बजारमा हावी हानिकारक रङ
बजारमा उपलब्ध रङमा प्रयोग भएको रसायनको मात्रा मापन नहुँदा र उपभोक्ता पनि प्राकृतिक रङको प्रयोगबारे सजग नहुँदा स्वास्थ्यलाई हानि पुर्याउने रङहरू नै बेचबिखन भइरहेका छन्।
दाजुभाइ र दिदीबहिनीले एकअर्कालाई सप्तरंगी टीका लगाइदिएपछि समापन हुने पर्व तिहारमा पछिल्ला वर्षहरूमा प्राकृतिक रङको साटो रसायनयुक्त हानिकारक रङको प्रयोग बढेको छ।
प्राकृतिक रङ बिरुवा वा खनिजमा आधारित हुन्छ। रातो चन्दन (रक्त चन्दन), अनार वा सुकेको गुलाब लगायत फूलबाट प्राकृतिक रङ बन्ने गर्छ। पालक पातले हरियो रङ, सुकेको बेसारबाट पहेंलो, सिमसारमा पाइने ‘इन्डिका’ को बोटबाट नीलो रङ बनाइन्छ।
तर अहिले यस्ता सामग्रीबाट रङ बनाउने क्रम घट्दै गएको छ। उपभोक्ता पनि रासायनिक रङमा रमाइरहेको चित्रकार लोक चित्रकार बताउँछन्। उनका अनुसार उपभोक्ता सजग नभएकै कारण पछिल्लो समय बजारमा रसायनयुक्त रङ हावी भएको हो।
चित्रकार आफू भने अहिले पनि चित्र कोर्न प्राकृतिक रङकै प्रयोग गर्ने बताउँछन्। “विक्रेताले पनि रसायनयुक्त रङ नै बेच्ने गरेका छन्। तर खोजी गर्दा हामीले प्राकृतिक रङ नपाउने भन्ने हुँदैन,” उनी भन्छन्।
प्राकृतिक स्रोतबाट प्राकृतिक रङ उत्पादन गर्न सकिने भए पनि कसैको ध्यान नपुगेको उनको विचार छ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साह त टीकाको रङमा मात्र नभएर खाद्यवस्तुमा पनि अखाद्य रङको लेड (सिसा) भेटिने गरेको बताउँछन्। साह भन्छन्, “रङलाई चम्किलो बनाउन लेडको प्रयोग गरिन्छ, यो स्वास्थ्यका लागि हानिकारक छ। लेडयुक्त रङ मिसाइएको खानेकुराले सबैभन्दा धेरै बालबालिकाको बौद्धिक विकासमा असर पार्छ।”
साहका अनुसार नेपाल सरकारले सन् २०१५ मा रङ र पेन्टमा सिसाको अधिकतम मात्रा ९० पीपीएम (पार्टस् पर मिलियन) तोकेको थियो। तर जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रको अध्ययनमा नेपालमा हाल बिक्री हुने ६२ वटा इनामेल पेन्टमध्ये कम्तीमा ३० भन्दा बढीमा तोकिएको मात्राभन्दा बढी सिसा भएको पाइएको छ।
केन्द्रले नै नेपालका पसलमा २१ वटा ब्रान्डका स्प्रे पेन्टको पनि अनुसन्धान गरेको थियो। त्यसमध्ये १९ वटा अन्तर्राष्ट्रिय ब्रान्ड र दुई वटा नेपाली ब्रान्डका स्प्रे पेन्ट थिए। साहका अनुसार १४ वटा ब्रान्डमा सरकारले तोकेकै ९० पीपीएमभन्दा कम लिड भेटिए पनि अन्य सात वटा ब्रान्डमा भने ७५१ देखि १५ हजार ६१८ पीपीएमसम्मको लिड भेटिएको थियो।
साहका अनुसार यस्ता बढी मात्रामा लिड भएको रङ पानी वा खानामा मिसिए पेट दुख्ने, वाकवाकी हुने, रक्तअल्पता हुँदै ज्यानै जान पनि सक्छ। यसरी रङका स्प्रे, इनामेल पेन्टहरूमा जति अध्ययन भएको छ त्यति अध्ययन बजारमा उपलब्ध रङमा अझै भएको छैन। जसका कारण पनि भारत लगायत अन्य देशबाट आइरहेका रङ कति घातक छन् भन्ने अनुमान लगाउन नसकिएको साह बताउँछन्।
“रंगीचंगी सामानमा, हेभी मेटलमा लेड, मर्करी, क्याडमियम, क्रमियम धातुको प्रयोग त भएकै छ। तर अझै सूक्ष्म अध्ययन गरेर यसले गर्ने हानिको मापन हुन आवश्यक छ,” उनी भन्छन्।
केही समयअघि साह कार्यरत संस्थाले नै नेपाली बजारमा प्रयोग गरिने गाजलमा लेडको मात्र सरकारले तोकेभन्दा बढी भेटेको थियो। योसँगै बजारमा पाइने सबै रङमा अध्ययन आवश्यक भएको उनी बताउँछन्। अध्ययन पूरा भए आयातीत र नेपालमै उत्पादित रङलाई परीक्षण गराएर मात्र बजारमा पठाउने काममा सहयोग पुग्ने उनको भनाइ छ।
चित्रकार पनि सरकारले यस्ता वस्तुमा रसायनको प्रयोगबारे अध्ययन गरे आवश्यकता अनुसार नियमकानून बनाउन र नियमन गर्न सहज हुने बताउँछन्। “ठूलो उत्पादनको हकमा भन्न सकिंदैन तर सचेत भएर उपभोक्ताले प्राकृतिक रङ नै खोजी गरे, पसलमा माग गरे उत्पादकले पनि रसायनभन्दा प्राकृतिक नै बढी ल्याउँथे। हाम्रो स्वास्थ्यमा पनि असर गर्दैनथ्यो,” चित्रकार भन्छन्।