धर्मनिरपेक्षताको विरोधमा बोले कांग्रेस सभापति देउवा
प्रधानमन्त्री पुष्पकमल दाहालले ‘परिवर्तन पक्षधर’ दलहरूको भनेर बोलाएको बैठकमा सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवाले धर्मनिरपेक्षताको विरोध गरेको खुलेको छ।
१५३ जनाको ज्यान लिएको जाजरकोट भूकम्पको चार दिनपछि कात्तिक २१ गते प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका थिए। बैठकको प्राथमिकतामा घाइतेको उद्धार, उपचार, राहत वा पुनर्निर्माणभन्दा पनि अरूमै केन्द्रित बनेको थियो। नेताहरूले ठोस अजेन्डा विनै आफ्ना धारणा राखेका थिए।
त्यही क्रममा कांग्रेसका सभापति देउवाले भने धर्मनिरपेक्षताको खुलेर विरोध गरेको बैठकमा सहभागी एक नेताले बताए। ती नेताले देउवाको भनाइको सार यसरी सुनाए, “देउवाजीले ८० प्रतिशत हिन्दू भएको देशलाई धर्मनिरपेक्ष बनाउँदा असन्तुष्टि बढेकाले हिन्दू राष्ट्र बनाउनुपर्नेमा जोड दिनुभयो। आफ्नो पार्टीले हिन्दू राष्ट्रको पक्षमा निर्णय गर्न सक्ने उहाँको संकेत थियो। यद्यपि बैठक चलिरहेको मितिसम्म आफू संविधानको पक्षमै रहेको उहाँको धारणा थियो।”
कांग्रेस सभापति देउवाले यसअघि सार्वजनिक रूपमा धर्मनिरपेक्षताको विरोध गरेको सुनिएको थिएन। “सार्वजनिक रूपमा सभापतिज्यूले धर्मनिरपेक्षताको विरोध र एउटा धर्मको पक्ष लिनु भएको पहिलो पटक त्यही सुनें,” बैठकमा सहभागी कांग्रेसका एक नेताले हिमालखबरसँग भने।
यसअघि कांग्रेस नेताहरूले चलाएको धर्मनिरपेक्षता विरोधी अभियान, केन्द्रीय समितिमा उठेका आवाज र महासमिति बैठकका वेला संकलित हस्ताक्षरलाई देउवाले औपचारिक अजेन्डाका रूपमा स्विकारेका थिएनन्।
मन्त्री समेत रहेका कांग्रेसका एक जना नेता सभापति देउवाले भारतको दबाबमा यस्तो प्रस्ताव राखेको हुन सक्ने बताउँछन्। “उहाँले दक्षिणी छिमेकको प्रलोभनमा परेर त्यस्तो बोल्नुभएको हुन सक्छ,” नाम उल्लेख गर्न नचाहने उनी भन्छन्, “हाम्रो सभापतिज्यू धर्मसापेक्षतामा विश्वास गर्नुहुन्छ जस्तो फिटिक्कै लाग्दैन तर आफ्नो स्वार्थ पूरा गर्न कुन हदसम्म जानुहुँदो रहेछ भन्ने चाहिं देखियो।”