तरकारी त्यागेर फूलखेती
चाडपर्वसँगै अन्य समयमा पनि फूलले राम्रो आम्दानी हुन थालेपछि मकवानपुरका किसान तरकारीखेती छोडेर फूलखेतीतर्फ आकर्षित भइरहेका छन्।
दशैंको रमाइलो सकिएसँगै तिहार आइपुगेको छ। ढकमक्क फुलेका सयपत्रीले गाउँघरमा तिहारको रौनक थपेका छन्। “गाउँ पस्दा त घरघरै फूल फूलेका देखिन्छन्, फूलको मौसमले तिहार पर्वको स्वागत गरे जस्तो लाग्छ,” हेटौंडाकी सुनिता घिमिरे भन्छिन्, “चाडपर्वमा गाउँ नै रमाइलो।”
आँगनका डिल र बारीका कान्लामा मखमली र सयपत्री फूल ढकमक्क फुलेका छन्। तिहार नजिकिएसँगै हेटौंडा उपमहानगरपालिका-६, चौघडाका पुष्प व्यवसायी बालकृष्ण चौलागाईं व्यस्त बनेका छन्। फूल व्यवसायबाट छोटो समयमै उपलब्धि हासिल गर्न सकिने भए पनि चुनौती धेरै रहेको चौलागाईं सुनाउँछन्। “संघर्ष र जोखिम सबै क्षेत्रमा हुन्छ, फूलको व्यवसायमा झन् जोखिम छ,” उनी भन्छन्, “छोटो समयमा उपलब्धि लिन सकिने भए पनि भण्डारण लगायतको समस्या भएकाले लगानी डुब्ने चिन्ता पनि उस्तै हुन्छ।”
पाँच वर्षदेखि पाँच कट्ठा जमीनमा फूलखेती गर्दै आएका उनले यस वर्ष व्यवसाय विस्तार गरेका छन्। २० हजार माला उत्पादन गर्ने लक्ष्य सहित पाँच बिघामा फूलखेती गरिरहेको उनी बताउँछन्। “कहिले कोरोनाले त कहिले मौसमले साथ नदिंदा फूल खपतमा समस्या भयो,” चौलागाईं भन्छन्, “कहिले माग राम्रो हुन्छ तर मौसमले साथ दिंदैन।”
ड्रागन फ्रूट खेती गरिरहेको जमीनमा फूलखेती पनि गरिरहेका हेटौंडा-१३ का युवा कृषि उद्यमी फेन्चु लामा रुम्बा जाँगर र मेहनत गरेमा पर्याप्त आम्दानी लिन सकिने बताउँछन्। उनका अनुसार फूलको बिरुवा रोपेपछि तीन महीनामा आम्दानी दिन्छ। प्रति फूलको बिरुवामा कम्तीमा १०० वटा फूल फुल्यो भने राम्रो आम्दानी हुने उनी बताउँछन्। हेटौंडामा अहिले प्रतिमाला औसत ८० देखि १२० रुपैयाँसम्म बिक्री हुने गरेको छ।
दशकअघि व्यावसायिक तरकारीखेती गर्दै आएका मकवानपुरगढी गाउँपालिका-६ का टीकाप्रसाद दाहालले पनि यस वर्ष फूलखेती गरेका छन्। पूर्व वडाध्यक्ष समेत रहेका दाहाल भन्छन्, “तरकारीको मूल्य नै आउन छाड्यो, केही त गर्नै पर्यो भनेर फूल रोपें।”
उनीहरू जस्तै सयपत्री फूलको व्यावसायिक खेती गर्ने बढ्न थालेका छन्। हेटौंडाकै वडा नम्बर ६, १२, १३ र १४ मा झन्डै २५ बिघामा फूलखेती भइरहेको छ। छोटो समयमा राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षण समेत बढ्दै गएको दाहाल बताउँछन्।
पारिलो घाम लाग्ने ठाउँमा सयपत्री रोपेको ८० देखि ९० दिनमा फुल्ने गर्छ। सयपत्री फूलका अनेकन् विशेषता छन्। यसले वातावरणलाई सुगन्धित बनाउँदै सौन्दर्य छर्छ। तिहारमा पूजाआजा गर्न, घर सजावट गर्न र भाइटीकामा दाजुभाइका लागि माला बनाउन सयपत्री फूलको प्रयोग हुन्छ। नेपालमा कतै कतै यसलाई हजारी फूल पनि भनिन्छ।
पछिल्लो समय तिहारमा फूलको मालाले घर सजाउने मौलिक परम्परा हराउँदै गएको छ। यसको स्थान झिलिमिली बत्ती र प्लास्टिक तथा कागजका मालाले लिंदै आएका छन्। जुन वातावरणमैत्री समेत छैन।
युवालाई स्वरोजगार बन्नतर्फ प्रेरित गर्ने पुष्प व्यवसाय पनि विकल्प हुन सक्ने व्यवसायी चौलागाईं बताउँछन्। उनी कृषिमा यान्त्रिकीकरण र विविधीकरणको खोजी गर्नुपर्ने बताउँछन्। स्थानीय सरकारले यसतर्फ ध्यान दिएमा फूलमा आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ।