वैद्य इनर्जीले ल्यायो एथर इलेक्ट्रिक
भारतमा उत्पादन भएको विश्वस्तरीय विद्युतीय स्कूटर एथर नेपाली बजारमा आएको छ।
वैद्य इनर्जीले एथरलाई नेपाली बजारमा भित्र्याएको हो। यससँगै वैद्य इनर्जीले आफ्नो पहिलो शोरूम काठमाडौंको गैह्रीधारामा सञ्चालन गरेको छ।
कम्पनीको पहिलो शोरूममा प्रिमियम स्कूटर ४५० एक्सका दुई भेरियन्ट सार्वजनिक गरिएको छ। कार्यक्रममा एथर इन्डियाका चीफ बिजनेस अफिसर रभनीत फोखेला र वैद्य इनर्जीका सीईओ सूयांश वैद्य उपस्थित थिए।
शोरूम उद्घाटन कार्यक्रममा बोल्दै सीईओ वैद्यले आफूहरू सधैं नवीन खोज, उत्कृष्ट डिजाइन र त्योभन्दा पनि बढी सुरक्षा र टेक्नोलोजीमा विश्वास गर्दै आएको बताए। त्यसमा एथरका उत्पादन फिट हुने उनको भनाइ थियो।
त्यस्तै, एथर इन्डियाका रभनीत फोखेलाले एथरको पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपाल आउन पाउँदा उत्साहित भएको र एथरका स्कूटरले नेपाली सडकमा उत्कृष्ट प्रदर्शन गर्ने बताए।
कम्पनीले आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागशिप मोडल ‘४५० एक्स’ का दुई भेरियन्ट सार्वजनिक गरेको छ। वैद्य इनर्जीले एथर ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा उपलब्ध गराएको छ। एथर ‘४५० एक्स’ लाई सिंगल चार्जमा १०० किलोमिटरदेखि १४६ किलोमिटरसम्म गुडाउन सकिनेछ।