रालिका तर्फबाट निर्देशक निश्चल बस्नेतले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेका हुन्।
‘विगतदेखि हामी नेपाली चलचित्र निर्माताले चलचित्र प्रदर्शकहरूबाट सधैं अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौं। विदेशी चलचित्रलाई विना तर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो,’ विज्ञप्तिमा भनिएको छ।
नेपाली र विदेशी चलचित्रलाई बराबरी शो प्रदान गर्नुपर्ने तथा चलचित्र प्रदर्शन भइन्जेल बराबर शेयर बाँडफाँड गर्नुपर्ने उनीहरूको माग छ। ‘पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०-५० प्रतिशत हुन्छ। तर तेस्रो हप्तादेखि निर्मातालाई ३५ र प्रदर्शकलाई ६५ प्रतिशत शेयर बाँडिने कुरा पनि हामी जाहेर गर्दछौं। र, यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौं,’ विज्ञप्तिमा उल्लेख छ।
यस्तै, विदेशी चलचित्रलाई जस्तै समान व्यवहार भए सिनेमाहलमै प्रदर्शन गर्ने र नभए अरू कुनै माध्यमबाट चलचित्र प्रदर्शन गरिने पनि निर्माणपक्षले जनाएको छ।
चलचित्र दिमाग खराब गत कात्तिक २४ गतेदेखि प्रदर्शनमा आएको थियो।