६ वर्षपछि अमेरिकामा सी चिनफिङ
चिनियाँ राष्ट्रपति सी चिनफिङ संयुक्त राज्य अमेरिकाको सन फ्रान्सिस्को पुगेका छन्।
चीन-अमेरिका शिखर वार्ता र ‘एशिया-प्रशान्त आर्थिक सहयोग’ (एपेक)का नेताहरूको ३०औं बैठकमा भाग लिन मंगलबार (कात्तिक २८) उनी त्यहाँ पुगेका हुन्। ६ वर्षपछि सी अमेरिकाको भ्रमणमा निस्केका हुन्।
यसअघि सन् २०२२ को नोभेम्बरमा इन्डोनेशियाको बालीमा सम्पन्न एक अन्तर्राष्ट्रिय सम्मेलनमा साइडलाइन बैठकपछि वार्तालाप नगरेका चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच हुने भेटघाटलाई महत्त्वका साथ हेरिएको छ।
विश्लेषकहरूले सीको यो भ्रमणले चीन-अमेरिका सम्बन्ध सुमधुर हुने र विश्वको अर्थतन्त्र सुधारका लागि नयाँ कदम चालिने आकलन गरेका छन्। चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार अमेरिकी अर्थमन्त्री ज्यानेट येलेन र क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसोम लगायतले चिनियाँ टोलीलाई स्वागत गरेको थियो।