अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख
मुगुको छायाँनाथ रारा नगरपालिकाले अन्तरजातीय विवाह गरेको एक जोडीलाई प्रोत्साहनस्वरूप रु. एक लाख उपलब्ध गराएको छ।
छायाँनाथ रारा-१०, चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका-४, लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले गत माघमा अन्तरजातीय विवाह गरेका थिए। अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले उक्त जोडीलाई रकम उपलब्ध गराएको हो।
छायाँनाथ रारा नगरपालिकाले १२औं नगरसभाबाट आर्थिक वर्ष २०७९/८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो।
“यस्तो प्रोत्साहनले समाजमा जातीय विभेद कम गर्न सहयोग पुर्याउँछ,” नगरप्रमुख विष्णुकुमार भामले भने, “यस्तो कार्यक्रम देशका अन्य स्थानीय तहले पनि ल्याउन जरुरी छ।”