भूकम्पमा घाइते नगर प्रहरीको मृत्यु
जाजरकोट भूकम्पमा घाइते भएका रुकुम पश्चिमका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
एक साताअघि गएको भूकम्पमा परी रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कार्यरत नगर प्रहरी २३ वर्षीय निरोज विष्ट घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए।
चौरजहारी नगरपालिका–१ का विष्टको सुर्खेतको कालागाउँस्थित प्रादेशिक अस्पतालमा उपचार चलिरहेको थियो। उपचारका क्रममा आज बिहान ९ बजे उनको मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए।
योसँगै भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ५३ पुगेको छ। त्यस्तै, जाजरकोटमा १०१ जनाको मृत्यु भएको थियो।
दुवै जिल्लामा ३७१ जना घाइते छन्। सुर्खेत, नेपालगन्ज, काठमाडौं, जाजरकोट र रुकुम पश्चिममा उनीहरूको उपचार चलिरहेको छ।
यही कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पले जनधनमा ठूलो क्षति पुगेको छ।