विराट कोहली र सचिन तेन्दुलकरको शतकको तुलना
विश्व क्रिकेटका सर्वकालीन महान् मानिने सचिन तेन्दुलकर र वर्तमान समयका सर्वोत्कृष्ट ब्याटर विराट कोहली दुवैले समान ४९ एकदिवसीय शतक बनाएका छन्। आआफ्नो समयमा भारतीय टोलीका खम्बाका रूपमा रहेका यी खेलाडीको विश्वकीर्तिमानी शतकको तुलना गर्दा कस्तो देखिन्छ त?
आईसीसी पुरुष एकदिवसीय विश्वकप अन्तर्गत गत कात्तिक १९ मा दक्षिण अफ्रिका विरुद्धको खेलमा भारतका ब्याटर विराट कोहलीले शतकीय पारी खेले। कोहलीले १२१ बलमा अविजित १०१ रनको जिम्मेवारीपूर्ण पारी खेल्दै भारतलाई फराकिलो जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
तर त्यस दिन कोहलीले शतक मात्र बनाएका थिएनन्, सर्वोत्कृष्ट ब्याटर सचिन तेन्दुलकरको कीर्तिमान बराबरी गरेका थिए। अर्थात्, एकदिवसीयमा सर्वाधिक शतक बनाउने खेलाडीमा उनी पनि दर्ज भएका थिए।
कोहली र तेन्दुलकर दुवै दायाँ हाते माथिल्लो क्रमका ब्याटर हुन्। एकदिवसीयमा कोहलीको व्यक्तिगत उच्च स्कोर १८३ हो। उनले यो रन पाकिस्तान विरुद्ध बनाएका थिए। तेन्दुलकरको व्यक्तिगत उच्च स्कोर भने अविजित २०० रन हो। उनले यो रन दक्षिण अफ्रिका विरुद्ध बनाएका थिए।
हालसम्म कोहलीले एकदिवसीयमा २७७ पारी खेलेका छन् भने तेन्दुलकरले आफ्नो करिअरमा ४५२ पारी खेलेका थिए।
४९औं शतक बन्दाको तथ्याङ्क
कोहलीलाई ४९ शतकको उपलब्धि हासिल गर्न १५ वर्ष लाग्यो। जबकि तेन्दुलकरले आफ्नो खेल जीवनको उत्तरार्ध (१६ मार्च २०१२)मा एकदिवसीयमा पदार्पण गरेको २२ वर्ष तीन महीनामा यो उपलब्धि हासिल गरेका थिए। तेन्दुलकरको ४९औं एकदिवसीय शतक उनको १००औं अन्तर्राष्ट्रिय शतक पनि थियो। कोहलीको ४९औं एकदिवसीय शतक उनको ७९औं अन्तर्राष्ट्रिय शतक हो।
औसतमा प्रत्येक ५.६५ पारीमा कोहलीले शतक बनाएका छन्। तेन्दुलकरले भने औसतमा प्रत्येक ९.२२ पारीमा शतक बनाएका थिए।
लक्ष्य पछ्याउने क्रममा कोहलीले २७ एकदिवसीय शतक प्रहार गरेका छन्। जसमध्ये २३ पटक उनले शतक बनाउँदा भारतले खेल जितेको छ। तेन्दुलकरले भने लक्ष्य पछ्याउने क्रममा १७ शतक बनाएका छन्। यसमध्ये तीन पटक मात्र भारतले खेल हारेको छ।
पहिला ब्याटिङ गरेर शतक बनाउने मामिलामा भने तेन्दुलकर कोहलीभन्दा निकै अघि छन्। पहिला ब्याटिङ गर्ने क्रममा तेन्दुलकरले ३२ पटक शतक बनाएका छन् भने कोहलीले २२ पटक।
भारतीय टोलीका लागि यी दुई खेलाडीको शतकको प्रभाव निकै महत्त्वपूर्ण हुने गरेको छ। तेन्दुलकरले ३३ पटक शतक बनाउँदा भारतले खेल जितेको छ भने कोहलीले ४१ पटक शतक प्रहार गर्दा भारतले खेल जितेको छ।
तेन्दुलकर ‘प्लेइङ ११’ मा हुँदा भारतले ५०.५४ प्रतिशत खेल जितेको छ। यस्तै, कोहली प्लेइङ ११ मा हुँदा भारतले ६१.५९ प्रतिशत खेल जितेको छ।
कसको शतक कहाँ?
तेन्दुलकरले घरेलु मैदानमा २० एकदिवसीय शतक प्रहार गरेका छन्। कोहलीले भारतीय मैदानमा तीन शतक बढी बनाएका छन्। तर प्रतिस्पर्धी राष्ट्रको मैदानमा शतक बनाउने सवालमा भने तेन्दुलकरलाई कोहलीले निकै पछि छोड्छन्।
तेन्दुलकरले प्रतिस्पर्धी राष्ट्रको मैदानमा १२ शतक मात्र बनाएका छन्। जबकि यो अङ्क कोहलीको सवालमा २१ रहेको छ। तेन्दुलकरले बाँकी १७ शतक तटस्थ मैदानमा बनाएका हुन्। कोहलीले तटस्थ मैदानमा पाँच शतक मात्र बनाएका छन्।
तटस्थ मैदानमा सञ्चालन गरिने एकदिवसीय प्रतियोगिताको संख्या घटाइनुले कोहली यसमा पछि परेका हुन्। कोहलीले खेलेका दुईतिहाइ एकदिवसीय द्विदेशीय शृंखला हुन्। तेन्दुलकरको हकमा ४० प्रतिशत एकदिवसीय मात्र द्विदेशीय हुन्।
कोहलीले नौ वटा देशमा एकदिवसीय खेलेका छन् जसमध्ये हरेक राष्ट्रमा कम्तीमा एउटा शतक बनाएका छन्। तेन्दुलकरले १६ वटा देशमा एकदिवसीय खेलेका छन्। जसमध्ये १२ देशमा शतक बनाएका छन्।
मैदानका सवालमा भने तेन्दुलकरले ३४ वटा फरक फरक मैदानमा कम्तीमा एउटा शतक बनाएका छन्। कोहलीले भने ३२ फरक फरक मैदानमा कम्तीमा एउटा शतक बनाएका छन्।
तेन्दुलकरले ११ फरक राष्ट्र विरुद्ध शतक बनाएका छन्। जसमध्ये आईसीसीका तत्कालीन नौ पूर्ण सदस्य राष्ट्र विरुद्ध ४४ शतक बनेका थिए। एशोसिएट राष्ट्रतर्फ तेन्दुलकरले पाँच शतक बनाएका छन्- चार शतक केन्या विरुद्ध र एक शतक नामिबिया विरुद्ध।
तर कोहलीले भने एशोसिएट राष्ट्र विरुद्ध अहिलेसम्म शतक बनाएका छैनन्। उनले आफ्नो १५ वर्षे करिअरमा जम्मा ६ पटक मात्र एशोसिएट राष्ट्र विरुद्ध खेलेका छन्। कोहलीका ४९ वटै शतक पहिलो नौ पूर्ण सदस्य राष्ट्र विरुद्ध बनेका हुन्।
यी दुई खेलाडीबीच एउटा रोचक समानता के पनि छ भने तेन्दुलकरले नौ पटक यस्तो वेला शतक बनाएका थिए, जब टोलीका अन्य सदस्यले अर्धशतकीय पारी पनि खेल्न सकेका थिएनन्। कोहलीले यस्तो पारी आठ पटक खेलेका छन्।
अर्को रोचक समानता र तथ्याङ्क हो- भारतीय टोली बोल्ड आउट हुँदा यी दुवैले ६ पटक शतक बनाएका छन्।
विश्व क्रिकेटका महान् खेलाडीहरू
एकदिवसीय शतकमा बराबरी गरे पनि कोहलीले रन बनाउने सवालमा भने तेन्दुलकरलाई भेट्न निकै मेहनत गर्नुपर्ने देखिन्छ। तेन्दुलकरले १८ हजार ४२६ रन बनाएका छन्। कोहली १३ हजार ६२६ रन सहित एकदिवसीयमा सर्वाधिक रन बनाउनेमा तेन्दुलकर, श्रीलंकाका कुमार संगाकारा र अस्ट्रेलियाका रिकी पोन्टिङपछि चौथो स्थानमा छन्।
निश्चय नै कम पारी खेलेको कारण पनि कोहली पछि परेका हुन्। तर सचिनले जुन समयमा जस्ता बलरको सामना गरेर रन बनाए त्यो आफैंमा महत्त्वपूर्ण विषय हो। विश्व क्रिकेटमा अस्ट्रेलियाका डोनल्ड ब्र्याडम्यान र वेस्ट इन्डिजका भिभियन रिचर्डससँगै सचिन तेन्दुलकरलाई पनि सर्वकालीन महान् ब्याटर मानिन्छ भने विराट कोहलीलाई ‘चेज मास्टर’ र वर्तमान समयका सर्वोत्कृष्ट क्रिकेटर।
सन् २००२ मा विज्डनले सर्वकालीन महान् क्रिकेटरको सूची जारी गरेको थियो। जसमा टेस्टतर्फ ब्याटिङमा ब्र्याडम्यान १३४९.० अङ्क सहित शीर्षस्थानमा थिए भने तेन्दुलकर १०००.५ अङ्क सहित दोस्रो स्थानमा थिए। यस्तै, एकदिवसीयतर्फको सूचीमा ११३२.५ अङ्क सहित रिचर्ड्स शीर्षस्थानमा थिए भने १११९.३ अङ्क सहित तेन्दुलकर यो विधामा पनि दोस्रो स्थानमा थिए।
बलिङतर्फ टेस्टमा श्रीलंकाका मुथैया मुरलीधरन १३२०.४ अङ्क सहित शीर्षस्थानमा थिए भने एकदिवसीयतर्फ १२२३.५ अङ्क सहित पाकिस्तानका वसीम अक्रम शीर्षस्थानमा थिए।
(ईएसपीएन क्रिक इन्फो सहित विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा।)