माछाका मायालु ‘शिकारी’
शिकारीको परिचय र पहिचान बनाएका पोखराका सीबीबी माछा मार्ने र मार्न सिकाउने मात्रै गर्दैनन्, स्थानीय प्रजातिका माछा जोगाउने काममा पनि तल्लीन छन्।
गुलेली बोकेर पोखरा लेकसाइडतिर एउटा केटा डुलिहिंड्थे। चराको शिकार गर्न माहिर थिए। त्यसैले आफन्तले नामै राखिदिए शिकारी।
त्यसयता सबैले शिकारी भन्न थाले। शिकारी नामले नै चिनिए। नामसँगै चिनारी पनि शिकारी नै बन्यो।
कसैले चेतबहादुर भुजेल भनेर बोलायो भने अलमलमा पर्छन्, झुक्किन्छन्। दैनिक जीवनमा शिकारी नामले नै बोलाउने र चिनिने बानी परेका उनको असली नाम चेतबहादुर भुजेल हो। स्कूल पढ्ने वेला त उनी छोटकरीमा सीबीबी भन्न रुचाउँथे।
शिकारी नाम पाएको साढे तीन दशक बित्यो। अहिले भने न आफैंलाई मन पर्ने सीबीबी नाम रह्यो न त चेतबहादुर भुजेल।
सीबीबीको बल्छी
पोखराको बङ्लादीमा सीबीबी गेस्ट हाउस छ। त्यो कुनै वेला शिकारीले नै खोलेका थिए। आफूले मन पराउने नाम दिएका थिए सीबीबी। अहिले गेस्ट हाउस अरूलाई चलाउन दिएका छन्।
परिवार सहित लेकसाइड नजिकै बस्छन्। त्यही गेस्ट हाउसकै एउटा कोठामा खोलेका छन्, बल्छी पसल।
पाँच वर्षदेखि चलाइरहेको बल्छी पसलमा पनि ग्राहकको कमी हुँदैन। माछा मार्न आवश्यक सरसामान राखेका छन्। पसलको मुख्य आकर्षण भने भित्तामा राखिएका तस्वीर हुन्। जसलाई सानो पसलभित्र भित्ताभरि फ्रेममा चिट्टिक्क सजाएर राखेका छन्।
फ्रेममा छन् उनै ४३ वर्षीय चेतबहादुर भुजेलका माछा समातेका तस्वीरका कोलाज। पसलमा पुग्ने जोकोहीलाई उनी तिनै तस्वीर देखाउँछन् र भन्छन्, “यो माथि खोलामा समाएको १३ किलोको माछा, यो कालीगण्डकीमा समाएको, यो हर्पन खोलामा समाएको माछा।”
त्यसपछि अलि जोड दिएर भन्छन्, “यो ब्यांककमा समाएको माछा, म फर्स्ट भएर आएको थिएँ।”
कोभिड-१९ अघि चिनेका साथीको माध्यमबाट माछा मार्ने प्रतियोगितामा भाग लिन थाइल्यान्ड पुगेका थिए। सबैभन्दा ठूला माछा समातेर उनी पहिलो भएका थिए। “अरूको ६-७ किलो माछा पर्दा मेरो बल्छीमा साढे १८ किलोको माछा पर्यो,” उनी सुनाउँछन्। माछा निकाल्न मात्र एक घण्टा लागेको थियो। प्रतियोगितामा पहिलो भए बापत एक रात निःशुल्क ब्यांककमा बस्नखान पाएका थिए।
उनले शोखका रूपमा माछा मार्न थालेको पनि २० वर्षभन्दा बढी भइसकेको छ। कहिलेकाहीं रातैभर पनि माछा मारेरै हिंड्छन् खोलामा। पोखरा र आसपासमा उनी नपुगेको खोला कमै होलान्। माछा मार्न खोला चहार्छन्। “मेरो भाग्य हो कि के हो, आजसम्म बल्छी हानेपछि खाली हात फर्किएको छैन। सानो होस्, ठूलो होस्, माछा सधैं परेकै छ,” उनी भन्छन्।
उनी आफूलाई खोज्दै पसलमा पुग्नेहरूलाई बल्छीमा माछा कसरी पार्ने भन्नेबारे निःशुल्क ज्ञान दिन्छन्। उनलाई सुनेर जानेहरू माछा मारेर फर्कंदा भन्ने भेट्नै आउँछन्।
आजभोलि भने माछा मार्दा मद्यपान नगर्न सुझाउँछन्। पछिल्लो समय माछा मार्न जाँदा खोलामा डुबेर मरेका घटना सुनेका छन्। मद्यपान गरेर जाँदा बल्छीमा परेपछि माछाले खोलामा तान्न सक्ने भएका कारण सर्तक गराउन थालेको उनी सुनाउँछन्।
‘फेवा तालको माछा खाँदिनँ’
सानोमा उनको चरा मार्ने शोख थियो। अमेरिका गएका एक जना साथीले उपहारमा माछा मार्न आवश्यक सामान पठाइदिएपछि भने उनको शोख फेरियो। त्यसपछि फेवा तालमा माछा मार्न थाले।
उनी स्थानीय प्रजातिका सबै माछा मार्दैनन्। सहर, असला, बाम, फगेटा लगायत माछा मात्रै मार्छन्। अझ भाले माछा मात्रै मार्छन्। किन नि? “सहर माछा लोप हुँदै छ। पोथी नै मार्यौं भने झन् लोप हुने अवस्था आउँछ,” यी शिकारी भन्छन्, “एउटा पोथी माछाभित्र हजारौं अन्डा हुन्छन्। त्यसैले पोथी परेको खण्डमा पानीमै छाडिदिन्छु।”
उनले फेवा तालको माछा नखाएको वर्षौं भइसक्यो। फेवा ताल प्रदूषित भएका कारण फेवा तालको माछा नखाएको उनी बताउँछन्। “पहिले फेवा तालको माछा खान्थें तर अहिले यहाँको माछा प्रदूषित छन्, त्यसैले खाँदिनँ,” उनी भन्छन्, “अर्को, जमेको पानीको माछा मीठो पनि हुँदैन। खोलाको माछाको स्वाद मीठो हुन्छ।”
फेवा ताल खुम्चिँदै र प्रदूषित हुँदै गएकोमा उनलाई चिन्ता लाग्छ। अहिले सरकारले तोकेको ६५ मिटरको मापदण्डमा उनको पसल भएकै घरको आँगन पनि भेट्ने देखिन्छ। “उचित मुआब्जा दिने हो भने छोड्न तयार नै छौं। लालपुर्जामा नै लेखेको हुन्छ, सरकारले चाहेमा जति वेला पनि निकाल्न सक्छ भनेर। त्यसैले फेवा ताल बच्छ भने छोड्न सक्छौं,” उनी भन्छन्, “फेवा ताललाई बचाउनुपर्छ, फेवा ताल नै रहेन भने हामी पनि रहन्नौं।”
शिकारी एक, काम अनेक
पोखरा, लेकसाइडमा रहेका सात-आठ भुजेल परिवारमध्ये उनको परिवार पनि एक थियो। बुबा घरको ठेक्कापट्टाको काम गर्थे। आर्थिक अवस्था कमजोर भएकाले कक्षा ८ मा पुगेपछि उनले पढाइ छाडे।
तन्नेरी हुँदा बुबाले घर बनाउन लिएको ठेक्कापट्टामा उनले रङ लगाउने काम शुरू गरे। लामो समय घरमा रङ लगाउनमै व्यस्त रहे। केही वर्षपछि त्यो काम छोडेर फेवा तालमा डुंगा चलाउन थाले। डुंगा चलाउँदा चलाउँदै परेवा पाल्न शुरू गरेका थिए। यसरी पालेका परेवा मन्दिरमा आउनेहरूलाई बेच्थे।
त्यही वेला केही समय ट्रेकिङ गाइड बने। पर्यटकलाई लिएर हिमाल मुन्तिर डुलिहिंडे। त्यसबाट बचत भएको पैसाले पोखरा लेकसाइडमा सीबीबी मःम रेस्टुरेन्ट खोले। झन्डै चार वर्ष पर्यटकलाई लेकसाइडमा मःम पनि बेचे।
मःमबाट ठीकै आम्दानी हुन थालेपछि बङ्लादीमा सीबीबी गेस्ट हाउस खोलेका हुन्। यो सबै गर्दागर्दै पाँच वर्षअघि गेस्ट हाउस पनि अर्कैलाई दिएर बल्छी पसल खोलेका हुन्।
खोलामा गतिशील भइरहने माछा जस्तै चेतबहादुर पनि एउटै काममा अडिन सकेनन्। उनको माछा मार्ने तरीका पनि त्यस्तै छ। एकै ठाउँमा बसेर, घण्टौं समय पर्खिएर माछा मार्दैनन्। हिंड्दै बल्छी हान्दै माछा मार्नु ‘शिकारी’ को तरीका हो। अब यो काम पनि छाड्ने हो कि भन्ने प्रश्नमा हाँस्दै भन्छन्, “अब रिटायर्ड हो। माछा मार्ने काम मात्रै गर्ने हो।”
कहिलेकाहीं विदेशी पर्यटकलाई लिएर खोलामा माछा खोज्दै बल्छी पसले र ‘शिकारी दाइ’ भएर ‘फिसिङ ट्रिप’ अर्थात् माछा मार्ने यात्रामा जान्छन्। नेपाल घुम्न आउने पर्यटकका समूहलाई ‘प्याकेज’ बनाएर लैजाने गर्छन्। पर्यटकीय गतिविधिका रूपमा उनले यसको सम्भावना पनि देखेका छन्।
गत वर्ष उनीसँगै गएका पर्यटकले सात किलोको माछा मार्न सकेपछि औधी खुशी भएका थिए। नेपालबाट फर्केपछि पनि ती पर्यटकले वेलाबखत उनका लागि उपहारको पोको पठाइदिने गरेका छन्।
माछा मार्न खप्पिस ‘शिकारी’ लाई यति वेला भने वातावरणको चिन्ताले पनि सताउन थालेको छ। खोला, ताल प्रदूषित भएसँगै स्थानीय प्रजातिका माछा लोप हुँदै गएको आभास छ। स्थानीय प्रजातिका माछाको संख्या बढाउन बाहिरबाट भुरा ल्याएर फेवा तालमा छाड्ने पनि गरेका छन्। शिकारी भन्छन्, “माछा मात्रै होइन, अन्य जीवजन्तुलाई पनि जोगाउन आवश्यक छ।”