‘भूकम्पबाट त बाँचियो, अब चिसोले मार्ला भन्ने डर छ’
जाजरकोट भूकम्पबाट घरवारविहीन सर्वसाधारण राम्रो ओढ्ने-ओछ्याउने समेत नहुँदा चिसोबाट ज्यान जोगाउन मुश्किल भएको बताउँछन्।
जाजरकोटको नलगाड नगरपालिका-१, चिउरी गाउँकी १४ रूपा विकलाई शनिबार रातभरि निद्रा परेन। परालको ओछ्यान र त्रिपालको छानो बनाएर सुतेकी रूपालाई रातभर सिरेटोले हानिरह्यो।
शनिबार दिउँसो परेको पानीले जाडो बढाएपछि रातभर निदाउन नसकेको उनी बताउँछिन्। “हिजो दिउँसो पानी परेपछि पूरा रात छटपटीमा बित्यो, भूकम्पबाट त भाग्यले बाँचियो, अब चिसोले मार्ला कि भन्ने डर लागेको छ,” रूपा भन्छिन्।
कात्तिक १७ गते भूकम्प जाँदा रूपा सुतेको घर मात्र भत्किएको थिएन, त्यस घरमा सुतेका चार जना पुरिएकै ठाउँमा बितेका थिए। छिमेकी काका हिरे कामीको घरमा सुतेकी उनी र काकाकी छोरी प्रेमकली मात्र बाँचेका थिए। तर अब चिसोले मार्ला कि भन्ने डर लागेको उनी बताउँछिन्।
परालको ओछ्यान र त्रिपाल ओढेर सुतेकी रूपाका अनुसार राहतको त्रिपाल र ओढ्ने कपडा आए पनि त्यसले जाडो छेकेको छैन। त्रिपालबाट शीत चुहिएको र दायाँ-बायाँबाट सिरेटो छिरेको उनको भनाइ छ। “गाउँभरका मानिस बिरामी पर्न थालिसके,” रूपा सुनाउँछिन्।
भेरी नगरपालिका-१, रावत गाउँका ललित परियार पनि शनिबार रातभरि निदाउन सकेनन्। पाँच वर्षीया छोरी र सात वर्षीय छोरा गुमाएको पीडामा रहेका उनी चिसोले बिरामी हुन थालेका छन्। चिसोको कारण रावत गाउँका बासिन्दा बिरामी पर्न थालेको ललित सुनाउँछन्। “घर जस्तो त्रिपाल त नहुने रहेछ, हामीलाई चिसो थेग्ने अलिक दिगो किसिमको पाल र लत्ताकपडाको जरुरत छ,” उनी भन्छन्।
जसोतसो भूकम्पबाट आफ्ना सन्तान बचाउन सफल भएकी रावत गाउँकै २५ वर्षीया सुस्मिता विकलाई चिसोबाट बचाउन नसकिने हो कि भन्ने चिन्ता बढेको छ। शनिबार परेको पानीपछि चिसो बढेर बालबच्चालाई समस्या हुन थालेको उनी बताउँछिन्। अब भूकम्पको भन्दा पनि चिसोको डर बढी भएको उनको भनाइ छ। “अब चिसोले बिरामी परेर मरिने हो कि भन्ने डर लाग्न थालेको छ,” सुस्मिता भन्छिन्।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई चिसो बढेसँगै चिन्ता बढेको छ। चिसोबाट जोगिने चुनौती थपिएको छ। “घरमै बस्दा पनि जाडोले सताउँथ्यो, झन् त्रिपालमा कसरी जोगिने होला,” उनी भन्छिन्।
भेरी नगरपालिकाकै कोलचौरका साजन विक चिसोबाट जोगिन मुश्किल भएको बताउँछन्। जतिसुकै बलियो त्रिपाल र न्यानो ओढ्ने-ओछ्याउने भए पनि हिउँदको चिसो थेग्न नसक्ने उनको भनाइ छ। एक-दुई दिन त्रिपाल ओढेर भुइँमा सत्न सकिए पनि लामो समय रात काट्न नसकिने उनी सुनाउँछन्। “छिटोभन्दा छिटो अस्थायी नै भए पनि चिसो छेक्ने टहरा आवश्यक छ, नत्र चिसोकै कारण धेरैको ज्यान जान सक्छ,” साजन भन्छन्।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि कातिक २६ गतेदेखि २९ गतेसम्म कोशी, बागमती, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन सहित हल्का वर्षा हुने सम्भावना रहेको आकलन गरेको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात भई अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने उल्लेख गरेको छ।
कोलचौरका रघु विक अबको केही दिनमा जाडो झनै बढ्ने भएकाले राज्यले भूकम्पपीडितलाई जोगाउन द्रुत गतिमा काम गर्नुपर्ने बताउँछन्। त्रिपाल र ब्ल्यांकेटले जाडो नथेग्ने भएकाले विकल्प तयार पार्न राज्य लाग्नुपर्ने उनको भनाइ छ। “अब जाडो बढ्न थालेको छ, राज्यले भूकम्पपीडितलाई बचाउन केही काम नगर्ने हो भने केही दिनमा चिसोको कारण मानिस मर्न थाल्छन्,” रघु भन्छन्।
जाजरकोट भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको ज्यान गएको छ। त्यस्तै, ३७२ जना घाइते छन्। भूकम्पबाट पाँच हजार ५७३ घर पूर्ण रूपमा र ११ हजार ४२१ घरमा आंशिक रूपमा क्षति पुगेको छ।