आजबाट तिहार शुरू, पहिलो दिन कागको पूजा गरिंदै
हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने यमपञ्चक अर्थात् तिहार आजदेखि शुरू भएको छ।
कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान शुरू गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान गरिन्छ।
कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। यसैले शनिबारदेखि नै यमपञ्चक शुरू हुने समितिले जनाएको हो। “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरू गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो,” अध्यक्ष अधिकारीले भने।
यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ।
यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ। तिथिको घटबढका कारण आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ।
यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ। कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुरतिहार पर्व मनाइन्छ। बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए।
आइतबार बिहान अरुणोदयकालअघि अपामार्ग सहित स्नान गरिन्छ। यसलाई नरक स्नान भनिन्छ। यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनुनपर्ने शास्त्रीय मान्यता छ।
गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ। गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मंगलबार परेको छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि शुरू हुन्छ।
त्यस्तै, कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। यस दिन बिहान १०ः५१ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले बताए। मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुने समितिले जनाएको छ।
भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २९ गते नै गरिन्छ। बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ। -रासस