विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा
फिफा विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फूटबल टोली घोषणा गरिएको छ।
अखिल नेपाल फूटबल संघ (एन्फा)ले शुक्रबार नेपाली टोली घोषणा गरेको हो। प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ खेलाडी छनोट गरेका हुन्।
नेपाली टोलीमा किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आकाश चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगश गुरुङ छन्।
त्यस्तै, लाकेन लिम्बू, उत्सव राई, कृतीशरत्न छुन्जू, मनीष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल, अन्जन विष्ट, आयुष घलान, जिलेस्पीजङ कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियार राष्ट्रिय टोलीमा समेटिएका छन्।
अन्जन तामाङ भने यूएईसँगको खेलका लागि टोलीमा परेका छैनन्। उनी घाइते भएकाले टोलीमा नपरेको एन्फाले जनाएको छ।
नेपालले दोस्रो चरणको छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा कात्तिक ३० गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल यूएईमा हुनेछ।
त्यस्तै, नेपालले मंसीर ५ गते यमनसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ।