‘लीलबहादुर क्षेत्रीजीको बसाइँ फेरि पढ्नुपर्ने भयो’
सरकारले रोजगारीको अवसर, सामाजिक सुरक्षा, आन्तरिक बसाइँसराइ लगायत विषयमा अध्ययन गर्न विज्ञ समिति गठन गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमविज्ञ तथा समाजशास्त्री डा. गणेश गुरुङको नेतृत्वमा विज्ञ समिति गठन गरेको हो। समितिमा डा. केशव बस्याल, प्रतिमा शर्मा, जुना माथेमा, मञ्जु गुरूङ सदस्य तथा श्रम मन्त्रालयको प्रशासन शाखाका उप-सचिव सदस्य-सचिव छन्।
समितिलाई दुई महीनाभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउन समय दिइएको छ। समितिले आन्तरिक रोजगारी तथा बसाइँसराइबारे समेत अध्ययन गर्ने जिम्मेवारी पाएको संयोजक गुरुङले बताए। आफूले पाएको जिम्मेवारीबारे उनले भने, “अब लीलबहादुर क्षेत्रीजीको बसाइँ उपन्यास फेरि पढ्नुपर्ने भयो।”
२०१४ सालमा प्रकाशित बसाइँ उपन्यासमा गरीब नेपालीले रोजगारीका लागि आफ्नो घरबाट भारतमा बसाइँ सर्नुपर्ने अवस्था चित्रण गरिएको छ। पूर्वी नेपालको पहाडी परिवेशमा लेखिएको यो उपन्यास सर्वाधिक बिक्री हुने नेपाली पुस्तकमध्ये एक हो।
विदेशगमनबारे थप सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।