आज लक्ष्मीपूजा मनाइँदै
तिहारको दोस्रो दिन आज लक्ष्मीपूजा मनाइँदै छ। आजकै दिन नरकचतुर्दशी र कुकुरतिहार पनि परेको छ।
लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ। लक्ष्मीपूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ।
दीपावली गरिसकेपछि पूजाकोठामा दियो, कलश र गणेश सहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ।
आज साँझ युवतीहरू समूह बनाई घर घरमा भैलो पनि खेल्छन्। आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ।
परम्परा अनुसार आजै गाईको पूजा गर्ने प्रचलन समेत छ। शास्त्रीय रूपमा भने औंसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार शनिबारदेखि शुरू भएको हो। शनिबार कागतिहार मनाइएको थियो भने आज कुकुरतिहार र लक्ष्मीपूजा मनाइँदै छ।