जाजरकोटबाट फर्केपछि प्रधानमन्त्रीलाई रिपोर्टरको पत्र
तपाईं भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएको साँचो हो। तर त्यहाँका पीडित जनताले तपाईंको उपस्थितिको कुनै बोध गरेका छैनन्। दुःख पर्दा राज्यले दिनुपर्ने न्यूनतम आडभरोसा पनि पाएका छैनन्।
प्रिय प्रधानमन्त्रीज्यू,
भर्खरै मात्र म जाजरकोट भूकम्पको इपिसेन्टरबाट फर्किएको छु। भूकम्पका कारण परिवार, आफन्तजन र घरवास गुमाएका सर्वसाधारणको आँसु र क्रन्दनको साक्षी बन्नु पक्कै पनि कसैको रहर हुँदैन। जाजरकोटबाट काठमाडौं आइसक्दा पनि कानमा सिंगो गाउँको करुण क्रन्दन गुन्जिरहेछ। सँगै मनभरि तपाईंको नेतृत्वमा रहेको सरकारको भूमिकाले आक्रोश सिर्जना गरिरहेछ। थुप्रै प्रश्न छन् तपाईंसँग सोध्नुपर्ने। थुप्रै आक्रोश छन्, भूकम्पपीडित गाउँलेका तपाईं समक्ष पुर्याउनुपर्ने।
तीभन्दा पहिला म केही दृश्य वर्णन गर्छु। सुरक्षाकर्मी, कर्मचारी र समर्थकको भीडमा घेरिएकाले तपाईंले ती दृश्य नदेख्नुभएको पनि हुन सक्छ।
कात्तिक १९ गते साँझपख नलगाड नगरपालिका-१, चिउरीका बाँचे जतिका बासिन्दा भेरी नदीको किनारमा भेला भएका थिए। आफ्ना परिवारजन, आफन्त र छिमेकीको मलामी आएका महिला र केटाकेटी चिच्याई चिच्च्याई रोएको आवाजले जोकोहीलाई बिथोल्थ्यो। यस्तो लाग्थ्यो, सधैं सुसाउने भेरीको सुसाहटमा नै चर्को क्रन्दन थियो।
यो भूकम्पले चिउरी गाउँका कतिपय ससाना बालबालिका टुहराटुहुरी भए। २०-२२ वर्षका महिला एकल भए। कतिपय ज्येष्ठ नागरिकले बुढेसकालको सहारा गुमाए।
तिनैमध्ये थिइन्, आठ वर्षीय प्रेमकली विक। टाउको, हात र जिउभरि चोट लागेकाले उनको बिहान मात्रै होश आएको थियो। होशमा आउँदा उनका बुबा, आमा र दाइलाई भत्किएको घर अगाडि लस्करै राखिएको थियो। कात्तिक १७ गते राति सँगै सुतेका उनका १२ र १४ वर्षका दाइहरू पुरिएकै अवस्थामा बिते। आमा र बुबाको पनि घरभित्रै प्राण गयो। प्रेमकलीलाई पनि उनका छिमेकीले पुरिएकै अवस्थामा उद्धार गरेका थिए।
प्रधानमन्त्रीको शक्तिसम्पन्न कुर्सीबाट एकै निमेषका लागि ओर्लिएर आममानिस भएर कल्पना मात्रै गर्नुस् त, ती आठ वर्षीया प्रेमकलीले त्यो दृश्य कसरी हेरिन् होला? त्यति वेला उनको मनमा गएको भूकम्प कति म्याग्निच्यूडको थियो? के त्यो नाप्ने यन्त्र यो दुनियाँमा कतै छ?
प्रधानमन्त्रीज्यू,
म त्यति वेला त्यहीं थिएँ। ठीक मेरै अगाडि ती सानी बालिका एकोहोरो रोइरहेकी थिइन्। म उनको त्यो रोदन हेरिबस्न लाचार थिएँ। जब जब एक्लै हुन्छु, ती बालिकाको अनुहार आँखामा आउँछ।
चिउरी गाउँमा प्रेमकली रोइरहँदा तल भेरी किनारमा मलामी पनि रोइरहेका थिए। चितामा जलाउन ठिक्क परेका लासहरूमा महिला झ्याम्मिएर रोइरहेका थिए। उनीहरूलाई सम्हाल्न गाह्रो भइरहेको थियो।
गाउँ शोकमा मात्रै होइन, अभावमा पनि डुबेको छ। मलामी आएका गाउँलेहरू साँझ घर फर्केर कहाँ सुत्ने र के खाने भन्ने दोधारमा थिए। सडकबाट माथि थुम्कामा भएको चिउरी गाउँमा कात्तिकको शीत छेक्ने पाल र ओढ्ने-ओछ्याउने न्यानो ब्ल्यांकेट र पेट भर्ने अन्न पुगिसकेको थिएन। त्यसैले मलामी कुरेर बसेका गाउँका महिलाहरू रात कटाउन पराल ओछ्याइरहेका थिए। कोही कोही भने भग्न घरबाट निकाल्न सकेको तन्ना टाँगिरहेका थिए।
लोकतान्त्रिक राज्यमा नागरिकको संरक्षक नै राज्य हुन्छ भनिन्छ। हाम्रो त अझै समाजवाद-उन्मुख संघीय गणतन्त्र पो त! तर प्रधानमन्त्रीज्यू, चिउरी गाउँका नागरिकले अकल्पनीय त्रासदीको बखत राज्य आफूसँग छ भन्ने अनुभूत नै गर्न पाएनन्।
मानिस असहाय भएपछि याचक बन्दो रहेछ। चिउरी गाउँका मानिस हरेक नयाँ अनुहारलाई आफ्नो क्षतिको विवरण टिपाइरहेका थिए। उनीहरू राहत मात्र खोजिरहेका थिएनन्, आफ्नो आहत मन पनि बाँड्न चाहन्थे। आफूलाई परेको पीडा सुनाउन चाहन्थे।
चिउरी गाउँ जस्तै भेरी नगरपालिका-१, रावत गाउँ पनि शोकमा थियो। चिउरी गाउँभन्दा तुलनात्मक रूपमा सुगम भए पनि त्यहाँका नागरिकले पनि राज्य पुगेको अनुभूति गरेका थिएनन्। केही संघसंस्थाले राहत पुर्याएका त थिए तर त्यो पर्याप्त थिएन। राहत लानेहरूले स्थानीय जनप्रतिनिधिलाई राहत वितरणको संयोजन गर्ने जिम्मा दिएका थिए तर त्यसमा राजनीति भइरहेको आरोप थियो। स्थानीय जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्धलाई मात्र राहत उपलब्ध गराएको दुखेसो प्रशस्तै सुनियो।
सबै थोक गुमाएको क्षण त आफ्नै लागि पनि झगडा गर्ने जाँगर नहुँदो रहेछ। त्यसैले रावत गाउँमा राहत नपाएका पीडित राज्यले केही दिए लिने नत्र लुछाचुँडी नगर्ने मनसायमा बसेको भेटियो। भोको पेट खुला आकाशमुनि चिसो रात काट्न विवश भए उनीहरू।
रावत गाउँमा एकै घरमा ६ जना पुरिएका थिए। उनीहरूलाई मृत अवस्थामा निकालिएको थियो। जसमा एकै परिवार दिदीबहिनीका दुई-दुई सन्तान परे।
हामी पुग्दा उर्मिला रावत एकोहोरो टोलाएर बसिरहेकी थिइन्। उनका दुई छोरा तिलक (नौ वर्ष) र रावत (दुई वर्ष)ले भूकम्पमा ज्यान गुमाए। १३ वर्षकी छोरी समीक्षा मात्र बाँच्न सफल भइन्।
उर्मिलाका श्रीमान् पूर्णबहादुर भने दुबईमा थिए। कम्पनीले आफ्नै खर्चमा जाने भए जाऊ भनेपछि उनी आउन सकेका थिएनन्। आफ्ना श्रीमान्लाई कसैले झिकाइदियोस् र शोकको वेला सँगै रुन पाइयोस् भन्ने उनको चाहना थियो। तर कसलाई भन्ने उनलाई थाहा थिएन।
उनका श्रीमान् नौ महीनाअघि झाडुपोछा लगाउने काममा दलाललाई पाँच लाख बुझाएर दुबई गएका थिए। गएको ऋण तिरिसकेका थिएनन्। राहदानी फिर्ता माग्दा कम्पनीले दुई हजार दिराम (दुबईको पैसा) मागेको उनले बताइन्। ऋण तिरिनसकेका उनीसँग नेपाल फर्किने टिकट र पासपोर्टका लागि तिर्ने खर्च हुने त सम्भावनै भएन। सोही कारण दुई सन्तान गुमाएका पूर्णबहादुर दुबईमा बिरक्तिएर बसेका छन्। यता उर्मिला भने गाउँमा पुग्ने हरेक नयाँ मानिससँग आफ्ना श्रीमान् झिकाइदिन रोइकराइ गरिरहेकी छन्।
उर्मिलाले मलाई पनि दुबईमा रहेको श्रीमान्सँग फोनमा कुरा गराइन्। परिचय दिनासाथ पूर्णबहादुरले डाको छाडेर रुँदै ‘मलाई नेपाल फर्काउन सहयोग गर्नुस् सर’ भन्न थाले।
सात समुद्रपारि दुवै सन्तान गुमाएको खबर पाउँदा पनि घर फर्किने उपाय फेला नपारेका ती पितालाई कस्तो भइरहेको होला! के हाम्रो राज्य यति धेरै कमजोर छ, जसले एउटा शोकाकुल पितालाई उसका सन्तानको अन्तिम बिदाइका लागि पनि ल्याउन नसकोस्?
उर्मिला र उर्मिला जस्ताहरूले आफ्नो दुःख सजिलै सुनाउन सक्ने राज्यसंयन्त्र किन अहिलेसम्म पनि बनेको छैन?
उर्मिलाका छिमेकी ७० वर्षीया खिमी रावत र उनका छोरा ३५ वर्षका कालीबहादुर रावतले पनि ज्यान गुमाए। खिउरी रावतका छोरीज्वाइँ त्यही घरमा आश्रय लिएर बसेका थिए। गम्भीर घाइते उनीहरू दुवैलाई नेपालगन्ज लगिएको चार दिन भयो। उनीहरूको तीन वर्षको छोरा पनि सँगै पुरिएका थिए। गम्भीर चोट नलागेका उनी गाउँमै छन्।
छिमेकीको सहारामा बसेका ती तीन वर्षीय बालक भुइँमा राख्यो कि चिच्याई चिच्याई रुन्छन्। भूकम्प गएदेखि उनको रुवाइ रोकिएको छैन। निदाएको वेला बाहेक अरू समय रोइरहने ती बालकले आमाबुबाको काख खोजिरहेका थिए।
अधिकांश घर भत्किएका रावत गाउँका सबै मानिसको कथा उस्तै छ। मानवीय क्षति नभएकाहरूको घर पनि पुरिएकाले उनीहरूलाई छिटोभन्दा छिटो शीत छेक्ने पाल, न्यानो कपडा र खाद्यान्नको आवश्यकता छ। तर कात्तिक २२ गते त्यहाँबाट हिंड्दासम्म पनि राहत पुगिसकेको थिएन। सदरमुकाममा थुप्रिएको राहत सामग्री त्यहाँसम्म वितरण गर्न रोक्ने एउटै चिज थियो- एकद्वार प्रणाली अपनाउने सरकारले गरेको निर्णय।
प्रधानमन्त्रीज्यू, विपद्को वेला त सकेसम्म छिटो राहत पुर्याउने निर्णय गरिनुपर्ने होइन र?
रावत गाउँको छिमेकी कोलचौर गाउँ पनि शोकमा छ। त्यस गाउँकी हस्ती कामीका बुहारी र नातिनातिना गरी ६ जनाको ज्यान गएको थियो। आफ्नै घरभित्र पुरिएर ज्यान गुमाएका उनीहरूको शव पोस्टमार्टम गर्न जाजरकोट सदरमुकामस्थित जिल्ला अस्पताल लगिएको थियो।
ज्यान गुमाएका ६ जनाकै कात्तिक १८ मा पोस्टमार्टम गरिएको थियो तर शव घरमा ल्याइएको थिएन। किनकि शवलाई दागबत्ती दिने नजिकको नातेदार कोही गाउँमा थिएन। हस्तीका छोरा उदय कामी परदेश मलेशियामा थिए। उदय नफर्किंदासम्म दाहसंस्कार नहुने भएपछि शव पनि गाउँ ल्याइएका थिएनन्।
उदयकी ३० वर्षीया श्रीमती जानुका, १३ वर्षीया शर्मिला र नौ वर्षीया छोरी अञ्जली र चार वर्षीय छोरा उज्ज्वल घरभित्रै पुरिएका थिए। उनीहरूलाई माटोभित्रबाट निकाल्दा सास बाँकी थिएन। उनका दुई भान्जाभान्जी पनि सोही घरमै पुरिएका थिए।
वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका उदय कात्तिक २१ गते गाउँ पुग्ने खबर आएपछि गाउँलेले अस्पतालबाट शव ल्याउने तयारी गरेका थिए। उदय आउने बित्तिकै दाहसंस्कार गर्ने तयारी भइरहेकाले गाउँले बेचैन देखिन्थे। तीन दिनदेखि अस्पतालमा शव रोकिएकाले पनि उनीहरूको छटपटी बढिरहेको थियो।
नभन्दै सोही दिन १ बजे पाँच वटा पार्थिव शरीर हस्ती कामीको आँगनमा ल्याइयो। जसै शव आइपुगे, क्रन्दनको ज्वालामुखी नै फुट्यो। गाउँलेहरू चिच्याई चिच्याई रुन थाले।
हस्तीकी छोरीतर्फकी नातिनीको शव भने उनकी आमा कुवेतमा भएकाले ल्याइएको थिएन। आमा कुवेत र बुबा भारतमा रोजगारीका लागि गएकाले ती बालिका मावलीमै बस्ने गर्थिन्।
शव ल्याइएको केही छिनमा उदय पनि आइपुगे। आँगनमा भेला भएका गाउँलेका बीचमा राखिएका श्रीमती र छोराछोरीका शव देख्दा उनको बोली नै बन्द भयो। नजिकै घुँडा टेकेर बसे। न रुन सके न त आँसु झार्न।
टोलाइरहेकै वेला एक आफन्तले भने, “छोराछोरीको अनुहार हेर।”
उदयले एक वाक्य बोले, “किन हेर्नु, के बाँकी छ र हेर्नलाई?”
श्रीमती र छोराछोरीको अन्तिम संस्कार गर्न मलेशियाबाट पुगेका उदयको मुखबाट निस्किएको पहिलो बोली थियो।
त्यही वेला अर्का आफन्तले चारवर्षे छोराको अनुहारमा बेरिएको कपडा निकालिदिए। त्यसपछि भने उदयले आफूलाई सम्हाल्न सकेनन्। डाँको छोडेर रोए, “हे भगवान्! मलाई किन यस्तो गर्यौ?”
उनी एकोहोरो रोइरहे। रुँदै भनिरहेका थिए, “जसका लागि कमाउन गएको थिएँ, उनीहरू नै यस्तो भएपछि म किन बाँच्नू!”
केही बेरपछि गाउँलेले उनलाई सम्हालेर अबीरको टीका लगाइदिन अह्राए। उनले सानो छोराको निधारमा टीका लगाए। श्रीमती र छोरीहरूलाई टीका लगाउँदा उनका हात काँपिरहेका थिए।
आँगनमा शव राखुन्जेल रुवाबासी नरोकिने देखेपछि गाउँलेले घाटतिर लगे। केही बेरमै शव बोकेर गाउँ नै मलामी बन्यो।
उदयको परिवारको वियोगमा सिंगो गाउँ नै रोइरहेको थियो। प्रधानमन्त्रीज्यू, पक्कै पनि तपाईंले त्यो क्रन्दन सुन्नुभएन।
जाजरकोटका केही युवा रोजगारीका लागि खाडी मुलुक गए पनि धेरैजसो भारत जाँदा रहेछन्। भारत नगए अधिकांश परिवारलाई हातमुख जोर्न धौधौ पर्ने रहेछ। धेरै युवा भारत कमाउन गएकाले पनि गाउँमा महिला बालबालिका र ज्येष्ठ नागरिकको बाहुल्य थियो। सोही कारण भूकम्पमा परी मर्ने महिला र बालबालिका धेरै थिए। अधिकांश गाउँमा भूकम्पमा पुरिएकालाई उद्धार गर्ने युवाको अभाव देखियो। महिला र केटाकेटी मात्र भएका घरमा समयमै उद्धार हुन नसकेर धेरै मानिसलाई बचाउन सकिएन।
प्रधानमन्त्रीज्यू,
यो सिंगो विपद्को दोष थोपर्न मैले यी दृश्य वर्णन गरेको होइन। भूकम्प प्राकृतिक प्रकोप हो, यो सामान्य सत्य जोकोहीलाइ थाहा छ। तर यी पीडाका गाथा कहनुका केही कारण छन्।
जाजरकोटका भूकम्पपीडितको आँसु, क्रन्दन र बाँच्नका लागि गरिरहेको संघर्षको म विवश र लाचार साक्षी बनिरहेको थिएँ। त्यति नै वेला देशका सबै स्रोत र शक्ति परिचालन गर्ने अधिकारप्राप्त तपाईं भने बालुवाटारमा अहिलेको व्यवस्था खतरामा परेको भन्दै गम्भीर विमर्शमा हुनुहुन्थ्यो।
देशका प्रमुख दलका नेताहरू समेत तपाईंको एउटै चासो थियो, गणतन्त्र कसरी जोगाउने? ठीक त्यति नै वेला जति वेला रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितका मनमा अनेकौं प्रश्नको हुन्डरी मच्चिरहेको थियो- अब टाउको कहाँ लुकाउने? बाँकी जिन्दगी कसरी चलाउने? सहारा खोज्न कहाँ जाने?
तपाईंले सत्ता राज गरिरहेको गणतान्त्रिक व्यवस्था खतरामा छ/छैन, मलाई थाहा छैन। कुनै पनि व्यवस्था त्यसका विरोधीका कारणले भन्दा बढी त्यसका सञ्चालकका कारणले खतरामा पर्छ, इतिहासका किताबले मलाई यस्तै सिकाएका छन्। राणा शासकहरूको क्रूर, जहानियाँ र राज्यदोहनकारी शासनकै कारण राणाशासन खतरामा परेको थियो। अधिनायकवादी र निरंकुश शासन नगरेको भए पञ्चायत पनि खतरामा पर्दैनथ्यो होला। ज्ञानेन्द्रले शासन हातमा लिने गल्ती नगरेको भए राजसंस्था खतरामा पर्दैनथ्यो होला।
एकातिर, तपाईं व्यवस्थाको पीरमा रुमल्लिनुभएको छ, अर्कातर्फ, तपाईंकै पार्टीका नेता एवं रुकुम पश्चिमबाट निर्वाचित सांसद जनार्दन शर्मा राहतमा पनि राजनीति खेलिरहेका छन्। आवश्यकताको पहिलो पंक्तिमा रहेका पीडितलाई पुर्याउनुपर्ने राहत आफ्ना आसेपासे र समर्थकलाई पुर्याएर उनले शक्तिको विद्रूप प्रदर्शन गरेका छन्। आफ्नै दलका उपमहासचिवले आहत जनताको घाउमा नुनचुक छर्किरहँदा तपाईं किन लाचार हुनुहुन्छ?
हो, तपाईं भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएको साँचो हो। तर त्यहाँका पीडित जनताले तपाईंको उपस्थितिको कुनै बोध गरेका छैनन्। दुःख पर्दा राज्यले दिनुपर्ने न्यूनतम आडभरोसा पनि तिनले पाएका छैनन्।
शक्ति संयन्त्रको दुरुपयोग गर्ने तपाईंका उपमहासचिव जस्ता निर्दयी र पक्षपाती नेतालाई कारबाही र पीडितजनलाई राज्यको उपस्थितिबोध गराउन साँच्चै ढिलो भइसकेको छ प्रधानमन्त्रीज्यू! अब पनि ढिलो गरियो भने व्यवस्था साँच्चै नै खतरामा पर्न के बेर!