कसरी शुरू भयो किनमेल उत्सव ‘सिंगल्स डे’?
प्रेमिका नभएका चार युवाले ३० वर्षअघि चीनमा मनाएको ‘सिंगल्स डे’ अहिले अनलाइन किनमेल गर्ने दिनका रूपमा ‘११.११’ नामले संसारभर प्रख्यात बनेको छ।
३० वर्षअघि चीनको नान्चिङस्थित नान्चिङ विश्वविद्यालयका चार विद्यार्थीले उत्सव मनाउने निधो गरे। उत्सवको कारण थियो, प्रेमिका नभएको अर्थात् एक्लो हुनु। प्रेममा नपरेको आत्मगौरवमा उनीहरूले उत्सव मनाउन छानेको दिन अंग्रेजी ११औं महीनाको ११औं दिन थियो। ११ नोभेम्बर अर्थात्, चार वटा एक। ११११ एकल हुनुको प्रतीकात्मक अंक थियो।
एक्लाहरूमा समर्पित यसले ‘सिंगल्स डे’ को पहिचान पायो। एक्लाहरूको यो उत्सव नान्चिङ विश्वविद्यालय हुँदै अरू विश्वविद्यालयमा पनि फैलियो। एक्ला युवक मात्र होइन, प्रेमीविहीन युवतीमाझ पनि लोकप्रिय भयो। युगललाई प्रतिनिधित्व गर्ने १४ फेब्रअरी अर्थात् ‘भ्यालेन्टाइन डे’ को विपरीत दिवसका रूपमा दरिन पुग्यो।
सन् १९९३ मा शुरू गरिएको एक्लाहरूको दिवसले सन् २००९ पछि भने नयाँ स्वरूप ग्रहण गर्यो। अनलाइन कारोबारको प्लेटफर्मका रूपमा उदाउँदै गरेको अलिबाबाका प्रमुख कार्यकारी अधिकृत ड्यानियल चाङले ११ नोभेम्बरमा अनलाइन शपिङ गर्दा प्रशस्त छूट सहितका अफर सार्वजनिक गरे। प्रकारान्तरले ‘सिंगल्स डे’ किनमेलको महोत्सवमा परिवर्तन भयो। अहिले ११ नोभेम्बर संसारमै सर्वाधिक उपभोग्य सामान किनबेच हुने दिन बन्न पुगेको छ।
यो दिन उत्तरी छिमेकी चीनका अनलाइन किनमेल प्लेटफर्महरू टीमल, थाओपाओ, जेडी आदिमा छूट सहितको ठूलो मेला लाग्छ। ११ नोभेम्बरको २४ घण्टामा चीनको लोकप्रिय अनलाइन किनमेलको बजार अलिबाबामा मात्रै गत वर्ष ८४ अर्ब डलरभन्दा बढीको किनबेच भएको अनुमान छ। यो नेपालको अर्थतन्त्रको आकारका तुलनामा झन्डै दोब्बर रकम हो।
सन् २०२१ मा अलिबाबा र जेडी दुई प्रमुख अनलाइन शपिङ प्लेटफर्ममा मात्रै ‘सिंगल्स डे’ मा १३९ अर्ब डलरको कारोबार भएको तथ्यांक छ। अनलाइन हाटबजारले किनमेलको परम्परागत शैलीलाई फेरिदिएपछि चीनमा अनलाइन किनमेल अमेरिका र बेलायत जस्ता विकसित मुलुकभन्दा पनि निकै अघि बढिसकेको छ। अमेरिकामा क्रिसमस अघिको ‘ब्ल्याक फ्राइडे’ भन्दा पनि धेरै कारोबार चीनमा ११ नोभेम्बरको ‘सिंगल्स डे’ मा हुन्छ। यही दिन हुने किनबेचलाई आधार मानेर अर्थतन्त्रको स्थिति समेत अनुमान गर्न थालिएको छ।
चीनबाट शुरू भएको यो अनलाइन मेला अहिले संसारका कैयौं देशमा पुगिसकेको छ। विक्रेताका लागि बिक्री दिवस मानिने ११ नोभेम्बरको २४ घण्टामा संसारभरिका ठूला अनलाइन किनबेच हुने प्लेटफर्ममा अत्यधिक छूटमा उपभोग्य वस्तुको खरीदबिक्री हुन्छ।
चीन सहितका कैयौं मुलुकमा त छूटमा सामान खरीद गर्न उपभोक्ता कुरेर बसेका हुन्छन्। कतिसम्म भने ठूलो जनसंख्या भएको चीनमा किन्न चाहेको सामान सकिने डरमा ११ नोभेम्बर शुरू हुने बित्तिकै मध्यराति सामान किनिहाल्ने होडबाजी नै चल्छ। त्यसैले बिक्री खुलेको एकाध मिनेटमै अनलाइन प्लेटफर्मको कारोबार अर्बौं डलरमा पुग्छ।
पछिल्ला वर्षमा नेपाली उपभोक्तामाझ पनि ‘सिंगल्स डे’ लोकप्रिय बन्न थालेको छ। खासगरी पाँच वर्षअघि चिनियाँ बहुराष्ट्रिय ई-कमर्श समूह अलिबाबाले नेपाल सहित दक्षिणएशियामा अनलाइन व्यापार गरिरहेको दराज समूहको स्वामित्व किनेपछि ‘सिंगल्स डे’ उत्सव मनाउन थालिएको हो। चिनियाँ कन्ग्लोमेरेट अलिबाबा ग्रूप होल्डिङले २०७५ वैशाख २५ मा नेपाल सहित बाङ्लादेश, पाकिस्तान, श्रीलंकामा ई-कमर्श व्यवसाय गरिरहेको दराज समूहको सम्पूर्ण स्वामित्व खरीद गरेको थियो।
सन् २०१२ मा जर्मन भेन्चर क्यापिटल रकेट इन्टरनेट मार्फत स्थापित क्यामु अनलाइन प्लेटफर्मलाई मर्ज गरेर २०७४ सालमा ‘ब्रान्ड’ नाम दराज राखिएको थियो। यसैलाई अलिबाबाले किनेको हो।
अलिबाबाले दराजको स्वामित्व किनेपछि नेपालमा किनमेलको परम्परागत शैलीमा ठूलो परिवर्तन आएको छ। अहिले दराज मात्रै होइन, सस्तो डील लगायत कैयौं अनलाइन प्लेटफर्ममा हजारौं सामान प्रतिस्पर्धी मूल्यमा उपलब्ध छन्। सामान खोज्दै पसल पसल चहार्नुपर्ने बाध्यता हटेको छ। दराजले आफ्नो कारोबार विवरण सार्वजनिक नगरे पनि यसको कारोबार दैनिक सरदरमा दुई करोड ५० लाख रुपैयाँ हाराहारी हुने दराज सम्बद्ध एक स्रोतले जानकारी दियो।
यस वर्ष पनि ‘सिंगल्स डे’ मा नेपालको प्रमुख अनलाइन शपिङ प्लेटफर्म दराजले कैयौं सामानको बिक्रीमा ८० प्रतिशतसम्म छूट दिने घोषणा गरेको छ। यद्यपि कतिपय उपभोक्ताले यस्तो छूट वास्तविक नहुने र बढाइएको मूल्यमा छूटको अफर राखिने शंका गर्दै आएका छन्।
पछिल्ला वर्षमा नेपालमा अनलाइन शपिङ युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको छ। यसले गर्दा नगदरहित डिजिटल कारोबार पनि बढ्दो छ। नेपाल राष्ट्र ब्यांकका अनुसार कोभिड-१९ शुरू भएयता डिजिटल कारोबार कैयौं गुणाले बढेको छ।
नेपालमा दुई दशकअघि सन् २००० तिर अनलाइन व्यापारको प्रयास शुरू भएको थियो। इन्टरनेट पूर्वाधारको विकास, इन्टरनेट प्रयोगकर्ताको बढ्दो संख्या, कुल जनसंख्यामा युवाको बाहुल्य र अनलाइन खरीददारीमा युवाको रुचिका कारण पछिल्ला वर्षमा नेपालमा पनि ई-कमर्शको विस्तारमा सघाउ पुगेको हो।
अहिले मोबाइल ब्यांकिङबाट मात्रै महीनाको तीन करोड ४५ लाख वटा कारोबार हुने गरेको छ। कारोबार रकम पनि उसैगरी फस्टाएको छ। अहिले मोबाइल ब्यांकिङ मार्फत एक दिनमै सरदर आठ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ। मोबाइल वालेटबाट पनि दैनिक ७० करोड रुपैयाँभन्दा बढी कारोबार हुने गरेको राष्ट्र ब्यांकको तथ्यांक छ।