एन्फा अध्यक्ष विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
अखिल नेपाल फूटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ।
हेटौंडामा भएको विशेष साधारणसभा अध्यक्ष नेम्वाङ विरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको थियो। बिहीबार भएको मतदानमा अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।
“एन्फाका ८७ जना सदस्यमध्ये ५२ जनाले अविश्वासको प्रस्तावको विपक्षमा मतदान गरेका छन्,” अध्यक्ष नेम्वाङले भने, “बहुमतले अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ।”
अविश्वासको प्रस्तावको विपक्षमा ५२ मत पर्यो। त्यस्तै, प्रस्तावको पक्षमा एउटा पनि मत परेन। एउटा मत बदर भयो।
बिहीबार भएको मतदानमा ५३ जना सहभागी थिए। एन्फामा ८७ मतदाता थिए। अविश्वासको प्रस्ताव राख्ने सदस्यहरू मतदानमा सहभागी भएनन्।