टाटा प्यासेन्जर भेहिकलको नयाँ वर्कशप कपनमा
नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको कपनमा टाटा मोटर्स पेसेन्जर सेग्मेन्टका गाडीलक्षित नयाँ वर्कशप सञ्चालनमा ल्याएको छ।
सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्स पेसेन्जर भेहिकल इन्टरन्याशनल बिजनेस हेड मायांक बल्डीले वर्कशपको उद्घाटन गरेका छन्।
करीब ११ हजार ८८० वर्गमिटर क्षेत्रफलमा फैलिएको वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदि) मर्मतसम्भार लगायत डेन्टपेन्टको पनि सुविधा छ।
यस्तै, विशेषतः विद्युतीय गाडीको (इभी) जाँचका लागि विशेषज्ञ प्राविधिकको व्यवस्था गरिएको छ। यस्तो व्यवस्था अन्तर्गत ३० किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ स्टेशन, चार वटा ७.२ किलोवाट क्षमताको एसी फास्ट चार्जिङ स्टेशन र आठ वटा ३.३ किलोवाट क्षमताको एसी स्लो स्टेशन लगायत बाह्र वटा ‘बे’ छन्।