गाजाको बमबारीलाई ‘मानवीय विश्राम’ दिन ‘जी-७’ को अनुरोध
ठूला औद्योगिक लोकतान्त्रिक देशहरूको ‘ग्रूप अफ सेभेन’ (जी-७)का विदेशमन्त्रीहरूले गाजामा भइरहेको इजरायली बमबारीलाई ‘मानवीय विश्राम’ दिन आह्वान गरेका छन्।
गाजापट्टिमा हताहतीमा परेका सर्वसाधारण प्यालेस्टिनीसम्म सहयोग पुर्याउन त्यस्तो विश्रामको अनुरोध गरिएको हो। कात्तिक २२ मा जापानको टोकियोमा सम्पन्न जी-७ देशका परराष्ट्रमन्त्रीको बैठकले आफूहरू इजरायल-हमास युद्धका सम्बन्धमा एकै मतमा पुगेको घोषणा गरेको छ।
बैठकले हमासको आक्रमणको निन्दा गर्दै इजरायलको प्रतिरक्षाको अधिकारलाई सम्मान गरेर वक्तव्य निकालेको छ। साथै, गाजामा भइरहेको इजरायली बमबारीलाई विश्राम दिन पनि अनुरोध गरिएको छ।
जी-७ को वक्तव्यले सन्तुलन कायम गर्न खोजेको देखिन्छ। एकातिर हमासको निन्दा र इजरायलको समर्थन गरिएको छ भने अर्कातर्फ खाना, पानी, स्वास्थ्योपचार र आश्रय खोजिरहेका प्यालेस्टिनी जनतालाई सहयाग गर्न ‘तत्कालै काम थालिहाल्नुपर्ने’ मा जोड पनि दिइएको छ।
अमेरिकी परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन लगायत बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, जापान र इटालीका परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेको वक्तव्यमा ‘शीघ्र सहयोगका लागि मानवीय विश्राम, सर्वसाधारणको आवतजावत र बन्दीहरूको रिहाइको समर्थन गर्ने’ मा जोड दिइएको छ।
वक्तव्यमा ‘प्यालेस्टिनी जनतामाथि हिंसा बढिरहेकोमा पनि’ निन्दा गरिएको छ। त्यो हिंसाले ‘वेस्ट ब्यांकको सुरक्षा खलबल्याएको र दीर्घ शान्तिको उद्देश्यमाथि संकट सिर्जना गरेको’ ठहर गरिएको छ।
‘प्यालेस्टिनियन प्रिज्नर्स सोसाइटी’ का अनुसार इजरायल-हमास युद्ध शुरू हुनु एक महीनाअघि इजरायल शासित वेस्ट ब्यांकमा इजरायली सुरक्षाकर्मीले कम्तीमा १५४ प्यालेस्टिनीको हत्या गरेका थिए भने दुई हजार १५० जनालाई नियन्त्रणमा लिएका थिए।
टोकियोमा जी-७ का परराष्ट्रमन्त्रीहरू जम्मा भइरहँदा संयुक्त राष्ट्रसंघीय नियोगहरूले गाजाको उत्तरी भेगमा खाना र पानीको अभाव भएपछि हजारौं प्यालेस्टिनी दक्षिणतिरै पैदल भागिरहेको उल्लेख गरेका थिए।
इजरायलले भने आफ्नो सेना गाजा शहरको भित्रैसम्म हमास लडाकूसँग जुधिरहेको बताएको छ। शहरमा युद्धअघि साढे ६ लाख मानिस बसोबास गर्थे। इजरायलले उक्त शहरमा हमासको मुख्यालय रहेको र असंख्य सुरुङको सञ्जाल रहेको दाबी गरेको छ।
गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार असोज २० गते (७ अक्टोबर) यता इजरायली बमबारीबाट १० हजार प्यालेस्टिनी मारिएका छन्। जसमध्ये ४० प्रतिशत बालबालिका छन्।
संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार गाजाका २३ लाख बासिन्दामध्ये झन्डै दुईतिहाइ (करीब १५ लाख २२ हजार) आन्तरिक रूपमा विस्थापित छन्। तीमध्ये हजारौंले अस्पतालमा शरण खोजिरहेका छन्। कार पार्किङमै अस्थायी बसोबास गरिरहेछन्।
तर अस्पतालमाथि नै बमबारी भइरहेको छ। बचेका अस्पतालहरू इन्धन र मेडिकल सामग्रीको चरम अभावबाट गुज्रिरहेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार गाजाको स्वास्थ्य, सरसफाइ, पानी र खाद्यान्न सेवा सबै अन्तिम स्थितिमा पुगेका छन्।
(अल जजीराबाट)