सन्दीप विरुद्धको मुद्दामा बहस नोट बुझाउन जिल्ला अदालतको आदेश
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले बिहीबार बहस नोट बुझाउन आदेश दिएको छ।
जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले दुवै पक्षका कानून व्यवसायीलाई बहस नोट बुझाउन भनेको हो। उनीहरूलाई मंसीर २२ गतेभित्र बहस नोट बुझाउन समय दिइएको छ।
यस मुद्दामा अर्को पेशी मंसीर २४ गते तोकिएको छ। यो मुद्दामा अन्तिम पेशी तोकिन थालेको आठ महीना भइसकेको छ। धेरै पटक स्थगित र हेर्न नमिल्नेमा पर्दै आएको यो मुद्दामा न्यायाधीशहरूले अनेक आदेश मात्रै दिंदै आएका छन्।
अहिलेसम्म यो मुद्दामा ३१ पटक पेशी तोकिएको छ। सर्वोच्च अदालतले ‘फास्ट ट्र्याक’ टुंग्याउन गत फागुन १५ मा आदेश दिएको थियो। तर आठ महीना बितिसक्दा पनि फैसला कहिले आउँछ भन्ने टुंगो छैन।
गत वर्ष भदौ २१ गते सन्दीप विरुद्ध नाबालिका बलात्कारको आरोप लागेको थियो। क्रिकेट खेल्न अफ्रिकी मुलुक पुगेका उनी प्रहरीमा जाहेरी परेको सार्वजनिक भएपछि स्वदेश नफर्की भागेर अमेरिका पुगेका थिए। इन्टरपोल मार्फत पक्राउ पर्ने सूचना पाएपछि भने नेपाल फर्किएर आत्मसमर्पण गरेका थिए।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले छोडिदिएको थियो। उच्चको आदेशलाई सर्वोच्चले पनि सदर गरिदिएपछि सन्दीप थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन्।
अझ सर्वोच्चले विदेश जाने बाटो समेत खोलिदिएको थियो। जसले गर्दा उनी राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी भइरहेका छन्। जिल्ला अदालतमा मुद्दा स्थगित हुने, हेर्न नभ्याइने, हेर्न नमिल्ने, पटक पटक उस्तै प्रमाण झिकाउन आदेश दिने लगायत कार्यले विदेशमा गएर क्रिकेट खेल्न समेत सहज भइरहेको छ। फेरि बहस नोट झिकाउने आदेश आएपछि मुद्दाको टुंगो लाग्न केही समय लाग्ने भएको छ।
यो पनि पढ्नुहोस्:
सन्दीप विरुद्धको मुद्दा: प्रमाण बुझ्ने आदेश दिन्छ, मुद्दा छिन्दैन