विराटनगरको बिग अस्पताल सिल
सरकारबाट अनुमति नलिई सञ्चालनमा रहेको विराटनगरको बिग अस्पताल सिल गरिएको छ।
विराटनगर-७ स्थित बिग अस्पतालमा रहेका बिरामीलाई सरकारी अस्पतालमा सार्न निर्देशन दिंदै सरकारी टोलीले पाँच वटा विभागमा सिल गरेको हो। विराटनगर महानगर, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त टोलीले बहिरंग विभाग, आपत्कालीन कक्ष, ल्याब, प्रशासन र काउन्टर सिल गरेको छ।
बिग अस्पतालमा उपचाररत १७ जना बिरामीलाई सरकारी अस्पतालमा सार्न निर्देशन दिइएको छ। महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीका अनुसार इजाजत नलिई सञ्चालनमा रहेकाले बिग अस्पताललाई गत वैशाखमा चेतावनी दिइएको थियो। त्यति वेला १२ वटा मापदण्ड पूरा गर्न निर्देशन दिएको भए पनि अहिलेसम्म पालना नगरेको अलीले बताए। अस्पताललाई ४८ घण्टाभित्र प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।
यसैबीच सरकारी अनुगमन टोलीसँगै गएका सञ्चारकर्मीलाई दुर्व्यवहार गर्ने अस्पतालका कर्मचारी रोशनकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यादवले सञ्चार उपकरण खोस्ने प्रयास गर्दै पत्रकारलाई अस्पताल बाहिर निकाल्न खोजेका थिए।
यसैबीच नेपाल पत्रकार महासंघ, प्रेस युनियन लगायत संघसंस्थाले दोषीलाई कारबाहीको माग गरेका छन्। पक्राउ परेका यादवलाई अभद्र व्यवहारमा मुद्दा चलाइने मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले बताए।
विराटनगरमा प्रदेशकै ठूलो सरकारी अस्पताल कोशी लगायत दर्जनभन्दा बढी निजी अस्पताल छन्। केही दर्ता नरहेको र अजेन्टले बिरामी ल्याएकै भरमा मात्रै चलेका छन्। त्यस्तै, दुई दर्जनभन्दा बढी क्लिनिक छन्। महानगरका स्वास्थ्य प्रमुख अलीले इजाजत नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाबारे सूचना लिने काम भइरहेको बताए।