दिमाग खराब : चलचित्र कि चुनावी अभियानको भिडिओ?
पुराना दलप्रति वितृष्णा र नयाँप्रति भरोसा बढ्दै गरेको समसामयिक कथा देखाउन हतारिएका निर्देशक बस्नेत चलचित्रमा ती कुरा नवीन, रोचक र सिर्जनात्मक शैलीमा प्रस्तुत गर्न चुकेका छन्।
निबन्धकार शंकर लामिछानेले मदन पुरस्कार ग्रहण गर्दा दिएको मन्तव्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई उद्धृत गर्दै भनेका थिए, ‘रिपिटेशन अफ वर्क अन द सेम लाइन ह्याज नो मिनिङ’ (पहिल्यै भइसकेका काम दोहोर्याइरहनुको अर्थ छैन)।
अहिले सिनेमाघरमा चलिरहेको नेपाली चलचित्र दिमाग खराबले भने देवकोटाको त्यो उपदेश बेवास्ता गरेको अनुभूति हुन्छ। नयाँ पुस्ताका ‘ट्रेन्ड सेटर’ निर्देशक मानिने निश्चल बस्नेत यसमा नयाँ स्वाद दिन चुकेका छन्। सूत्र त पुरानो पछ्याइएकै छ, कथानकमा पनि कला र सिर्जनात्मकताभन्दा राजनीतिक कुण्ठाको प्रकटीकरण बढी पाइन्छ।
प्रायः नेपाली फिल्ममा हुने दुर्घटनाबाट जोगिन सफल छ। चलचित्र निर्माणको प्राविधिक पाटो सशक्त छ। तर कलाका हरेक विधा जस्तै फिल्म पनि यसले बोक्ने विचार र त्यसको प्रस्तुतिको बहसबाट अलग्गिन सक्दैन। मनोरञ्जनका नाममा कस्तो चिन्तन प्रवाह भइरहेछ भन्ने पनि उत्तिकै महत्त्वपूर्ण पाटो हो। यो पाटो पहिल्याउँदा भने फिल्म कमजोर मात्रै होइन प्रोपगान्डाको माध्यम बनेको देखिन्छ।
संघीय र स्थानीय तहका पछिल्ला चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र काठमाडौं महानगरका मेयर उम्मेदवार बालेन्द्र साहका अभियान र गतिविधिको झल्को दिने चलचित्र तिनैलाई रिझाउने गरी २०८४ को चुनावी मिशन लक्ष्यित प्रोपगान्डा जस्तो पनि लाग्छ, भारतमा सत्तालाई रिजाउन बनाइएका द कश्मीर फाइल्स र द केरला स्टोरी जस्तै।
आफूले चाहे जस्तो चलचित्र बनाउने छूट निर्देशकलाई र आफूले चाहे जस्तो चलचित्र मात्र हेर्न जाने सुविधा दर्शकलाई हुन्छ। लोकतन्त्रमा यति स्वतन्त्रता सबैलाई छ। तर यसैको टेकोमा चलचित्रलाई प्रोपगान्डा मच्चाउने साधन बनाइनु उचित होइन। ट्रेन्ड सेटर निर्देशकले यस्तो काम ट्रेन्डकै रूपमा अघि बढ्न सक्ने र त्यसले निम्त्याउने जोखिम पक्कै बुझ्न सक्नुपर्छ।
यो पनि : द काश्मीर फाइल्स: बलिउडको असहिष्णु पथ
प्राविधिक पक्षमा मेहनत तर सतही प्रस्तुति
दिमाग खराब प्राविधिक रूपमा धेरै हदसम्म भाँती पुर्याएर बनाइएको चलचित्र हो। तर त्यस्तै मेहनत कथा बुन्ने सवालमा गरिएको छैन। कथानक यस्तो छ-
विदेश जान भनी चुँडिएको चप्पल लगाएर विमानस्थल पुगेको एउटा निम्नवर्गीय अधबैंसे पुरुष मेनपावरको जालसाजीमा फसेपछि विद्रोही भएर निस्कन्छ।
यो कथानकमा प्रश्न गर्ने ठाउँ छैन। एक, यो निर्देशकको रोजाइ हो। दोस्रो, विषयवस्तु आफैंमा राम्रो हो। तर जसरी घटनाक्रम विकास हुन्छ त्यसले विषयको गाम्भीर्यलाई बोक्न सकेको छैन। विद्रोहीको कथा देखाउन सहारा लिइएको बलिउड शैलीको भाग्यवादले चलचित्रलाई झनै सतही र सस्तो बनाएको छ।
हरेक पटक इन्द्र शर्मा (खगेन्द्र लामिछाने)लाई आपत् पर्दा निर्देशक आफैं मसीहा जस्तो पात्र बनेर आई उद्धार गरिदिन्छन्। नेपाली दर्शकले दक्षिण भारतीय चलचित्रमा धेरै पटक हेरिसकेको यस्तो फर्मुला उनको पर्दामा देखिने लोभभन्दा बढ्ता केही लाग्दैन।
त्यस्तै, इन्द्रकी छोरीको अपहरणको दृश्यमा पनि बलिउडको पुरातन सूत्र पछ्याइएको पाइन्छ। नत्र परिवारसँग गाउँमा बस्दा विद्यालय जाने बालिकालाई मामाघर छोड्नुको कुनै आधार चलचित्रले दिंदैन। अर्कातिर, मुख्य पात्रकी छोरी अपहरणमा पर्दा पनि दृश्यहरूमा सहानुभूति प्रकट भइहाल्दैन। किनकि चलचित्रले छोरीसँगको सम्बन्धको धागो उति राम्ररी गाँस्न सकेको छैन। यहाँनिर कथाले इन्द्र र उनकी पत्नी शची (स्वस्तिमा खड्का)को विगत माग गर्छ। थोरै भए पनि त्यो पृष्ठभूमि आउँथ्यो त घटनाहरूको सिलसिला निकै मजबूत हुन सक्थ्यो। निर्देशक बस्नेतले खेलेकै पात्रको पनि पृष्ठभूमि प्रस्ट नहुँदा त्यो भूमिकाको उपादेयतामा प्रश्न गर्ने ठाउँ छ।
कथामा ‘लूज एन्ड’ सहित केही अनुत्तरित विषय पनि छन्। ब्यांकको ऋण तिर्ने पैसा नभएर घर लिलाम हुन लागेका भोलासाङ थोकर (दयाहाङ राई)का बा (माओत्से गुरुङ)ले इन्द्रलाई पैसा दिनुको कारण खुल्दैन। यहाँनिर भोलाले घर जोगाउन संघर्ष गर्यो कि गरेन भन्ने प्रश्न पनि उब्जिन्छ। सन्देशमूलक चलचित्र बनाएको तर्क गर्ने हो भने त जीवनमा यस्ता संघर्ष पनि गर्नुपर्छ भनेर सिकाउनुपर्ने हो कि!
सन्देशकै कुरा गर्दा, घर घर गएर १०१ भोट माग्दा बल्लतल्ल पाएको इन्द्र मेयरलाई हातपात गरेपछि गाउँलेको नजरमा एकाएक नायक बनेको देखाइएको छ। के परिवर्तनका लागि इन्द्रले जस्तो हातपातमै उत्रनुपर्ने हो? आम नागरिक र इन्द्रबीचको सम्बन्ध पनि चलचित्रमा कतै देख्न पाइँदैन। मत माग्ने वेला मात्र नागरिकसँग संवाद गर्छन् पात्रहरू। अरू वेला आफूहरूबीचकै द्वन्द्वमा रुमल्लिन्छन्।
भोलाकै सवालमा उनलाई सजिलै कारागार चलान गरिएको र सजिलै थुनामुक्त गरिएको दृश्य आधारहीन छ। उनलाई सरकारी कृषि अनुदान अपचलन गरेको आरोप लगाइएकामा निर्देशकले त्यसलाई पुष्टि गर्ने आधार दिन सकेका छैनन् जुन कथाले मागिरहेको हुन्छ।
नेपाली समाजले पटक पटक भोग्दै आएको, शासकले आफ्ना कर्तूत छोप्न नागरिकका सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतालाई निमोठ्ने यस्ता गतिविधिलाई चलचित्रले जीवन्त शैलीमा प्रस्तुत गरेको छ।
यस्तै, बले (विजय बराल)को यौन भिडिओ किन बाहिरियो भन्ने ठोस जवाफ पाइँदैन। ‘धोकाको बदला धोका’ भन्दै कथा अगाडि बढाउन मनगढन्ते मोड दिइए पनि दर्शकलाई त्यो धोका कस्तो थियो भन्ने खट्किरहन्छ। कथालाई विविधतायुक्त बनाउने नाममा चलचित्रमा दुई-चार वर्षयताका केही घटनाक्रम पनि प्रस्तुत गरिएको छ तर तिनको प्रस्तुति निकै फितलो छ। बालेन्द्रकै झल्को दिने गरी राष्ट्रिय झन्डा काँधमा ओढेर भोट मागेको, हर्क साम्पाङले जस्तो एक-दुई जनाको अगाडि भाषण गरेको अनि प्रेमप्रसाद आचार्यको झल्को दिने गरी असफल बनाइएका उद्यमीको दृश्य विषयवस्तुको अन्तर्यमा पुग्न सकेका छैनन्।
बालेन्द्र साह काठमाडौंको मेयरमा निर्वाचित हुँदा ताका एउटा ‘गसिप’ निकै भाइरल थियो– विदेशमा बस्नेले आफ्ना बाआमालाई बालेनलाई भोट नहाले घर फर्कन्नौं भने रे। यही भाष्यलाई चलचित्रमा संवाद मार्फत टपक्क टिपिएको छ।
इन्द्रलाई ‘प्लेन टिकट’ बारे सम्म थाहा नभएको अपठित पात्र जस्तो देखाइएको छ। तर त्यो पात्रले भाषण गर्दा भने उसैलाई सबथोक जान्ने गरी प्रस्तुत गरिनुले चरित्र चित्रणमै असामञ्जस्य झल्किन्छ। यस्तै, पत्रकार भनेकै यूट्यूबर अनि ती भनेकै पैसामा बिक्ने हुन्, नेता जति सबै बूढा रहेको र तिनलाई पाखा लगाए मात्र विकास हुन्छ भन्ने जस्ता भाष्य पनि सतही टिप्पणीका उदाहरण हुन्।
चलचित्रमा भाषण सुनिरहेका जनता रातो झन्डा कुल्चिंदै नीलो झन्डातर्फ अग्रसर भएको दृश्य पनि राजनीतिक उद्देश्यप्रेरित छ। यसले यो चलचित्र नै हो कि चुनावी अभियानको भिडिओ भन्नेमा द्विविधा उत्पन्न गराउँछ।
प्राविधिक पक्षमा भने राम्रो काम देखिन्छ। वेलावेला ‘जम्प कट’ को प्रयोग अलिकति बिझाए पनि सम्पादन सलल बगेको छ। छायांकन र प्रकाश संयोजन औसतभन्दा माथि छ। रङ संयोजन पनि तारीफयोग्य छ।
कतै कतै पार्श्वध्वनि चर्को हुँदा संवाद सुन्न मुश्किल पर्छ भने ‘एल कट’ मा अडियो झ्याप्प सकिंदा कानलाई बिझाउँछ।
जुत्ताचप्पलको सराहनीय विम्ब
दिमाग खराबमा प्रयोग भएका चप्पल र जुत्ताको विम्बले नबोलेरै धेरै कुरा प्रवाह गरिरहेको हुन्छ। विमानस्थलमा इन्द्रको जुन चप्पलको फित्ता चुँडिन्छ त्यसैले नगर प्रमुखलाई प्रहार गरेर विद्रोह थालिएको दृश्य निकै वजनदार लाग्छ। को गरीब, को धनी, को शासित अनि को शासक भन्ने जवाफ पनि यिनै जुत्ताचप्पलले दिएका छन्। यी विम्ब यति शक्तिशाली छन्, जब जब चप्पलको क्लोज शट आउँछ दर्शकले बुझिहाल्छन्, अब केही हुन गइरहेछ। यसले सस्पेन्स निर्माणमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।
इन्द्रकी छोरीको कागजको डुंगा डुबेको छोटो दृश्यले पनि त्यो परिवार कस्तो अवस्थाबाट गुज्रिरहेछ भन्ने विम्बात्मक सन्देश प्रवाह गर्छ। पत्नी माइत गएका वेला इन्द्र भाँडा माझ्न बस्दाको दृश्यले महिलाको अवस्थाको बोध गराउँछ। एउटी महिलाले घर सम्हाल्न गरेको संघर्षलाई निकै सुन्दर तरीकाले देखाइएको छ। तर कतिपय दृश्यमा चलचित्र निकै स्त्रीद्वेषी देखिन्छ। जस्तो– प्रेमसम्बन्ध टुट्नुमा विदेश गएकी प्रेमिकालाई गरिएको दोषारोपण र महिलातिर छड्के नजर डुलाउँदै बोलिएको संवाद।
आम सञ्चारमाध्यम प्रोपागान्डाका माध्यम बन्न सक्छन्, यो ऐतिहासिक रूपमा पुष्टि भइसकेको सत्य हो। यसै पनि बलिउड यो मामिलामा प्रशस्त बदनाम भइसकेको छ। फरक यत्ति हो, नेपाली दर्शकले ‘नयाँ’, ‘ट्रेन्ड सेटर’, ‘राम्रा’ भनिएका फिल्म निर्देशक पनि पचासको दशकका फिल्म निर्देशक जस्तै बलिउडमार्गी नै रहेछन् भनेर चित्त बुझाउनेछन्।
सार्वजनिक मञ्चमै चप्पलले पिटिएपछि मुख्य खलपात्र हरिप्रसाद बराल (अर्पण थापा)ले खबर फैलिन नदिन नागरिकको सूचनाको हक कुण्ठित पार्ने हरसम्भव प्रयास गर्छ। आफ्ना गुन्डा टोली परिचालन गरेर पत्रिका खोस्छ। मोबाइल फुटाउँछ। नेपाली समाजले पटक पटक भोग्दै आएको, शासकले आफ्ना कर्तूत छोप्न नागरिकका सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतालाई निमोठ्ने यस्ता गतिविधिलाई चलचित्रले जीवन्त शैलीमा प्रस्तुत गरेको छ।
अब्बल पात्र चयन र अभिनय
चलचित्रमा पात्रहरूको अभिनय पनि तारीफयोग्य छ। त्योभन्दा तारीफयोग्य छ, पात्र चयन।
कलाकारहरू आआफ्नो भूमिकामा पूर्णतः ‘फिट’ देखिन्छन्। इन्द्र पात्रमा खगेन्द्र लामिछानेको चयन र अभिनय दुवै उम्दा देखिएको छ। तथापि खगेन्द्रका अन्य चलचित्रको दाँजोमा हेर्दा अभिनयमा विविधता पाइँदैन, कतै कतै पशुपतिप्रसाद हेरे जस्तो पनि लाग्न सक्छ।
स्वस्तिमा खड्काले आफूलाई प्रमाणित गर्न कुनै कसर छाडेकी छैनन्। उनको अभिनयले चलचित्रको शोभा बढाएको छ।
दयाहाङको अभिनयमा भने अझ निखार ल्याउने ठाउँ रहेको भान हुन्छ। तर आफ्नो भूमिकामा उनी सुहाउँदो देखिएका छन्। इन्द्रले चुनावमा अकस्मात् उम्मेदवारी घोषणा गर्दा भोलाले जनाउने पहिलो प्रतिक्रिया चलचित्रको सशक्त पाटोमध्ये एक हो। यी दुईबीचको मित्रताको गहिराइ झल्काउने यो दृश्यलाई अब्बल बनाउन दयाहाङको अनुभवी अभिनय काम आएको छ।
मेयरको भूमिकामा रहेका अर्पण थापाले अभिनय देखाउने ठाउँ धेरै पाएका छैनन्। जति पाएका छन्, त्यसमा खोट लगाउने ठाउँ छैन। यद्यपि ठ्याक्कै दक्षिण भारतीय चलचित्रको स्वाद दिने गरी निर्माण गरिएको थापाको चरित्र चित्रण केही अतिरञ्जित लाग्छ। अर्कातिर, तस्करबाट नेता बनेको संकेत चलचित्रले गरे पनि त्यो अपराधको पृष्ठभूमि नदेखाइँदा उनको चरित्र चित्रण केही फितलो पनि भइदिएको छ।
विजय बराल, सुमन कार्की, निश्चल बस्नेत लगायतको अभिनयमा भने सुधारको गुन्जायस हुन्छ।
हतारमा अलमल
तमस, हजार चौरासी की माँ जस्ता फिल्म बनाएका भारतीय फिल्म निर्देशक गोविन्द निहलानीले २०६७ सालमा माओवादी विद्रोहमाथि फिल्म बनाउँदा हतार हुने तर्क नागरिक दैनिकसँग गरेका थिए ‘अहिले नै यसमा फिल्म बनाइयो भने भावुकताले बढी हस्तक्षेप गर्छ,’ माओवादी विद्रोही शान्ति प्रक्रियामा आएको चार वर्षपछि पनि उनले हतार हुने ठानेका थिए। ‘केही समय पर्खेर बनाउँदा समालोचनात्मक रूपमा देखाउन सक्ने र त्यसो गर्दा विषयप्रति न्याय हुने’ उनको सुझाव थियो।
निर्देशक निश्चल बस्नेतले पनि त्यही हतारो गर्ने गल्ती गरेका छन्। परिणाम, उनको फिल्ममा पनि भावुकताले हस्तक्षेप गरेको छ। फिल्मको मूल कथ्य पुराना भनिएका दलप्रतिको असन्तुष्टि र नयाँ भनिएका दलप्रतिको उल्लासमय समर्थन हो। जबकि नयाँहरूको पहिलो कार्यकाल पनि सकिएकै छैन।
नयाँहरू कुन कुन अर्थमा पुरानाभन्दा नयाँ हुन् र तिनको नयाँपनले बोकेको राजनीतिको रूपरङ के हो भन्ने स्पष्ट भइसकेको छैन। कुनै पनि राजनीतिक विचारधाराको परीक्षण त्यसको कार्यान्वयनमा हुन्छ र कुनै पनि नेतृत्वको परीक्षा संकटका क्षणहरूमा। बालेन्द्र साहको राजनीतिक विचारधाराको कार्यान्वयनले प्रशस्त आक्रोश सिर्जना गरिसकेको छ। हर्क साम्पाङ लोकरिझ्याइँको बग्गी चढिरहेछन्। नयाँ भनिएका शक्तिले लोकरिझ्याइँको मार्ग पछ्याइरहँदा त्यसलाई फिल्म जस्तो प्रभावशाली आम सञ्चारमाध्यमले बोकेर हिंड्दा निर्देशकको वैचारिकीमाथि प्रश्न त उठ्छ नै।
यो पनि : नेपाली राजनीतिमा कसरी मौलाइरहेछ लोकरिझ्याइँ?
आम सञ्चारमाध्यम प्रोपागान्डाका माध्यम बन्न सक्छन्, यो ऐतिहासिक रूपमा पुष्टि भइसकेको सत्य हो। यदि कसैले यही पथ पछ्याउँछ भने उसको स्वतन्त्रता हो। यसै पनि बलिउड यो मामिलामा प्रशस्त बदनाम भइसकेको छ। फरक यत्ति हो, नेपाली दर्शकले ‘नयाँ’, ‘ट्रेन्ड सेटर’, ‘राम्रा’ भनिएका फिल्म निर्देशक पनि पचासको दशकका फिल्म निर्देशक जस्तै बलिउडमार्गी नै रहेछन् भनेर चित्त बुझाउनेछन्।