बलिराजाले पठायो कि बलिहाङले?
धर्मात्मा राजालाई बचाएकोमा जनताले हर्षोल्लासका साथ घरघर डुलेर खुशी बाँड्न थाले। चेलीहरूको हातबाट भाइटीका, माला लगाएर मासु सेलरोटी खानेकुरा खाएर खुशी साटासाट गरे। देउसी भइलो खेल्दा ‘हामी त्यसै आएको होइन बलिराजाले पठाएको’ भनेर तिहारमा भट्याउने चलन त्यहींबाट चलेको विश्वास गरिन्छ।
ए है, भन भन साथी हो– भइलो
हामी त्यसै आएनौं, बलिराजाले पठायो– भइलो
बाल्यकालमा झापाको सालबाडी गाउँमा देउसी-भइलो खेल्दा समूहका नाइके परियार दाजुले माथिको श्लोकलाई मादलको तालसँगै मीठो स्वरमा भट्याउँदा हामी एकस्वरमा जोड जोडले भइलो भन्दै उफ्रन्थ्यौं। युवावस्थामा उदयपुरको बेल्टार बजारमा ‘बलिराजाको हुकुमैले आएको हामी’ भन्दै भइलो भट्ट्याउँदै फन्को मार्थ्यौं।
बलिराजाको सन्देशवाहकको भूमिका निर्वाह गर्ने यो सिलसिलालाई मैले काठमाडौं आएर पनि जारी नै राखे। मेरा सखाहरूले के गरे यसै भन्न सक्दिनँ।
बाल्यावस्थादेखि नै मलाई हामी साराले भइलो-देउसी खेल्नुपर्ने गरी हुकुम दिने बलिराजाबारे कौतूहल थियो। यी बलि राजा को थिए? कहाँका थिए? कुन जातिका थिए? जिज्ञासा मेटाउन कहिले शिक्षकलाई सोध्थें। कहिले साहित्यका पुस्तकभित्र बलिराजा खोजिहिंड्थे।
यसै क्रममा एक जना शिक्षकले ‘सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो मानेर रमाइलो मनाएको हुँदा यमपञ्चक तिहार मनाउन थालिएको’ हिन्दू पौराणिक कथा सुनाए। यस्तो जवाफले मेरो जिज्ञासा मेटिएन।
तिहारको मौकामा हरेक साल सरकारी सञ्चारमाध्यमबाट सुनाइने विष्णुपुराणमा आधारित कथावाचन यस्तो थियो:
पौराणिककालमा एक जना दानी दैत्य धनवान् राजा थिए जसको नाम बलि थियो। उनलाई आफ्नो धन र दानी स्वभावमाथि निकै घमन्ड थियो। ती राजाले दैलोमा माग्न आउनेलाई कहिल्यै खाली हात फर्काउँदैनथे। उनले धनका देवी लक्ष्मीलाई अधीनमा राखी धनसम्पत्तिले सम्पन्न भएका थिए। उनको घमन्ड चूर पार्न वामनको अवतार लिएका भगवान् विष्णु बलिको दैलोमा भिक्षाटनका निम्ति आए। बलिराजाले सदा झैं स्वभावतः मन खोलेर भिक्षा माग्न भने। वामनले तीन पाइला जमीन मागे। बलि दिन तयार भए। तत्क्षण नारायणले विशाल स्वरूप धारण गरी एक पाइला आकाशमा, एक पाइला पृथ्वीमा र तेस्रो पाइला बलिराजाको टाउकोमा टेकी उनलाई पाताललोकमा पुर्याई लक्ष्मीलाई मुक्त गरिदिए। त्यसै वेलादेखि कात्तिक प्रतिपदाको दिन दानी बलिराजाको पूजा गर्न थालिएको हो।
यो कथावाचनले त मेरो जिज्ञासु मनमा झन् भोक जगाइदियो। मेरो एउटै बालसुलभ प्रश्न थियो- यदि साँच्चै बलिराजा पुराण साहित्यमा वर्णन गरिए झैं आफ्ना प्रिय लक्ष्मीदेवीलाई नै बन्धक बनाउने अपराधी थिए भने किन हिन्दूहरूले त्यस्ता ‘असुर/दैत्य’ को पूजाअर्चना गर्दै आएका हुन् त?
बहुदलले ल्याएको विमर्श
भर्खर पञ्चायती राज फ्याँकेर बहुदल ल्याइएको थियो। बन्द समाजबाट विचारको उन्मुक्त आकाशमा व्यक्तिको उडान शुरू भएको थियो। सीमान्तीकृतका वर्षौंदेखिको कुण्ठित विचारले वाणी पाएको थियो। पहिचानको हावा नेपाली राजनीतिभित्र प्रविष्ट हुँदै थियो। म जस्ता युवा यो नयाँ चेतको प्रवाहमा हेलिएका थियौं। परिणामतः लेखपढ कर्ममा लिप्त हुँदै थियौं।
यो लहरले आदिवासी जनजाति संघसंस्थालाई दशैं बहिष्कारको माहोल सिर्जना गरेको थियो। केही जातीय संस्थाले निर्णय गरेरै दशैं बहिष्कार गरेका थिए। बहिष्कार सम्बन्धि पर्चापम्फलेट वितरण गरिएका थिए।
धर्मात्मा राजालाई बचाएकोमा जनताले हर्षोल्लासका साथ घर घर डुलेर खुशी बाँड्न थाले। चेलीहरूको हातबाट भाइटीका, माला लगाएर मासु, सेलरोटी खानेकुरा खाएर खुशी साटासाट गरे। देउसी-भइलो खेल्दा ‘हामी त्यसै आएको होइन बलिराजाले पठाएको’ भनेर तिहारमा भट्याउने चलन त्यहींबाट चलेको हो।
बहुसंख्यक समुदायलाई राज्यसत्ताको बलमा सीमान्तीकृत बनाउने दशैं जस्ता हिन्दू चाड परित्याग गर्नुपर्छ भन्दै आदिवासी जनजाति संघसंस्थाले ‘विद्रोह लहर’ नै चलाएका थिए। मगरहरूको जातीय संगठन नेपाल मगर संघले पनि तल्लो तहसम्म परिपत्र जारी गरेको थियो। संघका केही जिल्ला समितिले दशैंसँगै तिहार समेत परित्याग गर्ने घोषणा गरेका थिए।
यो अभियान धेरै आदिवासी संघसंस्थाले पछ्याएका थिए, जसको प्रहारमा थिए हिन्दू धर्म र त्यसका धर्मगुरुहरू। यो वैचारिक राजनीतिक आन्दोलनको शीर्ष नेतृत्व तहमा थिए, पूर्वमन्त्रीहरू गोरेबहादुर खपाङ्गी मगर, एमएस थापा मगर, काजिमान कन्दङ्वा, गोपाल गुरुङ, खगेन्द्रजंग गुरुङ र वीर नेम्वाङहरू।
वैचारिक रूपले उथलपुथल भइरहेको यस्तो सामाजिक परिवेशमा (विसं २०४८) नेपाल मगर विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय एकाइ समितिद्वारा प्रकाशित रोश (संस्कृति) पत्रिकामा तिहारमाथि इतिहासका ज्ञाता एमएस थापा मगरको एउटा आलेख प्रकाशित भयो। थापाले सन् १९४८ मा इतिहासकार इमानसिं चेम्जोङले लेखेको पुस्तक हिस्ट्री एन्ड कल्चर अफ किरात पिपल (पृष्ठ १३८-१५०) को मगर जातिमाथि लेखिएको कथनलाई आधार बनाई भइलो अर्थात् तिहार मगर समुदायको चाडको रूपमा रहेको व्याख्या गरेका छन्। उक्त आलेखले ‘तिहार पनि बहिष्कार गर्नुपर्छ’ भन्दै आदिवासी संस्थाद्वारा पर्चा-पम्फलेट बाँडिएको त्यो समयमा बहसको दिशा नै परिवर्तन गरिदियो।
किरात धर्मशास्त्र मुन्धुममा लिखित तिहारको कथालाई गहन अनुसन्धान गरी चेम्जोङले लेखेको सो पुस्तकमा वर्णित कथालाई थापाले उद्धृत गरेका थिए। जसमा लेखिएको थियो :
प्राचीन पश्चिम नेपालमा बलिहाङ मगर राजा थिए। उनी न्यायप्रेमी, धर्मात्मा र भविष्य सम्बन्धी जान्ने पुजारी पनि थिए। उनलाई प्रजाले ज्यादै माया गर्थे। एक दिन बलिहाङ राजालाई आफू मर्ने दिव्यज्ञान भएपछि आफ्नो प्रजालाई बोलाएर भनेछन्- ‘जसरी हामी एकआपसमा दुःखसुख मिलेर बसेका छौं, मेरो मृत्युपछि पनि त्यसरी नै मिलेर बस्नू। मेरो मृत्यु मंसीर महीनाको पूर्णिमाको अन्त्य औंशीको शुरूआतमा (खासमा कात्तिक महीनाको औंसीको रात) हुनेछ।’
आफ्ना प्यारो राजा छिटै मर्ने चिन्ताले उनलाई बचाउने उपायबारे प्रजाले राजासँग बिन्ती गरे। त्यसको जवाफमा बलिराजाको जवाफ थियो- ‘त्यस दिन राति यमदूतले मलाई लिन आउँछ। यमदूत आउँदा सबैले रोईकराई बिन्ती गरी बत्ती बाली मेरो प्राणदान माग्नु, यमदूत खुशी भई मलाई प्राणदान दिएमा म बाँच्न सक्छु।’
राजाले भनेकै दिन सबै प्रजाले नुहाई चोखोनितो बसी आआफ्नो घरमा राति बत्ती बालेर जागा बसे। राजालाई लिन कालो छाया देखा पर्नासाथ फाईलो फाईलो भट्याउँदै प्रार्थना गर्न थाले। सबै प्रजा रोईकराई राजाको प्राणदान माग्न थाले। राजाप्रतिको प्रगाढ भक्तिभाव र श्रद्धा देखेर यमदूतको मन पग्लियो। खुशी भएर बलिहाङ राजालाई प्राणदान दिएर उनी बाटो लागे।
राजालाई बचाएको खुशियालीमा मगर प्रजाहरूले घर घरमा दियो बत्ती बाली नाच्दै गाउँदै हिंडे। कालको मुखदेखि रैतीहरूले बचाउँदा भावविह्वल राजाले तीन दिनसम्म रमाइलो गर्न उर्दी जारी गरे।
प्राचीन मगर भाषामा फा-ई-लो को अर्थ हामीले बचायौं भन्ने हुन्छ। ‘देउसी’ को अर्थ धर्मात्मा पूजारी र ‘र’ को अर्थ राजा हुन्छ। यसको पूर्ण अर्थ यसरी उतार्न सकिन्छ- ‘हामीले हाम्रा धर्मात्मा राजालाई बचायौं’।
धर्मात्मा राजालाई बचाएकोमा जनताले हर्षोल्लासका साथ घर घर डुलेर खुशी बाँड्न थाले। चेलीहरूको हातबाट भाइटीका, माला लगाएर मासु, सेलरोटी लगायत खानेकुरा खाएर खुशी साटासाट गरे। देउसी-भइलो खेल्दा ‘हामी त्यसै आएको होइन बलिराजाले पठाएको’ भनेर तिहारमा भट्याउने चलन त्यहींबाट चलेको हो।
फाईलो अपभ्रंश भएर भइलो भएको जगजाहेर छ। किरात भाषामा हाङको अर्थ राजा, राज्य आदि हुन्छ भने प्राचीन मगर भाषामा राज्य हुन्छ। प्रचलित बलिहाङ र बलिराजा एकै व्यक्ति हुन्” (रोश म्यागेजिन, २०४८ र लाफा म्यागेजिन, २०५० वर्ष २, अंक ७ कार्तिक-मंसीर २०५०)।
थापाको यो आलेखपछि मगर समुदायले तिहारलाई आफ्नै पुर्खाको स्मरणमा मनाइएको चाड मान्दै अद्यापि धूमधामले मनाउँदै आएको छ।
बलिराजा होइन बलिहाङ
बलिराजाले पश्चिम नेपालको कुन ठाउँमा कति वर्ष शासन गरेका थिए? उनको पुस्ताले कति वर्ष शासन गर्यो? त्यस्तो समृद्ध राज्य कसरी पतन भयो? जान्न हुटहुटी बढ्यो। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासीको मूर्त-अमूर्त संस्कृति सम्बन्धी बल्ढ्याङगढी वृत्तचित्रमा काम गर्ने अवसर जुरायो।
नेपालको भूगोल र यहाँका आदिवासीको जीवनशैलीबाट निर्मित तिहार जस्ता चाडलाई राज्यसत्ता हातमा लिएका टाठाबाठाले आफ्ना खास स्वार्थका निम्ति हिन्दूकरण गर्दै लगे। त्यसैकारण होला, तिनले तिहारलाई आफ्नो मान्यतासँग जोड्न खोज्दा त्यो चाडको दर्शन र व्यवहार नै अमिल्दो हुन आउँछ।
पाल्पाको इतिहास र गढी सम्बन्धी पुस्तकहरू अध्ययन र केही इतिहासकार, खोज अनुसन्धातासँगको भेटघाटले बलिराजा सम्बन्धी धूमिल मिथक छाँटिदै थियो।
बल्ढ्याङगढी र बलिराजाबारे अध्ययन अनुसन्धान गरेका प्रा. राजाराम सुवेदीको शोधमाला जर्नलमा लेखिएको बाह्र मगरातको स्वर्णकालमा बल्ढेङगढी सभ्यताबारे लेखिएको छ। त्यसमा उनले लेखेका छन्, ‘कर्णाली प्रदेशको खस मल्ल साम्राज्यको शक्ति कमजोर भएपछि मगरको नायक बलिहाङ (बलिराजा) को चार हजार योद्धा भएको राज्यलाई मगर भाषामा बुलीह्वाङ भनियो। बुलीह्वाङ सेनाले निर्माण गरेको कटक किल्लालाई बलिहाङगढी भनियो। आजकल बल्ढेङगढी भनिन्छ। यो पाल्पा जिल्लामा पर्छ’ (‘मगर जातिको नालिबेली’ २०६३, पृष्ठ ८-९)।
नेपाली समाज र संस्कृतिका अनुसन्धाता मीन श्रीस मगरका अनुसार मगरात क्षेत्रको पहिलो शक्तिशाली बल्ढ्याङगढी राज्यको स्थापना विसं १४४८ तिर भएको थियो। करीब १५२ वर्ष अस्तित्वमा रहेको राज्यमा पाँच जना राजाहरूले राज्य गरेका थिए।
किरातीहरूले बलिहाङ मगरात क्षेत्रमा प्रचलित बलिराजा नामले चिनिएका वास्तविक बलि राना मगर नै त्यस राज्यका संस्थापक राजा हुन्। दोस्रो अभय राना मगरको नाम देखिन्छ भने तेस्रो र चौथोको चाहिं इतिहासमा कतै उल्लेख भएको पाइएको छैन।
अन्तिम राजा रनवीर राना मगर थिए। पाल्पाली राजा मुकुन्द सेनको नेतृत्वमा सात वटा राज्यको सेनाले पराजित गरेकोले बल्ढ्याङगढीको अस्तित्व १६१६ सम्म रहेको पाइन्छ (मगर जातिको इतिहास, पृष्ठ ८५)।
वृत्तचित्र बनाउने क्रममा बल्ढ्याङगढी पुगेर राजा बलि राना मगरका सन्तान र स्थानीयसँग कुराकानी गर्दा बलिराजा सम्बन्धी मिथक अझ स्पष्ट हुँदै गयो। बलिराजाका सन्तान अहिलेको बल्ढ्याङगढीबाट वल्लोपल्लो गाउँतिर बसाइँ सरेका थिए।
स्थानीय शिक्षक लोकेन्द्र रास्कोटी मगरका अनुसार भइलो-देउसी खेल्दा मात्र होइन मगरहरूले गाउने-नाच्ने सोरठीमा पनि बलिराजाको प्रसंग आउँछ।
समाज अध्येतालाई थाहा भएको आश्चर्य के हो भने पूर्वी पाल्पामा जस्तो पश्चिमी पाल्पा भेगमा मगरभाषा बोलिंदैन। अर्घाखाँचीसम्म सिमाना फैलिएको पश्चिम पाल्पामा अवस्थित बल्ढ्याङगढीमा पनि मातृभाषा बोलिंदैन।
राणाशासनमा मातृभाषा बोल्न राज्यले नै बन्देज लगाएका कारण त्यहाँका मगरले आफ्नो भाषा बचाउन नसकेकोमा ऐतिहासिकहरूबीच मतैक्य देखिन्छ। तर मननयोग्य तथ्य के छ भने बल्ढ्याङगढीका मगरहरूले सोरठी गाउँदा मातृभाषामा आफ्ना पूर्वज बलिराजालाई श्रद्धापूर्वक स्मरण गर्दै आएका छन्। यो उत्सवलाई तिहार भनिन्छ। तिहारमा भट्याइने बलिराजा स्थानीय जनजिब्रोमा मिथकका रूपमा छ।
मानवशास्त्री, समाजशास्त्री र ऐतिहासिकबीच मिल्ने एउटा तर्क हो- लिखित इतिहास नभएका आदिवासीको उद्भव, भाषा, धर्म, संस्कृति दस्तावेजीकरण गर्दा उनीहरूमाझ चलेको मौखिक परम्परालाई प्रमुख आधार बनाइनुपर्छ। नेपालमा हिजो राजकाज गरेका मगरहरूको पनि आफ्नो लेख्य इतिहासको शृंखला बिटुलिएको छ। भए पनि अपर्याप्त छ। त्यसैले तिनको नालीबेली बुझ्न हामीले गाउँबस्तीमा छिरी त्यहाँका चालचलन र मिथकभित्र घोत्लिनुपर्छ।
नेपालको भूगोल र यहाँका आदिवासीको जीवनशैलीबाट निर्मित तिहार जस्ता चाडलाई राज्यसत्ता हातमा लिएका टाठाबाठाले आफ्ना खास स्वार्थका निम्ति हिन्दूकरण गर्दै लगे। त्यसैकारण होला तिनले तिहारलाई आफ्नो मान्यतासँग जोड्न खोज्दा त्यो चाडको दर्शन र व्यवहार नै अमिल्दो हुन आउँछ।
जस्तै- हिन्दू चाड भनिए पनि यो धर्मको उद्भवथलोमा तिहारमा भाइटीका लगाउने र भइलो-देउसिरे खेल्ने परम्परा छैन। अझ मगर भाषामा गाइने सोरठी त पाइँदै पाइँदैन। तिहार नेपाली माटोमा जन्मिएको र लोकप्रिय मगर राजाको स्मृतिमा मनाइएको चाड हो। वामन अवतार लगायत कथावाचन पछि घुसाइएका दृष्टान्त मात्र हुन्, जसको मौलिक तिहारसँग साइनो देखिंदैन।
यी भए हिन्दू धर्मसँग जोडिएका मिथकका कुरा। यी बाहेक बलिराजासँग जोडिएका अन्य मिथक पनि छन्, जुन सीधै नेपाली माटोसँग जोडिएको देखिन्छ। त्यसमध्ये दुइटा तर्क तल दिइएको छ:
जुम्लाका कल्यालवंशी पहिलो राजा बलिराजाको समयमा दासदासी प्रथा थियो। त्यति वेला आफ्नै छोराछोरी वा गरीबको छोराछोरी किनेर बलि दिइन्थ्यो। पछिबाट बलिको सट्टा बालबालिकालाई मन्दिरमा छाड्न थालियो। तिनलाई देवदासी भनिन्थ्यो।
तिनै बलिराजाले जनतालाई भिक्षा दिन उर्दी गर्दै देवदासीलाई औंसीको दिनदेखि भैली खेल्न पठाए। भैलीको अर्थ भलो होस् भन्ने हुन्छ। आफूहरू आएको जनाउ दिन भिक्षाटनमा जानेहरूले ‘देवदासी’ भनी जनाउ दिन्थे। यही देवदासी पछि अपभ्रंश भई देउसिरे भएको भनाइ छ।
त्यस्तै, अर्को कथन पनि छ। जुम्ली राजाको पालामा भारतबाट आएको मुसलमान फौजसँगको युद्धले राज्यको आर्थिक कमजोर भयो। जनतालाई कर लगाएर आर्थिक अवस्था दह्रो बनाउन बलिराजाले देउसी-भइलो खेल्न लगाएर आर्थिक संकलन गरे। यहाँबाट देउसी-भइलो शुरू भएको भनाइ पनि छ (गोम विक्रम, ‘मगर समुदायको तिहार अर्थात् बलिहाङ पर्व एक चिनारी’, नागरिक दैनिक, २९ कात्तिक २०७७)।
तर यहाँ स्मरणीय के छ भने कर्णाली भेगतिर भइलो-देउसी खेल्ने परम्परा तिहारमा नभई बरु पुसे पूर्णिमामा छ। पुसे पूर्णिमामा जुम्ला, कालिकोट, मुगु र हुम्लाको दक्षिणी भेगमा भइलो खेल्ने मौलिक परम्परा आजपर्यन्त छ। यसरी हेर्दा तिहारको सन्दर्भमा पुकारिने बलिराजाको प्रसंग जुम्ला र पाल्पासँग जोडिन आइपुग्छ।
मगरको जनश्रुति, अनुश्रुति, लोककथा, मिथक, मिथ, लोकलय, गीत, संगीत, पूजाविधि मगर भाषामा नै थियो, भूगोलका नामहरू पनि। माथि नै भनियो आदिवासीको इतिहास लिखितभन्दा अलिखित हुन्छ।
गण्डकी क्षेत्रका मगरले मारुनी नचाउँछन् भने पूर्वतिरका मगर हुर्रा नाच्छन्। रैथाने अन्य जातिले पनि धूमधामले तिहार मनाउने गर्छन्। प्राचीन मगर भाषामा ‘फा-ई-लो’ र ‘देउसीरे’ को भाषिक अन्तरसम्बन्ध छ।
मगरको प्रचलित सोरठी, घाटु, हुर्रा नाचमा गाइने गीतहरूमा बलिराजाको कथा मर्मस्मर्शी ढंगले गाइन्थ्यो। २०० वर्षको लाहुरे संस्कृतिले गाउँघरमा हिन्दू देवीदेवताको प्रवेशसँगै अर्थात् हिन्दूकरणसँगै मौलिक नृत्यहरूमा रामायण, महाभारत र कृष्णचरित्रका कथाहरू मिश्रण हुँदै गए, नेपाल टेलिभिजनको स्थापना भएपछि भइली ‘भैलीराम’ भए जस्तै।
राज्य र लाहुरे भर्तीले बढी हिन्दूकृत भएको जाति नै मगर जाति हो। इतिहास अध्येता हर्षबहादुर बूढा मगरले हिन्दू हुने पहिलो मगर पाल्पाको राजा मुकुन्द सेन हो भनेर लेखेका छन् (किरातवंश र मगरहरू : एक ऐतिहासिक सर्वेक्षण २०४९)।
नेपालको सन्दर्भमा बसोबासको हिसाबले मगरको ऐतिहासिकता अन्य समुदायसँग तुलना गर्दा यो समुदाय वास्तविक रूपमै आदिमकालदेखि बसोबास गरिरहेको समुदाय देखिन्छ।
ऐतिहासिक मोहनबहादुर मल्लले आफ्नो पुस्तकमा मगरलाई नेपालको निकै पुरानो आदिवासीका रूपमा अर्थ्याएका मात्र छैनन्, मगर यो भूभागमा लामो कालखण्डसम्म शासनसत्तामा रही राजकाज गरेको समेत उल्लेख गरेका छन्।
कुनै वेला निकै समृद्ध मानिएको सिंजा सभ्यताका हर्ताकर्ता समेत मगर समुदाय हुन् भनेका छन्। मल्ल पुस्तकमा लेख्छन् :
सिंजा यो मगर बोलीमा राखिएको नाम हो। झ्याङ्जा, धाजा, धरेन्जा, बरेन्जा, राम्जा, सालजा आदि पश्चिमी पहाडी गाउँहरूको नामको पछाडि ‘जा’ लगाएको देखिन आउँछ। मगरका थरहरूमा पनि पछाडि ‘जा’ लगाएको देखिन्छ। जस्तो- खोरेजा, पाइजा, पुर्जा, गर्बुजा, तिलिजा आदि।
इतिहासकार तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले ‘तिहारमा भट्याइने बलिराजा पौराणिक पात्र नभई नेपालकै सिंजा राज्यका राजा हुन्’ भनेका छन् (२६ असोज २०७४, चक्रपथ डटकम)।
इतिहास अध्येता मीन श्रीस मगर तर्क गर्छन्, ‘पश्चिममा तिहारमा भइलो खेल्ने परम्परा नभएको हुँदा यो संस्कृतिको जन्मदाता पाल्पा बल्ढ्याङगढीका मगर राजा बलि राना मगर (बलिहाङ/बलिराजा) नै हुन्।’
मगरको वैभवता पहिल्याउँदा मीन श्रीस मगरको तर्क वजनदार लाग्छ। यसलाई मल्लको अध्ययनले पनि विराट् स्वरूप दिन्छ। मल्लका अध्ययनमा मगरराज पश्चिममा मात्र देखिंदैन काठमाडौंमा पनि देखिन आउँछ। उनी अगाडि थप्छन्, ‘गोपाल र महिपाल यिनै मगरहरू नै थिए। गोपालवंशका आठ राजाहरूले ५०५ वर्ष र महिपाल वंशका तीन राजाले १६१ वर्ष गरी जम्मा ६६६ वर्ष मगरको रजाइँ काठमाडौं उपत्यकामा चल्छ (मोहनबहादुर मल्ल, सिंजा इतिहासको डोरेटो, पृष्ठ २–३)।
विविध सांस्कृतिक धरोहर धारण गरेका देशका विभिन्न भूगोलमा आदिमकालदेखि नै बसोबास गर्दै आएका मगरहरू धूमधामका साथ तिहार मनाउने गर्छन्। तिहारमा गाइने सोरठी मगरहरूको साझा नृत्य हो। भइलो-देउसीसँगै राप्ती, कर्णाली क्षेत्रका मगरले नचारु, पैस्यार, सरङ्गी, भैलेरु, सिंगारु आदि लोकगीति नृत्यहरू प्रस्तुत गर्छन्।
गण्डकी क्षेत्रका मगरले मारुनी नचाउँछन् भने पूर्वतिरका मगर हुर्रा नाच्छन्। रैथाने अन्य जातिले पनि धूमधामले तिहार मनाउने गर्छन्। प्राचीन मगर भाषामा ‘फा-ई-लो’ र ‘देउसीरे’ को भाषिक अन्तरसम्बन्ध छ।
किरात शास्त्र मुन्धुममा तिहार चाड मगरले शुरूआत गरेको भनिएको माथि उल्लेख गरिसकिएको छ। ऐतिहासिक तथ्य, भौगौलिक र पुरातात्त्विक प्रमाणको आधारमा तिहारको प्रचलन बल्ढ्याङगढी राज्यका बलि (राजा, हाङ) राना मगरले प्रारम्भ गरेको सत्यताको नजिक देखिन्छ।
तिहार मगर राजाले शुरू गरे पनि कालान्तरमा सबै नेपालीको साझा चाड बनेको छ।
(बल्ढ्याङगढी वृत्तचित्रका निर्देशक लाफा सांस्कृतिक अध्येता तथा चलचित्रकर्मी हुन्।)