दराजको ‘११.११’ सेलमा ८० प्रतिशतसम्म छूट
अनलाइन किनमेल बजार दराजले यस वर्ष पनि ८० प्रतिशतसम्म छूट दिने ‘११.११’ सेल अफर घोषणा गरेको छ।
दराजले हरेक वर्ष ११ नोभेम्बरमा सेल अफर दिंदै आएको छ। यस वर्ष पनि ११ नोभेम्बर अर्थात् कात्तिक २५ गतेबाट शुरू हुने ‘११.११’ सेल अफर सार्वजनिक गरेको हो। कात्तिक २५ गतेबाट शुरू हुने अफर मंसीर ६ गतेसम्म चल्नेछ।
यस योजनामा ८० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको छ। त्यस्तै, देशभर नि:शुल्क डेलिभरी, करीब एक लाख सामानमा सात करोड रुपैयाँसम्म छूटको व्यवस्था गरिएको दराजले जनाएको छ।
यस वर्ष पनि ‘११.११’ योजना घोषणा गर्दा उत्साहित बनेको दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले बताइन्। “यो एउटा सेल मात्रै नभएर उपभोक्ता र विक्रेताप्रति आभार प्रकट गर्ने माध्यम पनि हो,” कुँवरले भनिन्।
यससँगै ९९९ रुपैयाँसम्मको सामान खरीदमा अग्रिम भुक्तानी गर्ने उपभोक्तालाई उपहारको व्यवस्था गरिएको छ। यसमा ११ जना उपभोक्ताले सीजी ब्रान्डको वाशिङ मशिन पाउनेछन्।
त्यस्तै, ब्यांकको डेबिट कार्डबाट भुक्तानी गर्नेलाई १५ प्रतिशतसम्म छूटको व्यवस्था गरिएको छ। यसमा दुई हजार रुपैयाँसम्म छूट पाउन सकिनेछ। ब्यांकको क्रेडिट कार्डबाट भुक्तानी गर्ने उपभोक्तालाई २० प्रतिशतसम्म अर्थात् दुई हजार ५०० रुपैयाँसम्म छूटको व्यवस्था गरिएको दराजले जनाएको छ।