प्राकृतिक पत्रकारबाट के सिक्ने?
आफ्नो बथानको कोही मरे भने मलामी जाने, बथानमा बस्ने, जीवनमा एउटै मात्र जोडी बनाउने र नयाँ मानिस आइपुग्दा खबर पुर्याउने कागबाट मानिसले जीवनका धेरै पक्ष सिक्न सक्छन्।
यमपञ्चक अर्थात् तिहार मानिसको स्वास्थ्य, शरीर र आयुसँग सम्बन्धित चाड हो। यमपञ्चकमा यमराजबाट समाचार ल्याउने पन्छी वा यमदूतको रूपमा कागलाई चित्रण गरिएको छ। यमदूतको कुरा आफ्नो ठाउँमा होला तर हाम्रो आमजीवनमा कागलाई समाचार ल्याउने पन्छीका रूपमा लिइन्छ। अर्थात्, कागलाई प्राकृतिक पत्रकार मानिन्छ।
अझ काग र मानिसको साहचर्य अत्यन्तै पुरानो हो। जहाँ जहाँ मानिस पुगे, त्यहाँ त्यहाँ काग पनि पुगेका छन्। काग र मानिसको सम्बन्ध सौहार्दपूर्ण पनि छ। कागबाट धेरै थोक सिक्न पनि सक्छौं।
कागले आफ्नो जीवनमा एउटा मात्र जोडी बनाउँछ। ‘एक नारी ब्रह्मचारी’ भन्ने सिद्धान्तमा अडिग रहन्छ। फेरि आफ्नो आहारा खोज्दा होस् वा जोडी खोज्दा काग मान्छे जस्तो झगडा गर्दैन।
काग बाघ, भालु जस्तो ऐकान्तिक प्राणी होइन। बथानमै बसे पनि आपसमा कहिल्यै झगडा गर्दैन। कागको मलामी पनि अद्वितीय हुन्छ। एउटा काग मर्यो भने बथानका सबै काग एकत्र भएर संवेदना प्रकट गर्छन्। मानिसपछि काग जस्तो मलामी जाने प्राणी अरू छैनन्। सारा कागको बथान मिलेर मरेको कागको मलामीमा हल्ला गर्छन्। यो तिनीहरूको शोक व्यक्त गर्ने शैली हो।
कागले बालबच्चा हुर्काउँदा पनि समुदाय मिलेरै हुर्काउँछ। उड्न सिकाउँदा आमा र बाउले मात्र नभई समुदाय नै मिलेर नै सिकाउँछ।
काग सामाजिक प्राणी भएकाले उसबाट मानिसले धेरै कुरा सिक्न सक्छ। त्यसकारण यमपञ्चकमा कागलाई एक दिन खुवाएर मात्र होइन, उसलाई अवलोकन गरेर, उसको जीवन अध्ययन गरेर, सिक्न सकिने जति सिक्नुपर्छ।
काग सबभन्दा स्वस्थ प्राणी पनि हो। कागले अमृत चोरर ल्याएको हुँदा यो अजम्बरी भयो भन्ने भनाइ छ। यसको अजम्बरी स्वभावले गर्दा यसलाई अमृत चोरेको उपमा दिइएको होला जस्तो लाग्छ।
नेपालमा तीन प्रकारका काग पाइन्छन्। एउटा हो, भोटे काग जुन हिमाली क्षेत्रमा पाइन्छ। यो काग २७ हजार फिटसम्म पनि पुगेको अभिलेख छ। अर्को काग जंगली काग हो। त्यो जंगल र मानव बस्तीको आसपास पनि बस्छ।
घरकाग भने हाम्रै घर वरपर हुन्छ। यसलाई अंग्रेजीमा ‘हाउस क्रो’ भनिन्छ।
जेजस्तो नाम दिइए पनि संसारैभर कागलाई उसको आवाजको आधारमा नामकरण गरिएको छ। नेपालका १०-१५ वटा भाषामा यसलाई काग, कौ, को आदि भन्ने गरिन्छ।
कागलाई समाजमा धूर्त पन्छी पनि भनिन्छ। यो पन्छी ज्यादै जुक्ति लगाउने प्राणीको रूपमा पनि प्रसिद्ध छ। त्यसकारण हाम्रो बालकथा, नीतिकथामा कागका धेरै प्रसंग आउँछन्। त्यही भएर हाम्रा लोकगीत, उखानमा पनि कागको प्रसंग आएको हो।
नेपालका हिन्दू तथा बौद्ध समुदायले कागलाई समान महत्त्व दिएर पूजा गर्छन्। बौद्ध धर्मलाई विशेष प्राथमिकता दिने भूटानमा त यसलाई राष्ट्रिय पन्छीका रूपमा लिइएको छ। हाम्रै सोलुखुम्बुको नाम्चेबजारका स्थानीय समुदायले चलाउने तिब्बती संस्कृतिको नाचमा काग पनि एउटा चरित्र बनेको हुन्छ।
त्यस्तै, बिहान बिहान तीर्थाटन गर्ने जुन परम्परा छ, काग कराउनुभन्दा पहिले नै जानु भन्ने उखान छ। यति बजे, उति बजे भन्दा पनि काग कराउनु पहिले नै हिंड्ने भन्ने पुरानो चलन हो। हुन त कुखुराको भालेलाई घडी चरो भनिन्छ, काग पनि एक प्रकारले घडी चरो नै हो।
पहिले पहिले काग करायो भने घरमा पाहुना आउँछ भन्ने उखान थियो। नौलो वा नचिनेको मान्छे घरतिर आउँदा काग कराउने भएकाले यसो भनिएको हो।
कागको यो बानी त मेरो जीवनमा एउटा अविस्मरणीय क्षण बनेको छ। चुम उपत्यकाको एउटा उच्च टाकुरामा प्रसिद्ध बौद्ध गुम्बा छ। त्यसलाई ‘मु गुम्बा’ भनिन्छ। हामी त्यहाँ जाँदा बाटोभरि पूर्ण सन्नाटा थियो तर मु गुम्बा चढ्न उकालो लागेपछि धोद्रे स्वरका ठूल्ठूला निक्खर काला काग टाकुराबाट कराउन थाले।
गुम्बा नजिक पुग्दा चार-पाँच वटा काग कोही गुम्बाको गजुरमा, कोही ढोकैको प्रवेशद्वारमा, कोही टाउकै माथि उड्दै र कोही पछाडिबाट कराउँदै हामीलाई लखेट्दै थिए। गुम्बाका ढावा (पुरुष लामा) को सत्कार पाएपछि भने कागको त्यो कोलाहल शान्त हुन थाल्यो।
स्वास्थ्यका कारण म दुई-चार दिन त्यही गुम्बामा पाहुना लागें। केही दिन शान्तसँग बित्यो। अर्को दिन फेरि ती काग उसैगरी कराउन थाले। पछि थाहा भयो, तलबाट प्रहरी भाइहरू सोधपुछका लागि आएका रहेछन्। उनीहरू आइपुग्नुभन्दा दुई घन्टा पहिले नै हामीलाई कागबाट त्यो सूचना प्राप्त भइसकेको रहेछ। यो अनुभवबाट ‘काग कराएपछि पाहुना आउँछन्’ भन्ने हाम्रो मान्यतालाई एउटा विश्वासका रूपमा ग्रहण गर्ने आधार पाएँ।
कागसँगको अर्को प्रसंग भूकम्पको वेलाको छ। २०७२ वैशाख १२ को भूकम्पको वेला १०२ वर्ष पुगेकी मेरी आमालाई घरभित्र र बाहिर गर्दै भूकम्पका परकम्पहरू सामना गरियो। त्यसपछिका दिनमा प्रायः कागलाई नियाली बस्थ्यौं। तिनको कोलाहलसँगै हामी भयभीत पनि हुन्थ्यौं। भूकम्पका प्रारम्भिक तरंग विभिन्न पशुपन्छीले पहिले नै टिप्न सक्छन् भन्ने मान्यताका वैज्ञानिक आधार पनि खडा हुन थालेका छन्। त्यसैले हाम्रा परम्परागत मान्यतालाई राम्ररी परीक्षण नगरी त्यसै परित्याग गर्नु बुद्धिमानी हुँदैन।
ललितपुरको सानेपामा बस्न थालेपछि मैले गरेको अनुभव के हो भने कुनै नौलो कुरा देखेपछि काग कराइहाल्छ। जस्तोसुकै सानो सर्प बारीमा देख्यो भने पनि काग कराइहाल्छ। बिरालो आउँदा पनि काग कराउँछ। बाज आउँदा पनि कागले खेदेको खेद्यै गर्छ र कराउन थाल्छ।
जहाँ केही नौलो प्राणी देखिन्छ वा कुनै आपत् आउला कि जस्तो हुन्छ त्यो वेला काग कराउने गर्छ। कागको सबैभन्दा ठूलो गुण भनेकै मानिसलाई सचेत गराउने हो, चाहे त्यो भूकम्प आउँदा होस् वा कुनै प्राणी आउँदा।
आधुनिक जीवनशैलीसँगै मानिस यसै पनि प्रकृतिबाट टाढा हुँदै छ। हामीले प्रकृतिमा हेर्ने, सिक्न सक्ने धेरै कुरा छ, त्यसमा काग पनि एउटा हो।
(महेश्वर आचार्यसँगको संवादमा आधारित)
यो पनि: काठमाडौंमा किन मरिरहेका छन् काग?