स्टक एक्सचेन्जको लाइसेन्स खोल्ने निर्देशनमा सांसद वाग्लेको फरक मत
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले स्टक एक्सचेन्जको लाइसेन्स खुला गर्न सरकारलाई निर्देशन दिने अर्थ समितिको निर्णयमा फरक मत दर्ज गरेका छन्।
संघीय संसद्को अर्थ समितिको शुक्रबार बसेको बैठकको निर्णय नं. २ मा धितोपत्र बोर्डलाई निर्देशन दिने निर्णय गरिएको छ। त्यही निर्णयमा उनले असहमति जनाएका हुन्।
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहिसकेका सांसद वाग्लेले फरक मतमा भनेका छन्, ‘विधि पुर्याएर आर्थिक सुशासनका सिद्धान्तहरूप्रति कटिबद्ध भई विशुद्ध प्रतिस्पर्धाको कोणबाट दोस्रो स्टक एक्सचेन्ज स्थापनाको प्रक्रिया छिटै अगाडि बढाउन सिद्धान्ततः मेरो असहमति नभए पनि अर्थ समितिको २०८० जेठ २९ गतेको निर्णयप्रति न्याय नहुने, आवश्यक सहजीकरण गरिदिन नेपाल धितोपत्र बोर्डले २०८० कात्तिक १६ गते पठाएको पत्र समिति पेश नगरी, छलफल नगराई, हतार हतार २०८० को दीपावली शुरू हुनुअघि साँझको ७ बजे खोटपूर्ण निर्णयका साथ संगठित तवरले हठात निर्णय गरेको देखिने भएकाले र चाडपर्वपछि सार्थक छलफल गरी निर्णय लिंदा अर्थ समिति सन्देहको घेराबाट बाहिर हुने महसूस गरेकाले निर्णय २ प्रति मेरो फरक मत दर्ज गरेको छु।’
अर्थ समितिले गत जेठ २९ मा विस्तृत अध्ययन गरी अर्को निर्णय नभएसम्म लागि नयाँ स्टक एक्सचेन्जको स्थापना सम्बन्धी कामकारबाहीलाई अगाडि नबढाउन निर्देशन दिएको थियो। समिति त्यो निर्णयबाट पछि हटेको भन्दै वाग्लेले फरक मत राखेका हुन्।