क्यामेरामा आँसु कैद गर्दा
केही आलोचक भन्छन्- पत्रकार आँसुको व्यापार गर्छन्। शायद तिनले बिर्सन्छन्, आँसु बहाइरहेको मानिसको तस्वीर खिचिरहेको क्यामेरा पछाडि पनि मानिस नै हुन्छ।
कात्तिक १९ गते। जाजरकोट भूकम्पको स्थलगत रिपोर्टिङका लागि पुगेका हामी त्यहाँका दृश्यले आफैं हतप्रभ भइसकेका थियौं। दिउँसो नलगाड नगरपालिका-१, चिउरी गाउँ पुगेका थियौं। यो गाउँका मात्रै १३ जनाले भूकम्पमा ज्यान गुमाए।
परिवारजन, आफन्त र छिमेकीलाई अन्तिम बिदाइ गर्दा शोकाकुल मानिसको रुवाबासीले विक्षिप्त भएका थियौं। तर एक फोटो पत्रकार भएकाले त्यो आर्तनादलाई क्यामेरामा कैद गर्नुपर्ने दायित्व थियो मेरो। रोइकराइ गरिरहेका महिलालाई गाउँमै छोडेर मलामी गइरहेको लामो लस्करको तस्वीर खिचेपछि त्यही गाउँकै इम्ले टोलतिर लाग्यौं।
यो टोलमा रहेका नौ वटै घर ध्वस्त थिए। एउटा घरमा भने मानवीय क्षति भएको रहेछ। हिरे कामीको परिवारका चार जना पुरिएर बितेछन्। त्यो परिवारकी आठ वर्षीया प्रेमकली विक मात्रै जीवित रहिछन्।
दिन ढल्किन लागेको वेला सहकर्मी सागर बुढाथोकी र म इम्ले पुग्यौं। बस्ने घर भत्किएकाले महिलाहरू छेउको खुला बारीमै पराल बिछ्याएर रातिका लागि बिछ्यौना बनाउँदै थिए।
“उ: तिनै रहिछन् प्रेमकली, उनको परिवारका अरू सबै मरेछन्,” सानी बालिकातिर संकेत गर्दै सागरजीले भन्नुभयो।
भत्किएको आफ्नो घर अगाडि उनी टोलाएर बसिरहेकी थिइन्। जीवनको आठौं वर्षमा पुगेकी सानी बालिकाको जीवनमा एकाएक यति ठूलो बज्रपात परेको थियो। शायद उनले के भयो भन्ने पनि मेसो पाइरहेकी थिइनन्। उनको अनुहार भित्ता जस्तै सपाट थियो।
शायद आफैंलाई खोतल्न पनि भ्याएकी थिइनन् उनले। एकै क्षण धर्ती हल्लिँदा आफ्नो जिन्दगीमा के के भत्कियो/बिग्रियो भन्ने हिसाब गर्न पनि सकेकी थिइनन्।
त्यसो त उनी पनि घाइते रहिछन्। भर्खरै मात्र अस्पतालबाट ल्याइएको थियो उनलाई। हातको औंलामा ब्यान्डेज थियो। टाउकोमा रातो कपडा बाँधिएको थियो।
सागरजीले मन नलागी नलागी प्रश्न गर्न थाल्नुभयो। एउटी सानी बालिकाको घाउ कोट्याउने रहर कसलाई हुन्छ र? तर पत्रकार न पर्यौं।
प्रश्न सुनेपछि प्रेमकलीको मुहार फेरिन थाल्यो।
अघि भित्ता जस्तो सपाट अनुहारमा पीडाका लहर दौडिन थाले।
अनि एक्कासि रुन थालिन्। डाँको फुट्यो। क्यामेराबाट नियालिरहेको थिएँ मैले। उनका आँखाबाट धर्धर्ती आँसु बगेको। बोल्दाबोल्दै बोली रोकिएको।
चश्माभरि बाफ भरिएपछि बल्ल थाहा पाएँ, म त अघि नै रोइसकेको रहेछु। सागरजीका प्रश्न कतै हराइसकेका थिए। उहाँका आँखा पनि उसैगरी बगिरहेका थिए।
हातमा क्यामेरा थियो। क्यामेराको भ्यूफाइन्डरमा आँखा। मनमा भने हजारौं प्रश्नका लहर दौडिइरहेका थिए। साना बच्चाहरू जब अत्तालिन्छन्, दौडेर आमा-बाको काखमा पुग्छन्। अँगालो हालेर रुन्छन्। मेरो अगाडि रोइरहेकी प्रेमकलीका त आमा-बा नै बितेका थिए। उनले टाउको बिसाउने आमाको काख थिएन। आफैंलाई पोख्ने अँगालो थिएन।
बिहानैदेखि मृत्युको तस्वीर खिचिरहेको थिएँ। भावविह्वल थिएँ। तर भक्कानो यहाँ आएर छुट्यो।
त्यहाँबाट जाजरकोट खलंगामा बसिरहेको होटलमा फर्किएर अफिसमा पठाउन फोटोहरू छानिरहँदा देखें, प्रेमकलीको आँखाबाट आँसु बगिरहेको दृश्य कैद गरिसकेको रहेछु। ल्यापटपको स्क्रीनमा त्यो तस्वीर देखेपछि फेरि एक पटक आँखा रसाए। लाग्यो, उनको पीडा, शोक, अन्योल, अत्यास सबै देखाउने योभन्दा शक्तिशाली अर्को तस्वीर हुनै सक्दैन।
रातभर सपना बिग्रिरह्यो। उनको त्यो तस्वीर, मानिसहरूको रुवाबासी मनमा आइरह्यो। अर्धनिद्रा जस्तो भयो रात।
भोलिपल्ट बिहान ब्युँझँदा हामी नून खाएका कुखुरा जस्ता भएका थियौं। केही बेरमा सागरजीले खुशी हुँदै सुनाउनुभयो, “गोपेन दाइ, ती प्रेमकलीलाई त मानव सेवा आश्रमले जिम्मा लिने भएछ।”
डा. अरुणा उप्रेती मार्फत न्यूजरूमबाट आएको सूचनाका आधारमा बोलेको त्यो एक वाक्यको समाचारले मनमा उत्साह आयो। मैले खिचेको एउटा तस्वीर र सागरजीको एउटा समाचारले केही त काम गरेछ भन्ने लाग्यो। त्यही सानो उत्साह बोकेर लाग्यौं, भेरी नगरपालिका-१ मा रहेको कोलचौर गाउँतिर।
गाउँको बीचतिर रहेको एउटा भत्किएको घर अगाडि पुग्दा गाउँलेहरू भेला भइसकेका थिए। घरको माथिल्लो भाग भत्किंदा हस्ती कामीका बुहारी र नातिनातिना गरेर ६ जनाको ज्यान गएछ। उनकी ३० वर्षीय बुहारी जानुका, छोरा उदय कामीतिरका नातिनीहरू १३ वर्षीया शर्मिला, नौ वर्षीया अञ्जली र चार वर्षीय नाति उज्ज्वलको निधन भएछ।
त्यस्तै, कान्छा छोरातिरकी ११ वर्षीय नातिनी निरुता र छोरी लालमतीतिरकी आठ वर्षीया नातिनी विष्णु तिरुवा पनि यो संसारबाट बिदा भएछन्। छोरीलाई माइतीमा छोडेर लालमती रोजगारीका लागि कुवेत गएकी थिइन्।
रोजगारीका लागि मलेशिया पुगेका उदय कामीलाई पर्खेर शवहरू दाहसंस्कार नगरी जाजरकोट जिल्ला अस्पतालमै राखिएका थिए। उदय त्यही दिन आइपुग्ने भएपछि उनका श्रीमती र सन्तानको शव गाउँ पुर्याइँदै थियो। लालमती नपुग्ने भएकाले उनकी छोरी विष्णुको शव भने अस्पतालमै राखिने भयो। ती शव पर्खेरै गाउँलेहरू आँगनमा जम्मा भएका थिए।
पुग्दा टन्नै मानिस थिए तर सबै मौन। वातावरण उकुसमुकस थियो। कोही कसैसँग बोलिरहेका थिएनन्। हुरी चल्नुअघिको सन्नाटा थियो त्यहाँ।
दिउँसो १ बजेतिर जिल्ला अस्पतालको शववाहनमा पाँच वटा शवहरू ल्याइयो। जसै सेतो कपडाले बेरिएका शव पालैपालो आँगनमा राखिन थाल्यो, अघिको सन्नाटा चिर्दै गाउँलेहरू रुन, कराउन थाले। कसैले कसैलाई सम्हाल्ने स्थिति नै रहेन।
आफ्ना बुहारी र नातिनातिनी गुमाएकी हस्ती कामी भने ती शवको अगाडि हात जोडेर ‘आफूले जोगाउन नसकेकोमा’ माफ मागिरहेकी थिइन्। जीवनको उत्तरार्द्धमा पुगेकी एक वृद्धाले आफ्ना सन्ततिको शव अगाडि लाचारी पोखिरहेको त्यो क्षण कति कारुणिक थियो, शायद कुनै पनि शब्द, तस्वीर र भिडिओले व्यक्त गर्न सकिंदैन।
फोटो पत्रकारको दायित्व यहाँ पनि कायमै थियो। ती शवको, तिनका वरिपरि झुम्मिइरहेका मानिसको फोटो र भिडिओ खिचिरहें मैले। त्यति नै वेला सुनें- उदय आउँदै छन्। परबाट उनलाई आफन्त र साथीहरूले समाएर ल्याउँदै गरेको भिडिओ खिच्दै पछ्याउन थालें।
आँगनमा भेला भएका गाउँलेका बीचमा राखिएका आफ्नी श्रीमती र छोराछोरीको शव देखेपछि उनले दुवै हातले टाउको समाए। घुँडा टेकेर बसे। एकैबाजी पीडाले थिचेपछि त मानिस रोई हाल्न पनि नसक्दो रहेछ।
एकतमासले टोलाइरहेका उनलाई आफन्तले छोराछोरीको अनुहार हेर्न भने।
“किन हेर्नु? के बाँकी छ र हेर्नलाई?” उदयले उदास भएर भने।
त्यही वेला अर्का आफन्तले चारवर्षे छोराको अनुहारमा बेरिएको कपडा निकालिदिए। त्यो देख्नासाथ उदयको भक्कानो फुट्यो। हातले टाउको र छाती पिट्दै उनी डाँको छोडेर रुन, कराउन थाले, “हे भगवान्! मलाई किन यस्तो गर्यौ?”
उनी भक्कानिएपछि भने सिंगो गाउँसँगै म पनि भक्कानिएँ। लाग्यो, उनको ठाउँमा म रोइरहेछु। एकाएक पत्रकारभन्दा पिता हुनुको भावले थिच्यो मलाई पनि। मेरो क्यामेरा हल्लियो। पत्रकारिता जीवनमा धेरै पटक अनेक थरी भिडिओ खिचेको छु तर यस पटक भिडिओ बिग्रने गरी हात काँपे।
उदयसँगै मभित्रको पिता पनि रोइरहेको थियो। जुन सन्तानलाई राम्रो जीवन दिन्छु भनेर उनी पराई भूमि गएका थिए; जुन जीवनसाथीसँग बुढेसकालका दिनहरू सुखले बिताउँला भनेर जोवन पोख्न परदेशिएका थिए, ती आज एकैबाजी कहिल्यै नफर्किने गरी गइसकेका थिए।
तस्वीरमा कैद गरेको चार दिनपछि पनि त्यो दृश्य आँखाभरि घुमिरहेछ।
जब जब एकान्तमा एक्लै हुन्छु, कानमा मानिसहरू रोएको, चिच्याएको आवाज गुन्जिन्छ। आँखामा कहिले प्रेमकलीको आँसु बहिरहेको अनुहार आउँछ त कहिले छाती पिटिरहेका उदयको दृश्य।
केही आलोचक भन्छन्- हामी पत्रकार आँसुको व्यापार गर्छौं। शायद तिनले बिर्सन्छन्, आँसु बहाइरहेको मानिसको तस्वीर खिचिरहेको क्यामेरा पछाडि पनि मानिस नै हुन्छ। उसको पनि दुख्ने मुटु, रुने आँखा हुन्छ। तर ऊसँग एउटा अभिलाषा हुन्छ, ती रोइरहेका मानिसको आँसु र क्रन्दन सत्ताशक्तिमा बस्नेहरूलाई देखाउने ताकि तिनको आर्तनादमा थोरै भए पनि सान्त्वनाको, साथको, आडको, भरोसाको मल्हम परोस्।
यो पनि पढ्नुहोस्: ‘मलाई बचाएर मेरा नातिनातिनालाई किन लग्यौ भगवान्?’