रेमिटेन्स भित्रिने दर बढ्यो, अर्थतन्त्रको बाह्य पक्ष बलियो
वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिटेन्स असोजमा उच्च दरमा बढेको छ।
नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजसम्म रेमिटेन्स ३० प्रतिशतले बढेर तीन खर्ब ६५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा रेमिटेन्स १६.८ प्रतिशतले मात्रै बढेको थियो।
अमेरिकी डलरमा पनि रेमिटेन्स करीब २६ प्रतिशतले बढेको छ। रेमिटेन्सको तीव्र वृद्धिले देशको विदेशी मुद्राको सञ्चिति, भुक्तानी सन्तुलन र चालू खातालाई बचतमा राख्न महत्त्वपूर्ण योगदान दिएको छ।
राष्ट्र ब्यांकका अनुसार असोजसम्म देशको विदेशी मुद्राको सञ्चिति १२ अर्ब ३३ करोड अमेरिकी डलर पुगेको छ। गत असार मसान्तमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ७१ करोड डलर थियो। विदेशी मुद्राको सञ्चिति बढ्नु देशको अर्थतन्त्रको सबलताको एउटा मानक हो।
रेमिटेन्सको वृद्धिका कारण देश भित्रिने र बाहिरिने रकमबीचको अन्तर शोधनान्तर स्थिति पनि ९९ अर्ब सात करोड रुपैयाँले बचतमा पुगेको छ। गत वर्षको यही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो।
असोजसम्म चालू खाता पनि ५९ अर्ब अर्ब नौ करोड रुपैयाँले बचतमा छ। यसले देशको बाह्य अर्थतन्त्र सबल अवस्थामा रहेको देखाउँछ।
यद्यपि असोजसम्म निर्यात २.३ प्रतिशतले खुम्चिएर ४० अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको छ। यो अवधिमा नेपालले आयात गर्ने सामान पनि १.७ प्रतिशतले घटेर चार खर्ब सात अर्ब रुपैयाँमा सीमित भएको छ।