मंसीर १ गतेदेखि रेलको समयतालिका परिवर्तन हुने
नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ।
भारतको जयनगरबाट जनकपुरधामसम्म र जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवाको समयतालिका आगामी मंसीर १ गतेदेखि परिवर्तन गरिने भएको हो। नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाका अनुसार मंसीरदेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने हुँदा यात्रुको सुविधालाई ध्यानमा राखी समयतालिका परिवर्तन गरिएको हो।
दैनिक आउजाउ गरी ६ पटक सञ्चालन भइरहेको रेल भंगाहा (बिजलपुरा)-जयनगर खण्डमा पूर्ववत् दैनिक एक सेवा सञ्चालन हुनेछ। जनकपुरधाम-जयनगर खण्डमा दैनिक तीन सेवा सञ्चालन यथावत् रहनेछ।
परिवर्तन गरिएको नयाँ तालिका अनुसार पहिलो ट्रिप रेल भंगाहाबाट बिहान ७ः३० प्रस्थान गरी जयनगर ९ः१५ पुग्ने र अन्तिम जयनगरबाट दिउँसो ४ः१५ बाट चल्ने रेल साँझ ७ः१५ बजे भंगाहा आइपुगेर रात्रि विश्राम बस्नेछ।
त्यस्तै, जयनगरबाट बिहान १० बजे प्रस्थान गर्ने रेल जनकपुरधाम ११ः१५ बजे पुग्ने र सोही रेल जनकपुरधामबाट बिहान ११ः४५ बजे चल्ने रेल जयनगर दिउँसो १ः१५ बजे पुग्ने छ। यसैगरी फेरि जयनगरबाट दिउँसो १ः४५ बाट चल्ने रेल जनकपुरधाम दिउँसो ३ः१० बजे आइपुग्ने र सोही रेल पुनः जनकपुरधामबाट दिउँसो ३ः१५ बजे सञ्चालन भई दिउँसो ४ः४० बजे जयनगर पुग्ने नेपाल रेल्वे कम्पनी जनकपुरधामका कर्मचारी रञ्जितकुमार ठाकुरले जानकारी दिए।
दिउँसो ४ः४५ बजे जयनगरबाट बिजलपुराका लागि अन्तिम रेल सेवा सञ्चालन हुने उनले बताए। यो रेल साँझ ७ः१५ बजे भंगाहा पुगेर रात्रि विश्राम बस्नेछ।
विसं १९९४ मा जुद्धशमशेरका पालामा शुरू भएको बिजलपुरा-जनकपुर-जयनगर ५२ किमी रेलमार्ग २०५८ सालमा बाढीले बिग्हीपुल (लोहारपट्टि, महोत्तरी) भत्काएपछि जनकपुर-जयनगर ३५ किलोमिटरमा सीमित भएको थियो।
नेपालमा पहिलो रेल सेवा १९८४ सालमा चन्द्रशमशेरको पालामा रक्सौल-अमलेखगन्ज शुरू भएको थियो। अहिले सञ्चालन भइरहेको नेपाली रेल २०७७ असोज २ गते भारतीय रेल्वे कम्पनी कोंकर्ण कर्पोरेशनसँग रु.८४ करोड ६५ लाखमा दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) खरीद गरी ल्याइएको थियो।
सो रेलमा एक हजार २०० सयदेखि एक हजार ३०० यात्रुले यात्रा गर्न सक्ने बताइएको छ।