कसरी भयो सुगौली सन्धि ?
मेची र महाकालीबीचको वर्तमान भूगोल रहनुको कारण अर्थाेक केही नभई अंग्रेजले पूरै नेपाल लिन नचाहेरै हो।
नेपाल राज्य आजको भौगोलिक स्वरूपमा आउनुमा पृथ्वीनारायण शाहको एकीकरण अभियानको योगदानलाई नस्वीकार्नेहरू पनि छन् । ठूलो राज्यको राजा हुने मोह वा अन्य जुनसुकै उद्देश्यले राज्य विस्तार गरेका भए पनि इतिहासको अध्ययन र लेखाजोखा गर्दा बृहत् नेपाल राज्यका जन्मदाता पृथ्वीनारायण नै हुन् ।
नेपाल एकीकरण पूरा हुन भने त्यसपछि विभिन्न वीर–वीरांगनाले गरेको योगदान महत्वपूर्ण छ । वि.सं. १६१६ मा द्रव्य शाहले लिगलिग कोट राज्य खडा गर्दै गोर्खा राज्य स्थापना गर्नु नेपाल राज्य निर्माणको जग थियो, जुन वि.सं. १९१४ मा प्रधानमन्त्री जंगबहादुर राणाले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता ल्याएपछि पूरा भएको हो ।
आजको भन्दा विशाल स्वरूपमा रहेको नेपालको लागि सन् १८१६ मा भएको सुगौली सन्धि भने विडम्बनाको रूपमा छ । सन् १८१४ देखि १८१६ सम्म भएको युद्धपछि बेलायतको इष्ट इण्डिया कम्पनी र नेपाल सरकारबीच उक्त सन्धि भएको थियो ।
त्यसबाट नेपालले मेचीदेखि पूर्व र महाकालीदेखि पश्चिमको तराई र पहाडको धेरै ठूलो भूभाग गुमायो, यसको फाइदा भारतलाई भयो । अंग्रेज प्रशासित भारतसँग नभई इष्ट इण्डिया कम्पनीसँग युद्ध भएका कारण यसबारे भारतलाई चासो छैन र नेपालको पीडा पनि उसलाई थाहा छैन ।
हाम्रो इतिहासले हामीलाई वीर भने पनि अंग्रेजसँगको युद्धमा नेपाल नराम्ररी पराजित भएकै हो । मेची र महाकालीबीचको वर्तमान नेपाल रहनुको कारण अंग्रेजले पूरै नेपाल लिन नचाहेर नै हो ।
युद्धको तयारी र सामर्थ्यको हिसाबले सुगौली सन्धि हुनुअघिको १५ दिनभित्रै अंग्रेज फौज काठमाडौंलाई दखल दिन सक्षम थियो । तर, अंग्रेज नेपाललाई आफ्नो साम्राज्यमा गाँस्नुभन्दा पखेटा काटिएको चरा जस्तै बनाउन चाहन्थ्यो ।
त्यसै अनुसार उसले युद्ध लड्दालड्दा हत्तु भएको नेपालबाट ठूलो भूभाग लिने गरी सुगौली सन्धि गर्यो । त्यसबाट केही भूभाग गए पनि हालको नेपाल बच्यो । अंग्रेजसँगको युद्धमा नेपाल पराजित भएर सन्धि गर्नुपर्ने अवस्थामा आउनुका पछाडि मुख्य कारण यी हुनसक्छन्ः
१. दरबारमा निर्णायक शक्ति राजा गीर्वाणयुद्ध विक्रम शाह नाबालक थिए । त्यसपछिको शक्ति भाइ–भारदारहरू थिए । मुख्य रूपमा बस्न्यात, पाँडे र थापा खलकबीचको गुट, मारकाट र षड्यन्त्रका कारण राजनीतिक स्थिति भयावह थियो । राजा रणबहादुर शाहको हत्यापछि नवउदीयमान शक्तिका रूपमा मुख्तियार काजी भीमसेन थापाको बोलवाला शुरू भयो ।
राज्य संचालनको विषयमा पुराना भारदारसँग उनको धेरै मतभेद हुन्थ्यो । सोही क्रममा अंग्रेजसँग युद्ध गर्ने या नगर्ने विषयमा विवाद भयो । पुराना भारदारहरू विशेष गरी हातहतियारको अभाव भएकाले युद्धको विपक्षमा थिए । तर भीमसेन थापा भने युद्ध गरी अंग्रेजलाई तह लगाउने पक्षमा रहे । अन्ततः युद्ध गर्ने नै निधो भयो । राष्ट्रिय तहको युद्धमा जाँदा भारदारबीच कार्यगत एकता नहुनु ठूलो कमजोरी थियो ।
२. युद्ध लड्न नेपाल आर्थिक रूपमा सक्षम थिएन । त्यसअघि चीन–तिब्बतसँगको युद्धमा ठूलो क्षति र खर्च व्यहोर्नुपरेको थियो । तिब्बतसँगको व्यापारले देशको आर्थिक अवस्था ज्यादै बलियो थियो, जुन युद्धपछि समाप्त भयो । अर्कोतर्फ, राज्य एकीकरणको क्रममा सन् १८०९ सम्म काँगडामा युद्ध लड्दा ठूलो धनराशि खर्च भएको थियो ।
३. युद्ध सामग्रीको कमी पराजयको अर्को कारण बन्यो । अंग्रेजसँग आधुनिक हातहतियार थिए भने नेपाली पक्षसँग भरुवा बन्दूक, खुकुरी, घुयेंत्रो, साना तोप, धनु, ढाल, तरबार जस्ता परम्परागत हतियार थिए ।
४. समानुपातिक रूपले युद्ध सामग्रीको व्यवस्थापन नहुनु अर्को कमजोरी थियो । महाकालीदेखि गढवालसम्मको युद्धमा लड्ने कमाण्डरहरूले स्थानीय जनताबाट कर असुलेर र घरलौरी सिपाही झिकाएर युद्ध संचालन गरेका थिए ।
यसको कारण के थियो भने, उक्त क्षेत्रमा लड्ने सैनिक कमाण्डरहरू बहादुर शाह पक्षका र भीमसेन थापाका विरोधी थिए । कुमाउका प्रशासक चौतारा बम शाह र गढवालका प्रशासक बडाकाजी अमरसिंह थापासँग भीमसेन थापाको राम्रो सम्बन्ध थिएन ।
उता बुटवल पूर्व मोरङसम्म भने भीमसेन थापाका भाइ–भतिजाले युद्ध संचालन गरिरहेका थिए, जसलाई नेपाल सरकारको सक्दो आर्थिक सहयोग र युद्ध सामग्रीको व्यवस्थापन थियो । परिणामस्वरूप बुटवलदेखि मोरङसम्म नेपालले सफलता पायो, महाकालीदेखि पश्चिम कुमाउ र गढवाल क्षेत्रमा पहिलो चरणमै अंग्रेजको जित भयो ।
५. राष्ट्रियताको भावना नभएको सैन्य शक्तिका कारण पनि युद्धमा हानि पुग्यो । विशेषगरी महाकाली पश्चिमको नेपाली फौजमा करीब १० प्रतिशत खाँटी नेपाली र ९० प्रतिशत स्थानीय कुमाउली र गढवाली फौज थिए ।
उनीहरूमा नेपाली हौं भन्ने भावना जागृत भएकै थिएन । चर्को कर तिर्नुपर्ने र जबर्जस्ती सेनामा भर्ना हुनुपर्दा तिनमा राज्यप्रति वैरभाव थियो । त्यसमा पनि अंग्रेजको दुष्प्रचारका कारण उनीहरू नेपाल विरोधी बन्न पुगे ।
६. दर्ज्यानी सन्तुलन नमिलाई सैनिक नेतृत्व बाँडफाँड गर्नु अर्को कमजोरी थियो । बुटवलदेखि मोरङसम्मका युद्धमा कर्णेल र जर्नेलहरूले नेतृत्व गरेका थिए भने महाकाली पश्चिममा काजी र चौताराले ।
जनरल भीमसेन थापाका भाइ–भतिजाहरूले मात्र जर्नेल–कर्णेल पाएका थिए । एउटै सेनामा जर्नेल ग्रुप र काजी ग्रुप बनाई युद्ध संचालन गर्नुको साटो भीमसेन थापाले आफ्ना भाइ–भतिजालाई पनि महाकाली पश्चिमको नेतृत्व दिएको भए मनमुटाव हुने थिएन ।
७. बाटोघाटोको असुविधा र दुर्गमताका कारण पनि युद्ध नेपालको पक्षमा भएन । काठमाडौंदेखि गढवाल पुग्ने बाटो राम्रो थिएन, दूरी पनि करीब ३५० कोस थियो । सबथोक मान्छेले बोकेर पु¥याउनुपथ्र्यो । जसले गर्दा काठमाडौंबाट पठाइएका खबर, चिठी र सरसामान पुग्न लामो समय लाग्थ्यो ।
८. अंग्रेजको झुटा प्रचारबाजी र घुस खुवाउने रणनीतिबाट नेपाललाई धेरै बेफाइदा भएको थियो । विशेष गरी अंग्रेजहरूले नेपालीहरूलाई कुमाउ र गढवाल इलाकामा अत्याचारीको रूपमा चित्रण गरी त्यसबाट मुक्त गराउन आफू आएको प्रचार गरे । यस्तै, नेपाल सरकारलाई सहयोग गर्ने स्थानीय राजा–रजौटा, व्यापारी र सैनिक कमाण्डरहरूलाई प्रलोभनमा पारी आफ्नो पक्षमा ढल्काए ।
जसले गर्दा नेपाली सेनालाई रासनपानी जुटाउन, लडाकु भर्ती र खबर संकलन गर्न धेरै सकस पर्यो । त्यसैगरी बम शाह र अमरसिंह थापाको इमान किन्न अंग्रेजले विभिन्न प्रलोभन देखाए । अमरसिंहले त्यसलाई लत्याए पनि बम शाह फसे, कुमाउ अंग्रेजलाई छाडेर उनी डोटी फर्किए ।
अंग्रेजहरूले युद्धभूमिमै नेपालीलाई घुस दिन थालेका थिए । जसका कारण हजारौं गढवाली र कुमाउली सेना भागेर अंग्रेज फौजमा भर्ना भए ।
जनरल डेभिड अक्टरलोनीले नेतृत्व गरेको अंग्रेज फौज दोस्रो चरणको युद्धमा हरिहरपुरगढी र मकवानपुरगढीतर्फ बढ्दा नेपालका हुलाकी लगायतका कर्मचारीहरूलाई घुस दिएर तिनकै सहयोगमा चोर बाटोबाट नेपालीको इलाकामा हठात् आक्रमण गरिएको थियो ।
९. नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध युद्धको लागि अनुकूल थिएन । युद्ध रणनीति प्रतिरक्षात्मक थियो । आक्रामक युद्धमा भन्दा प्रतिरक्षात्मक युद्धमा बाह्य सहयोगको खाँचो अझ बढी पर्छ । युद्ध थाल्नुअघि सैन्य सहयोगका लागि विभिन्न देश र रजौटाहरूलाई पत्राचार गरे पनि कसैले जवाफ दिएनन् ।
तिब्बतले नेपाललाई ठूलो दुश्मन मान्ने, चीनसँग पनि भर्खरै युद्ध भएकाले राम्रो नजरले नहेर्ने र नेपाल एकीकरणको सिलसिलामा सीमा निर्धारण हुन नसकेर बंगालका नवाब, अवधका नवाब तथा पंजावका राजा रणजित सिंहले पनि अतिक्रमणकारीका रूपमा हेर्थे ।
१०. अंग्रेजले विभिन्न दिशाबाट हमला गर्नु पनि नेपालको लागि दुर्भाग्य बन्यो । पश्चिम गढवालदेखि पूर्वमा टिष्टा नदीसम्मको करीब ५०० कोसको दूरीमा अंग्रेजले विभिन्न स्थानबाट हमला गर्यो । जसको प्रतिकार गर्न नेपालले आफ्नो फौज र युद्ध सामग्री विभिन्न ठाउँमा छरेर राख्नुपर्यो । परिणामतः प्रतिरक्षात्मक स्थानहरू कमजोर भए र अंग्रेजलाई जितको आधार बन्यो ।
‘निको नहुने घाउ’
३१ अक्टोबर १८१४ (१७ कात्तिक १८७१) मा नालापानीबाट शुरू भएको नेपाल र अंग्रेजबीचको युद्ध २६ फेब्रुअरी १८१६ (१७ फागुन १८७२) मा हालको सिन्धुली जिल्लाको हरिहरपुरगढीमा अन्त्य भयो ।
प्रस्तावित सम्झौतापत्रमा राजा गीर्वाणयुद्ध विक्रम शाहबाट लालमोहर लागेपछि नेपाल–कम्पनी सरकारबीच हस्ताक्षर भयो । नेपाल सरकारको तर्फबाट बुझाउनुपर्ने सम्झौतापत्रको एक प्रति नेपाली पक्षका वार्ताकार ‘टक्सारी’ चन्द्रशेखर उपाध्यायले ४ मार्च १८१६ (२३ फागुन १८७२) मा मकवानपुर लगेर लेफ्टिनेन्ट–कर्णेल पी ब्राड्–शालाई बुझाएका थिए । यही सम्झौतापत्र नेपालको इतिहासमा ‘सुगौली–सन्धि’ को नामले बिझाइरहने घाउ बनेर बसेको छ ।
नेपाल युद्धमा धेरै नटिक्ने अनुमान गर्दै कम्पनी–सरकारले २ डिसेम्बर १८१५ (१९ मंसीर १८७२) मै सन्धिको मस्यौदा गरिसकेको थियो । हरिहरपुरगढीमा तीन दिन बसेर मकवानपुर पुगेको अंग्रेज फौजले काठमाडौं खाने आकलन गरेपछि नेपाल सन्धिका लागि तयार भयो ।
प्रस्तावित सम्झौतापत्रमा राजा गीर्वाणयुद्ध विक्रम शाहबाट लालमोहर लागेपछि नेपाल–कम्पनी सरकारबीच हस्ताक्षर भयो । नेपाल सरकारको तर्फबाट बुझाउनुपर्ने सम्झौतापत्रको एक प्रति नेपाली पक्षका वार्ताकार ‘टक्सारी’ चन्द्रशेखर उपाध्यायले ४ मार्च १८१६ (२३ फागुन १८७२) मा मकवानपुर लगेर लेफ्टिनेन्ट–कर्णेल पी ब्राड्–शालाई बुझाएका थिए । यही सम्झौतापत्र नेपालको इतिहासमा ‘सुगौली–सन्धि’ को नामले बिझाइरहने घाउ बनेर बसेको छ ।
यसैबीच, दक्षिण–पश्चिम भारतको मरहट्टा शक्तिसँग कम्पनी–सरकारको किचलो शुरू भयो । आफू विरुद्ध मरहट्टा शक्ति र नेपाल सरकार नमिलून् भनेर ब्रिटिश सरकारले रणनीति बुन्यो । त्यस अन्तर्गत उसले आफ्नो नियन्त्रणमा रहेका नेपालका अधिकांश तराई क्षेत्र फिर्ता दिने सम्बन्धी प्रस्ताव ८ डिसेम्बर १८१६ (२५ मंसीर १८७३) मा नेपाल सरकारसमक्ष पठायो । त्यसै अनुसार ब्रिटिश सरकार र नेपाल सरकारबीच सम्झौता भयो ।
उक्त सम्झौतामा तिरहुत तथा सारन क्षेत्रका विवादित भूभाग वि.सं. १८६९ देखि कम्पनी सरकारको नियन्त्रणमा आएपछि अन्यलाई बक्सिसमा दिएका जमीन बाहेकका भूभाग फिर्ता हुने उल्लेख थियो । यस्तै, कोशी तथा गण्डकी नदी र गण्डकी तथा राप्ती नदीका बीचमा रहेका तराई क्षेत्रहरूमध्ये युद्ध शुरू हुनुअघि नेपाल सरकारको नियन्त्रणमा रहेका सबै भूभाग फिर्ता गरिएको थियो ।
र, सुगौली सन्धि भएपछि र १९१४ सालमा जंगबहादुरले ‘नयाँ मुलुक’ फिर्ता ल्याउनु अघि पाएको यो भू–भागसहित नेपाली सरहद आज पर्यन्त कायम छ ।