विश्वकप क्रिकेट : फाइनलमा पुग्न भारत र न्यूजिल्यान्ड भिड्दै
आईसीसी पुरुष एकदिवसीय विश्वकप २०२३ अन्तर्गत आजबाट सेमिफाइनल चरणका खेल हुँदै छन्।
पहिलो सेमिफाइनलमा आयोजक राष्ट्र भारत र साविक उपविजेता न्यूजिल्यान्ड भिड्दै छन्। खेल नेपाली समय अनुसार दिउँसो २:१५ बाट शुरू हुनेछ।
सेमिफाइनलमा स्थान बनाउने क्रममा यस पटक भारतले समूह चरणका सबै खेल जितेको छ। यता न्यूजिल्यान्ड भने समूह चरणका नौमध्ये पाँच खेलमा मात्र जित हात पार्दै सेमिफाइनलमा छनोट भएको हो।
मुम्बईस्थित वानखेडे रंगशालामा आज हुने खेल रोचक हुने अनुमान छ। यसअघि सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि भारत र न्यूजिल्यान्डबीच नै सेमिफाइनल चरणको खेल भएको थियो। त्यसमा १८ रनको जित हात पार्दै न्यूजिल्यान्ड फाइनलमा प्रवेश गरेको थियो।
भारत अहिले एकदिवसीयतर्फ विश्वको नम्बर एक टोली हो। न्यूजिल्यान्ड पाँचौं स्थानमा छ।
दुई पटक एकदिवसीय विश्वकप जितिसकेको भारत यसपटक तेस्रो उपाधि जित्ने लक्ष्य सहित अघि बढेको छ। खेलाडीको प्रदर्शन र घरेलु मैदानका कारण भारतको लय पनि निकै उत्कृष्ट देखिएको छ। यता, न्यूजिल्यान्ड भने लगातार दुई पटक विश्वकपको फाइनलमा पुगेर पनि उपाधिबाट विमुख भएको टोली हो। सन् २०१५ मा अस्ट्रेलिया र सन् २०१९ मा इङ्ल्यान्डले न्यूजिल्यान्डलाई स्तब्ध पारेका थिए।
विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनल खेल भोलि दक्षिण अफ्रिका र अस्ट्रेलिया विरुद्ध हुनेछ।