डकैती आरोपमा दुई जना पक्राउ, भाग्न खोज्दा प्रहरीको गोली लागी घाइते
महोत्तरी प्रहरीले डकैती आरोपमा दुई जनालाई पक्राउ गरेकाे छ।
महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुई जनालाई रौतहटको गरुडा नगरपालिका-४, पानीट्यांकीबाट मंगलबार दिउँसो ३ बजे नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजेय पासवान छन्।
पक्राउ परेका दुवै जनालाई महोत्तरीतर्फ ल्याउँदै गर्दा सर्लाहीको संग्रामपुरमा प्रहरीको गाडी बिग्रेको थियो। जिल्ला प्रहरी कार्यालय, सर्लाहीबाट अर्को सवारी मगाई उक्त गाडीले राति १० बजे महोत्तरीको सिमाना सोनमा गाउँपालिका-५ सम्म पुर्याएपछि पुन: महोत्तरीबाट आएको अर्को गाडीमा उनीहरूलाई हाल्न खोज्दा गाडीबाट हाम फालेर भाग्न खोजेका थिए।
त्यसपछि प्रहरीले गोली चलाउँदा दुवैको बायाँ तिघ्रामा गोली लागेको प्रहरी नायब उपरीक्षक गिरीले बताए। हाल प्रादेशिक अस्पताल जलेश्वरमा दुवै जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।
उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली चार थान समेत बरामद भएको छ।
दुवै जनाले गत कात्तिक २० गते बिहान करीब अढाई बजे जलेश्वर नगरपालिका-८, सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा डकैती गरेका थिए। उक्त टोलीमा हातहतियार सहित कुल सात/आठ जना रहेको प्रहरीले जनाएको छ।
चौधरीको घरबाट उनीहरूले ४० तोला सुनका गरगहना, चाँदीको ४५ तोलाको गरगहना, एक थान मोबाइल, नगद एक लाख ७५ हजार रकम लुटेको आरोप छ।