नेपाल तान्जानियासँग पराजित
चार देश सम्मिलित महिला टी-२० शृंखला अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ।
हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो। जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो।
नेपालका लागि सीता रानामगरले सर्वाधिक ४३ रनको योगदान दिइन्। त्यस्तै, कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
तान्जानियाका लागि सोफिया जोरेमीले तीन विकेट लिइन् भने निमा पिइसले दुई विकेट झारिन्। त्यस्तै, प्रिसी जाकायो, एमवालाभुवा उसान्गा र इशा मोहमदले समान एक/एक विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो। तान्जानियाका लागि हुदा ओमारीले सर्वाधिक २५ रनको योगफल बनाइन्। त्यस्तै, ऐशा मोहमदले २१, साउम एमताईले १६, कप्तान फातुमा किवासुले ११ तथा मोनिका पास्कलले १० रन बनाइन्।
बलिङतर्फ नेपालका लागि संगीता राईले दुई विकेट लिइन् भने रुबिना क्षेत्री, पूजा महतो र कप्तान इन्दु बर्माले समान एक विकेट लिएका थिए।