म्याक्सवेललाई जीवनदानले जुराएको दोहोरो शतकको अवसर
अस्ट्रेलियाका ब्याटर ग्लेन म्याक्सवेललाई पटक पटक मिलेको ‘जीवनदान’ ले विश्वकपमा कीर्तिमानी दोहोरो शतक बनाउने अवसर जुर्यो।
आईसीसी पुरुष एकदिवसीय विश्वकपको गएराति भएको खेलमा अफगानिस्तान विरुद्ध अस्ट्रेलियाले नाटकीय जित हात पार्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्यो। तर अस्ट्रेलियाको जित र सेमिफाइनलमा छनोटभन्दा पनि अस्ट्रेलियाली ब्याटर ग्लेन म्याक्सवेलले खेलेको अभूतपूर्व पारी चर्चामा छ।
म्याक्सवेलले १२८ बलमा अविजित २०१ रनको दोहोरो शतकीय पारी खेले। यो एकदिवसीय इतिहासकै सर्वाधिक उत्कृष्टमध्येको एक पारी हो।
उनी जति वेला मैदान प्रवेश गरेका थिए, त्यस वेला अस्ट्रेलियाले ४९ रनमा मुख्य चार विकेट गुमाइसकेको थियो। त्यसमा पनि उनी अफगानी बलर अजमतुल्लाह ओमरजाईको ह्याट्रिक बलमा मैदान प्रवेश गरेका थिए। यति वेला एउटा ब्याटरमाथि हुने दबाबलाई शायदै बयान गर्न सकिन्छ।
अस्ट्रेलियाले ओपनर ट्र्याभिस हेडलाई शून्य रनमै गुमाएको थियो। ‘वान डाउन’ मा आएका मिचेल मार्स २४ रनमा पभेलियन फर्केका थिए। त्यसपछि १८ रनमा खेलिरहेका ओपनर डेभिड वार्नर बोल्ड भए। जोश इंग्लिसले रन बनाउनै सकेनन्। उनी शून्य रनमा आउट हुँदा अस्ट्रेलियाले चार विकेटको क्षतिमा जम्मा ४९ रन बनाएको थियो।
यसपछि बल्ल क्रिजमा आएका थिए, म्याक्सवेल। उनले पनि सामना गरेको पहिलो बलमै अफगानी टोलीले आउटको अपील गर्यो। ‘आउटसाइड एज’ लागेर क्याच आउट भएको आशंका अफगानिस्तानको थियो। तर रिभ्यूमा उनको ब्याटले बल छोएको देखिएन।
यो म्याक्सवेलका लागि पहिलो जीवनदान थियो। यसपछि उनले र मार्नस ल्याबुसेनले पारी सम्हाल्दै खेलिरहेका थिए। तर एक्कासि ल्याबुसेन रन आउट हुन पुगे। अस्ट्रेलियाले ६९ रनमा अब पाँच विकेट गुमाइसकेको थियो।
यसपछि म्याक्सवेललाई साथ दिन मार्कस स्टोइनिस आए। तर टीमले ८७ रन बनाउँदा उनी एलबीडब्लू आउट भए।
अब अस्ट्रेलियाली टीममा ब्याटर बाँकी थिएनन्। पुछारको क्रमबाट तीव्र गतिका बलर मिचेल स्टार्क ब्याटिङका लागि आए। स्टार्कले सात बलमा तीन रन मात्र बनाउन सके। अस्ट्रेलिया सात विकेटको क्षतिमा ९१ रनमा पुग्यो। लक्ष्य थियो- २९२ रन।
स्टार्कको बहिर्गमनपछि ब्याटिङमा आए- अस्ट्रेलियाली कप्तान प्याट कमिन्स। कमिन्सले सात बलको सामना गर्दै पाँच रन र म्याक्सवेलले २८ बलमा २४ रन बनाएका थिए। त्यतिपछि राशिद खानको २१औं ओभरको पहिलो बलमा म्याक्सवेलको ब्याटको ‘टप एज’ लाग्यो। उनी पनि पभेलियन फर्किने अवस्था सिर्जना भयो। तर अफगानी खेलाडीले क्याच लिन सकेनन्। म्याक्सवेलले दोस्रो जीवनदान पाए।
सिलसिला यत्तिमै सकिएन, २२औं ओभरको चौथो बलमा त म्याक्सवेलले पनि आश मारिसकेका थिए। फेरि हातमै आएको बल क्याच छुट्यो। तेस्रो पटक जीवनदान पाए उनले।
जेनतेन ५१ बलको सामना गर्दै म्याक्सवेलले अर्धशतक बनाए। यति वेलासम्म पनि अस्ट्रेलियाले ‘निश्चित हार्ने’ खेल खेलिरहेको थियो। तर यसपछि भने अस्ट्रेलियाको पारीले नसोचेको मोड लियो। कमिन्सले विकेट जोगाउँदै खेले भने ठूलो शट हान्ने र रन बनाउने जिम्मा म्याक्सवेलले लिए। म्याक्सवेलले थप २५ बल खेल्दै ७६औं बलमा शतक बनाए।
यसबीच म्याक्सवेलको चोट बल्झियो। उनी उभिन नसकेर मैदानमै केही बेर ढले पनि। खुट्टा चलाउनै नसक्ने भए। रन लिन पनि कुद्न नसक्ने भए। म्याक्सवेलले क्र्याम्प, ह्यामस्ट्रिङ र ब्याक स्पाज्मको पीडा भोगिरहँदा अस्ट्रेलियाको पारीमा फेरि संकट मडारिंदै थियो।
एक समय नवौं स्थानका एडम जाम्पा प्याड र हेलमेट लगाएर मैदान प्रवेश गर्न तयारी भएर बाउन्ड्री लाइनसम्मै पनि आएका थिए। तर म्याक्सवेलले बहादुरीपूर्वक खेल जारी राख्ने निर्णय लिएँ। खेल्न जानलाई बाउन्ड्री लाइनमा पुगेका जाम्पा ड्रेसिङ रूममै फर्किए।
त्यसपछि म्याक्सवेल रन लिन कुदेनन्। ‘फूटवर्क’ विनै एकै स्थानमा उभिएर चौका र छक्का बर्साउन थाले। १०४ बलमा आफ्नो खातामा डेढ सय रन चढाएका उनले यसपछि जम्मा २४ बलमा थप ५० रन बनाएर कुल २१ चौका र १० छक्काको मद्दतमा २०१ रनको विस्फोटक पारी खेले।
पारीको १९ बल र तीन विकेट बाँकी छँदै ४६ ओभर पाँच बलमा अस्ट्रेलियाले लक्ष्य भेट्टायो।
यो एकदिवसीय विश्वकपको तेस्रो दोहोरो शतक हो। यसअघि सन् २०१५ को विश्वकपमा वेस्ट इन्डिज विरुद्ध न्यूजिल्यान्डका मार्टिन गप्टिल (अविजित २३७) र जिम्बावे विरुद्ध वेस्ट इन्डिजका क्रिस गेल (२१५)ले दोहोरो शतक बनाएका थिए।
कमिन्सको समझदारीपूर्ण पारी
म्याक्सवेलको बहादुरीपूर्ण पारी जत्तिकै समझदारीपूर्ण पारी खेले- अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले। अंकतालिका हेर्ने हो भने कमिन्सको पारी निकै हास्यास्पद लाग्छ। तर एउटा ‘एन्ड’ कमिन्सले पूरै धानेपछि म्याक्सवेलले खुलेर खेल्न पाएका थिए।
अस्ट्रेलियाको जितमा कमिन्स र म्याक्सवेलले २०२ रनको साझेदारी गरे। जसमा कमिन्सले केवल १२ रनको योगदान दिए। त्यो पनि ६८ बल खेलेर। झट्ट हेर्दा टेस्ट क्रिकेट झैं लागे पनि कमिन्सको कप्तानी पारी पनि अस्ट्रेलियाको जितमा निकै महत्त्वपूर्ण हिस्सा बन्यो।
सातौं विकेट वा त्यसभन्दा तलका लागि म्याक्सवेल र कमिन्सबीचको साझेदारी हालसम्मकै उच्च पनि हो।
म्याक्सवेलले बनाएका कीर्तिमान
अहिलेसम्म पुरुष एकदिवसीय खेलमा ११ पटक दोहोरो शतक बनेको छ। तर यसअघि बनेका सबै दोहोरो शतक ओपनर ब्याटरबाट बनेको हो। अविजित २०१ रनको पारीसँगै एकदिवसीयमा दोहोरो शतक बनाउने म्याक्सवेल एक मात्र नन् ओपनर ब्याटर हुन्।
यस्तै, म्याक्सवेल एकदिवसीय संस्करणमा अस्ट्रेलियाका लागि दोहोरो शतक बनाउने पहिलो खेलाडी पनि बने। यस्तै, एकदिवसीय पारीमा अस्ट्रेलियाका लागि व्यक्तिगत उच्च स्कोर पनि अब म्याक्सवेलकै नाममा रहनेछ। यसअघि यो कीर्तिमान बाङ्लादेश विरुद्ध सन् २०११ मा अविजित १८५ रन बनाएका शेन वाट्सनको नाममा थियो।
म्याक्सवेलको २०१ रन एकदिवसीयमा लक्ष्य पछ्याउने क्रममा बनेको व्यक्तिगत उच्च स्कोर पनि हो। यसअघि यो कीर्तिमान पाकिस्तानका फखार जमानको नाममा थियो। उनले सन् २०२१ मा दक्षिण अफ्रिका विरुद्ध १९३ रन बनाएका थिए।
योसँगै विश्वकपमा पाँचौं क्रममा ब्याटिङमा आएर म्याक्सवेलले कुल तीन शतक बनाएका छन्। विश्वकपमा पाँचौं क्रम वा त्यसभन्दा तल ब्याटिङमा आएर कुनै पनि खेलाडीले एकभन्दा बढी शतक बनाउन सकेका छैनन्।
(ईएसपीएन क्रिकइन्फो र आईसीसीको सहयोगमा।)