भूकम्पका घाइतेलाई जीवनदान दिने हिरोहरू
भुइँचालोबाट बाँचेका केही युवा जसले आफन्तको शव घरमै छोडेर पनि रातभर गाउँलेको उद्धारमा खटिई कैयौं बालबालिका र वृद्धवृद्धाको ज्यान जोगाएका छन्।
सिरकमाथि माटो र ढुंगा झरेको थियो। म निसासिसकेको थिएँ। सँगै सुतेको भाइ छटपटाइरहेको थियो...।
जाजरकोटको भेरी नगरपालिका-३, माथिल्लो थाप्लेका २९ वर्षीय जीवन शाहलाई कात्तिक १७ गते रातिको घटना सम्झिंदा अहिले पनि जीउ काँप्छ। आफ्नै घरभित्र पुरिएका उनी पुनर्जन्म पाएको बताउँछन्।
भूकम्पले घर भत्किंदा सिरकभित्रै थिचिएकाले शरीर चल्न, छटपटाउन सकेको थिएन। ढुंगामाटोले पुरिएकाले निसासिंदै थिए। सँगै सुतेका भाइको अवस्था पनि उस्तै थियो। अँध्याराे भएकाले घर बाहिर निस्कने बाटो पनि देखिएन। सिरकभित्रै थिचिइरहँदा केही क्षणमा श्वास जाने निश्चित जस्तै थियो।
उकुसमुकुसकै बीच उनले भएभरको बल लगाएर भाइलाई भित्तातिर ठेले। दुवैले बल लगाउँदा घरको भित्ता भत्कियो र बाहिर निस्कन सफल भए। “यसै मरियो, उसै मरियो भनेर भएभरको बल लगाएर ठेलेको थिएँ, भूकम्पले चर्किएको भित्ता परेछ, भत्कियो,” जीवन डरलाग्दो रात सम्झिन्छन्, “भाइ त्यहाँबाट खस्यो। म पनि निस्किएँ।”
त्यसपछि तल खसेको भाइ सिजनलाई तानेर निकाले। दाइभाइ जसोतसो बाँचेर बाहिर निस्के पनि बुबा भने पुरिएकै थिए। पूरै घर माटोमा मिलेकाले बुबा कहाँनेर पुरिएका छन् भन्ने मेसो नै पाएनन्।
घरको पछिल्लो भागमा बुबा सुत्ने कोठा थियो। दुवैले त्यतैतिरको माटो पन्छाउन थाले। मध्यरातमा ढुंगामाटो पन्छाउने साधन पनि थिएन। अनुमानको भरमा माटो पन्छाइरहे।
करीब आधा घण्टापछि बुबालाई भेटे तर शरीर चिसो भइसकेको थियो। उनका बुबा अचेत अवस्थामा थिए। जीवित व्यक्तिमा हुनुपर्ने लक्षण केही थिएन। “बुबा बितिसक्नुभएछ भन्ने ठानेर हाम्रो शरीर लल्याकलुलुक भयो,” जीवन सुनाउँछन्।
जीवनले सामाजिक सञ्जाल चलाउँदा अचेत अवस्थामा भएको व्यक्तिलाई सीपीआर (कार्डियोपल्मोनरी रिसस्सिटेशन) गरेर बचाउन सकिने भिडिओ देखेका थिए। अचेत अवस्थामा रहेका बुबालाई देखेर उनलाई उक्त भिडिओको याद आयो। बुबालाई बचाउन सकिन्छ कि भन्ने झिनो आश पलायो।
भाइ सिजनलाई बुबाको छाती थिच्न लगाए भने आफूले मुखबाट कृत्रिम श्वास दिन थाले। नभन्दै केही समयमा बुबाको होश आयो। उनीहरूले चमत्कार भएको ठाने। “बुबालाई बचाए पनि होश अझै राम्रोसँग खुलेको छैन्, झस्किइरहनुहुन्छ,” जीवन भन्छन्।
बुबा होशमा आएपछि दुवै दाजुभाइले बाहिर कोलाहल सुने। छरछिमेकी चिच्याइरहेका थिए। सबै जना आआफ्नो पुरिएको घरबाट मान्छे झिकिरहेका थिए। त्यसपछि दुवै दाजुभाइ गाउँतिर लागे। त्यति वेलासम्म गाउँका अन्य युवा पनि उद्धारमा जुटिसकेका थिए।
गाउँमा सबैको घर ढुंगा र माटोको थियो। अधिकांशलाई सुतेकै ठाउँमा ढुंगामाटोले थिचेको थियो। घरभित्र थिचिएकाहरू हलचल गर्न नसक्ने अवस्थामा थिए। बाँचेकाहरू पनि आत्तिएकाले राम्रोसँग उद्धार गर्न सकेका थिएनन्।
त्यो डरलाग्दो अवस्थामा पनि जीवनले गाउँका अन्य युवासँग मिलेर १० जनालाई पुरिएको ठाउँबाट निकाले। समयमा निकाल्न नसकिएको भए उनीहरूको ज्यान जान सक्ने उनी सुनाउँछन्। त्यतिन्जेल सुरक्षाकर्मी आइसकेका थिएनन्। “गाउँका सबै युवा मिलेर ४०-५० जना जतिको उद्धार गर्यौं होला,” जीवन सम्झिन्छन्, “हामी समयमै नपुगेको भए उनीहरू सबै बाँच्दैनथे होलान्।”
कात्तिक २१ मा दिउँसो माथिल्लो थाप्ले पुग्दा जीवन र उनका भाइ सिजन घरमा पुरिएका सरसामान निकाल्दै थिए। गाउँका सबै मानिस आआफ्नो घरको ढुंगामाटो पन्छाइरहेका थिए। जाजरकोटको सदरमुकाम खलंगा नजिकै रहेको यस गाउँका ६० घरमा पूर्ण क्षति भएको छ। भूकम्पमा यो गाउँका मात्रै १३ जनाको ज्यान गएको थियो। ठूलाे भौतिक र मानवीय क्षति बेहोरेको गाउँका कति जना घाइते भए भन्ने अझै यकीन तथ्यांक जुटिसकेको छैन।
जीवनकै छिमेकी ३० वर्षीय मनोज केसी पनि कात्तिक २१ मा ढुंगामाटो पन्छाइरहेका थिए। उनी पनि कात्तिक १७ को राति सुत्न सकेका थिएनन्। रातभर उद्धारमा खटिएका थिए। “हाम्रो घरमा पुरिएका पाँच जनालाई निकालें, त्यसपछि गाउँमा उद्धार गर्न हिंडें,” मनोज भन्छन्।
उनले पनि गाउँका १५ जना जतिलाई पुरिएको ठाउँबाट निकालेका थिए। जसमा अधिकांश बालबालिका थिए। उद्धार गर्ने मान्छे नहुँदा केहीको ज्यान गएकोमा उनलाई पछुतो लागिरहेको छ। “उद्धार गर्ने थप मान्छे हुन्थे भने १३ जनालाई जोगाउन सकिन्थ्यो,” मनोज भन्छन्, “जति पनि मरे, सबै समयमा उद्धार गर्न नसकेर मरेका हुन्।”
दशैं र तिहारको बिदा भएकाले थाप्ले गाउँमा धेरैको ज्यान जोगिएको मनोज बताउँछन्। उनका अनुसार थाप्ले गाउँमा रहेको गोल्डेन स्कूलको छात्रावासमा सयको हाराहारीमा विद्यार्थी बस्थे। उनीहरू सबै कक्षा ५ सम्म पढ्थे। भूकम्पले छात्रावास पूर्ण रूपमा क्षतिविक्षत छ।
दशैं बिदामा घर नगएका एकता खड्का, सुष्मा कार्की र शोमा शाह छात्रावासमै थिए। भूकम्पले छात्रावास भत्किंदा तीनै जनाको ज्यान गएको छ। “दशैंतिहारको बिदा भएकाले १०० बालबालिका बाँचे,” उनले यति बोल्दा आँखा बन्द गरे।
मनोज र जीवन लगायत गाउँका युवा मिलेर पुरिएको ठाउँबाट मानिसलाई निकाल्ने, प्राथमिक उपचार गर्ने र अस्पताल पुर्याउने काम गरे। रातभरि खट्दा खट्दै उनीहरू लखतरान भइसकेका थिए। तर बालबालिका र वृद्धवृद्धाको बाहुल्य भएको गाउँमा थाक्ने छूट थिएन। किनकि गाउँका अधिकांश युवा परदेशी भइसकेका थिए।
गाउँमा थोरै युवा हुँदा उद्धारमा असर परेको उनी सुनाउँछन्। “यस्तो आपत्विपत्को वेला गाउँमा युवा नहुँदा धेरै नै गाह्रो हुँदो रहेछ,” मनोज भन्छन्।
त्यस्तै, अर्को रावत गाउँमा पनि युवाले धेरैको ज्यान जोगाए। रावत गाउँमा एकै घरमा ६ जनाको ज्यान गएको थियो। हरेक घरभित्र घाइतेहरू पुरिएका थिए। घाइते निकाल्न सकस भएको स्थानीय ललित परियार बताउँछन्।
राति सँगै सुतेका ललितका पाँच र सात वर्षीया छोरीको ज्यान गयो। उनी घरमा छोरीका शव छोडेर गाउँलेको उद्धारमा जुटेका थिए। आफ्नो सन्तानको श्वास नरहेको थाहा पाएपछि गाउँलेलाई बचाउन सकिन्छ कि भनेर निस्किएको उनी बताउँछन्। “मर्ने त मरिहाले, पुरिएकालाई बचाउनुपर्छ भनेर उद्धारमा जुटें,” ललित भन्छन्।
यतिभन्दा उनका आँखा रसाए। दुई छोरी गुमाउँदाको पीडा अनुहारमा प्रस्टै देखिन्थ्यो।
रावत गाउँ नजिकैको कोलचौरका लक्ष्मण विक पनि रातभर उद्धारमा जुटे। गाउँमा एकै घरका ६ जनाको मृत्यु भएको थियो। गाउँका अधिकांश घर भत्किंदा उनको घर पनि सद्दे थिएन। आफू पनि मुश्किलले बाँचेर उद्धारमा जुटेको लक्ष्मण सुनाउँछन्।
उनका अनुसार उद्धारमा जुट्ने युवा थिएनन्। उद्धार गर्दा ढिलो भएकाले एकै परिवारका ६ जनाको मृत्यु भएको थियो। “माटामा पुरिएकाहरूलाई एक घण्टाभित्र निकाल्न नसकेपछि बाँच्ने आशा पनि कम हुँदो रहेछ,” लक्ष्मणको अनुभव छ।
जाजरकोटकै नलगाड नगरपालिका-१, चिउरी गाउँमा भूकम्पबाट १३ जनाको मृत्यु भएको थियो। उनीहरूको सामूहिक दाहसंस्कार गरिएको थियो। चिउरी गाउँका अधिकांश भौतिक संरचनामा क्षति पुगेको छ। केही जोगिएका घर पनि चर्किएकाले बस्नयोग्य छैनन्।
चिउरी गाउँका लालबहादुर विक पनि परिवारसँगै घरमा पुरिएका थिए। जसोतसो ढुंगा पन्छाएर आफ्नो परिवार भने जोगाए। त्यसपछि उद्धारमा निस्किएका लालबहादुरले दुई दर्जनभन्दा बढी घाइतेको उद्धार गरे। पुरिएको ठाउँबाट १५ जनालाई निकालेको उनी सुनाउँछन्।
त्यस्तै, ५५ वर्षीय हिरे कामीको घरका चार जनाको ज्यान गएको थियो। हिरेको घरमा एक्लै बाँचेकी प्रेमकलीलाई निकाल्ने उनै लालबहादुर थिए। प्रेमकलीका परिवारका चार जनाको शव निकालेका थिए। “गाउँमा धूलो, धुवाँ र कोलाहल मच्चिएको थियो, हामी केही मिलेर सकेसम्म उद्धार गर्यौं,” लालबहादुर भन्छन्।
उनका अनुसार उद्धार गर्ने अलि धेरै मान्छे भइदिएको भए केहीको ज्यान जोगाउन सकिन्थ्यो। “अँध्यारो रातमा जेजति बचाउन सकियो, त्यो पनि धेरै हो जस्तो लाग्छ,” उनी भन्छन्।
भूकम्प गएको दिनदेखि उनी घाइतेको उद्धार र उपचारका लागि अस्पताल पुर्याउने काममा जुटिरहेका छन्। गाउँ नै शोकमा रहेकाले आफ्नो घर पन्छाउन पनि भ्याएका छैनन्। “घाइतेको चीत्कार र मृतकको लास देख्दा देख्दै दिमागले काम गर्न छाडेको छ,” लालबहादुर भन्छन्।
भूकम्प प्रभावित क्षेत्रका अधिकांश ठाउँमा उद्धारमा खटिनेको कथा उस्ताउस्तै छ। उनीहरू आफू जोगिएपछि छरछिमेकीलाई जोगाउन उद्धारमा खटिएका थिए। घाइतेको चीत्कार र मृतकको शव झिक्दा झिक्दा उनीहरूलाई मनोवैज्ञानिक आघात पुगेको छ।
उद्धारमा खटिएका मात्रै होइनन्, अन्य प्रभावित नागरिकलाई पनि मनोपरामर्शको खाँचो छ। त्यसअघि उनीहरूलाई राहतको खाँचो छ। चिसो रात र भोको पेट धेरै दिन टिक्न नसक्ने उनीहरू सुनाउँछन्। छेपारे गाउँका प्रजित विक भन्छन्, “तत्कालै चिसो थेग्ने पाल, न्यानो ओढ्ने-ओछ्याउने र खाद्यान्न चाहिएको छ।”