होमस्टेले फेरिएको थारू बस्ती
त्रियुगा नगरपालिका-१३, बहेडवाका थारू परिवार होमस्टेबाट आम्दानीसँगै परम्परागत कला-संस्कृति जगेर्ना गरिरहेछन्।
रैथाने कला-संस्कृतिको संरक्षण, सँगसँगै आम्दानी पनि। उदयपुरको त्रियुगा नगरपालिका–१३, बहेडवाका थारू परिवार अहिले यी दुई लाभ एकसाथ उठाइरहेछन्। यसको माध्यम बनेको छ, सामुदायिक होमस्टे। आफ्नो होमस्टे पाहुनाले रुचाएपछि उनीहरू थप हौसिएका छन्।
बहेडवा थारू सामुदायिक होमस्टे २०७८ असार २० मा दर्ता भएको थियो। एक वर्ष आवश्यक व्यवस्थापन र तालीममै बित्यो। जब सञ्चालन थालियो, रोकिनुपरेको छैन। “देशको पश्चिम भेगमा थारू कला-संस्कृति समेटेर होमस्टे सञ्चालन भएको सुनेका थियौं, देखेका थिएनौं,” बहेडवा होमस्टे अध्यक्ष भगवानसिंह चौधरी भन्छन्, “यहाँ पनि त्यसै गर्न सकिन्छ कि भन्ने चासो लाग्यो, अनि सोधखोज गर्न थाल्यौं।”
उनी शुरूमा त्रियुगा नगरका तत्कालीन मेयर बलदेव चौधरीसँग परामर्श लिन गए। मेयरले हौसला दिए, होमस्टेका लागि २० हजार रुपैयाँ बीउ पूँजी पनि थमाइदिए। त्यही आँटमा भगवानसिंहले गाउँका सात घर मिलाएर होमस्टेको रूप दिए। मासिंदै गएको कला-परम्परा जोगाउने अभियान समेत जोडिएकाले छिमेकीले खुलेर साथ दिए।
बहेडवा होमस्टेमा अहिले पाहुनाका लागि १४ वटा कोठा उपलब्ध छन्। पाहुनाहरू बढीजसो खरको छानो लगाएको र कमेरोले लिपेका घर रोज्छन्। जेनतेन यसको जोहो भइरहेकै छ। तर गाउँमा पुराना शैलीका घर निकै कम रहेकाले होमस्टे विस्तार गर्न चुनौती छ।
“हामी छिटै गाउँमा खरको छानो लगाएका, कमेरो माटाले लिपेका घर बनाउनेछौं,” भगवानसिंह भन्छन्। होमस्टेमा समेटिएका प्रत्येक घरको अगाडिपट्टि नेपालको झन्डा र थारू संस्कृति झल्कने गरी हरियो रङको झन्डा राखिएको छ।
आम्दानीको स्रोत
कृषिबाट जीविकोपार्जन गर्दै आएका बहेडवाका थारू परिवारले अहिले होमस्टेलाई नै आम्दानीको मुख्य स्रोत बनाएका छन्। उनीहरू बिहानैदेखि फोनमा पाहुनाका ‘अर्डर’ पर्खिन्छन्। दिउँसो २/३ बजेपछि चाप बढ्न थाल्छ।
“अपराह्नतिर खाजा खाने र बस्न आउने पाउनाको संख्या थपिन्छ,” प्रभा चौधरी भन्छिन्, ”कहिलेकाहीं त सास फेर्ने फुर्सद पनि हुन्न।” वेलावेला कलेजहरूबाट अवलोकन भ्रमणका लागि एकै पटक ४०/५० जनाको समूह पुग्छ।
पहिले आफ्नै परिवारका लागि मात्र कुखुरा पाल्नेहरूले अहिले त्यसलाई व्यावसायिक रूप दिएका छन्। होमस्टेले मासु खपत बढाएकाले प्रत्येकजसो घरमा स्थानीय जातका कुखुरा पालिएका छन्, पहिलेभन्दा बढी संख्यामा।
एक केजी कुखुराको मूल्य ८०० रुपैयाँ छ। हाँस पाल्नेहरू पनि बढेको स्थानीय बासिन्दा शशीकला चौधरी बताउँछिन्। होमस्टेमा थारू परिकार बगिया, तेलपौर रोटी र उसिना चामलको भुजा सहितको खाजाको मूल्य २०० रुपैयाँ तोकिएको छ। घोंगी, सिपी र स्थानीय खोलाका माछा पनि खान पाइन्छ। वास बस्ने पाहुनाले प्रतिबेड ५०० रुपैयाँ तिर्नुपर्छ। प्रत्येक कोठामा दुइटा खाट छन्।
सदरमुकाम गाईघाट बजारबाट झन्डै चार किमि पूर्वमा रहेको उक्त वडामा अधिकांश थारू परिवार छन्। २०७८ सालमा जिल्लामा बहेडवासँगै पाँच वटा होमस्टे दर्ता भएकामा सबैभन्दा बढी यही रुचाइएको छ।
बहेडवामै अन्य जिल्लाका विद्यालयको अवलोकन भ्रमण र सरकारी कार्यक्रम समेत हुने गर्छन्। होमस्टेका प्राविधिक सल्लाहकार उत्तिमलाल चौधरी होमस्टेले यस क्षेत्रका नागरिकको जीवनशैली नै परिवर्तन गरिदिएको बताउँछन्। “पहिले गाउँमा आफन्त मात्रै आउँथे, अहिले तीभन्दा बढी होमस्टेका पाहुना आउँछन्,” उनी भन्छन्।