गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गर्यो इजरायली सेना
इजरायली सेना प्यालेस्टाइनको गाजापट्टीको सबैभन्दा ठूलो अस्पताल ‘अल-शिफा अस्पताल’ प्रवेश गरेको छ।
अरब न्यूजका अनुसार इजरायली सेनाले अस्पतालका कोठा र बेसमेन्टहरूमा छापा मारिरहेछ। अस्पतालमुनि बनाइएको सुरुङमा हमास लडाकूहरूको मुख्यालय रहेको भन्दै इजरायली सेनाले स्थलगत कारबाहीको मुख्य निशाना नै अल-शिफा अस्पताललाई बनाएको छ। हमासले भने इजरायली सेनाको उक्त दाबी अस्वीकार गर्दै आएको छ।
अस्पतालमा सैन्य प्रवेशको विषयले अहिले संसारकै ध्यान तानिरहेको छ। खासगरी त्यहाँ रहेका सयौं बिरामी र अस्पतालमा शरण लिइरहेका हजारौं सर्वसाधारणको जीवन संकटमा परेको छ। गाजाका अधिकारहरूका अनुसार इजरायली सेनाले अस्पताल घेराउ गरेकै कारण केही बिरामीसँगै तीन नवजात शिशुको मृत्यु भएको छ।
इजरायलले भने आफ्नो सेनाले अस्पतालको गेट अगाडि भएको झडपमा लडाकूहरूलाई मारेर अस्पतालभित्र मेडिक सामग्री पठाएको दाबी गरेको छ। ‘अस्पतालमा प्रवेश गर्नुअघि हाम्रो सेनाले आतंकवादीहरूको हमला र बमबारी सामना गर्नुपर्यो, उक्त लडाइँमा आतंकवादीहरू मारिएका छन्,’ इजरायली सेनाको दाबी छ।
रोयटर्ससँगको टेलिफोन वार्तालापमा अस्पतालका डाक्टर अहमद अल मोहल्ललातीले अस्पताल बाहिर रातभर लडाइँ भएपछि कर्मचारीहरू लुकेको जनाएका छन्। “हिजो राति बेलुकापख लडाइँ शुरू भयो... अस्पतालको वरिपरि र भित्र गोली चल्यो। त्यो आवाज एकदमै डरलाग्दो थियो,” उनले भनेका छन्, “हामीले अस्पताल वरिपरि ट्यांकहरू घुमिरहेको थाहा पायौं। एउटा ठूलो ट्यांक पूर्वतिरको मेन गेटबाट अस्पतालभित्र प्रवेश गर्यो। अस्पतालको आपत्कालीन विभाग अगाडि उक्त ट्यांक पार्क गरिएको छ। अस्पतालको सेरोफेरोमा सबैखाले हतियार प्रयोग भएका छन्। उनीहरूले अस्पताललाई नै निशाना बनाएका छन्। हामीहरू झ्याल नजिक जान छोडेका छौं।”
अरब न्यूजसँग सम्पर्कमा आएका अर्का प्रत्यक्षदर्शीका अनुसार स्थानीय समय अनुसार बिहान ३ बजेतिर ट्यांकहरू अस्पतालभित्र प्रवेश गरेका थिए। इजरायली सेनाले त्यसपछि अस्पतालभरि छरिएर बेसमेन्ट एवं सिंगो भवनमा छापा मार्न थाल्यो।
“झ्यालबाट हेर्दा एकदमै डरलाग्दो देखिन्थ्यो। अस्पताल प्रशासनले हामीलाई बताए अनुसार इजरायली सेनाले हरेक कोठामा छापा मार्ने जनाएको छ। मलाई निकै डर लागेको छ,” इजरायली सेनाको डरका कारण नाम उल्लेख नगरिदिन अनुरोध गर्दै उनले बताए, “अस्पतालमा गोलीबारी भएको छैन किनभने अस्पतालभित्र हातहतियार बोकेको मानिस कोही पनि छैन। अस्पतालका डाक्टर, घाइते र शरण लिएका विस्थापित सरह इजरायली सेनाहरू पनि अस्पताल हाताभित्र घुमफिर गरिरहेछन्।’
इजरायली प्रतिरक्षा बल (आईडीएफ)ले जारी गरेको विज्ञप्तिमा गुप्तचरीय सूचना अनुसार हमास भएको जानकारी पाएकाले शिफा अस्पतालमा कारबाही गरिएको जनाइएको छ। संयुक्त राज्य अमेरिकाले पनि आफ्नो गुप्तचरीय सूचनाले इजरायलकै सूचना सही भएको ठम्याएको जनाएको छ।
हमासले भने उक्त आरोप अस्वीकार गरेको छ। इजरायल र अमेरिकाले ‘नरसंहारलाई पुष्टि गर्ने’ प्रयास गरिरहेको उसको आरोप छ।
७ अक्टोबर (असोज २०)मा गाजामा इजरायली सेनाले आक्रमण थालेयता ११ हजार ३०० प्यालेस्टिनीले जीवन गुमाइसकेका छन्। त्यसअघि हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या एक हजार २०० नाघेको इजरायली सरकारको तथ्यांक छ।
- अरब न्यूज र अल जजीराको सहयोगमा