भारतमा किलोको ६४ रुपैयाँ पर्ने चिनी नेपालमा १८०
भारतमा प्रतिकिलो ४० भारु अर्थात् ६४ नेरुमा पाइने चिनीलाई नेपाली उपभोक्ता १८० रुपैयाँसम्म तिर्न बाध्य छन्।
अहिले नेपाली बजारमा चिनीको मूल्य आकाशिएको छ। आन्तरिक उत्पादनले नधान्ने नेपालमा भारतबाटै चिनी आउने गरेको छ। भारतमा प्रतिकिलो ४० भारु अर्थात् ६४ नेरुमा पाइने चिनी नेपाली बजारमा भने १०० देखि १८० रुपैयाँसम्म बिक्री भइरहेको छ।
किन महँगियो चिनी? यसका दुई कारण छन्। पहिलो कारण, सरकारले चालू आर्थिक वर्षको बजेटमा ल्याएको नीति हो। देशभित्रका चिनी उद्योगलाई सहुलियत दिने उद्देश्यले भन्सार महसूल बढाइएको थियो।
चिनीमा ४५ प्रतिशतसम्म कर लाग्ने गरेको छ। चिनी आयात गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत तिर्नुपर्छ। त्यससँगै विविध शीर्षकमा दुई प्रतिशत शुल्क लिने गरिएको छ। झन् चालू आवमा ३० प्रतिशत भन्सार महसूल लगाइएको छ।
आन्तरिक उद्योगलाई सहुलियत दिने नाममा भन्सार शुल्क बढाउँदा चिनीको मूल्य आकाशिएको व्यवसायी बताउँछन्। “सरकारको गलत नीतिका कारण चिनीको मूल्य आकाशिएको हो,” वीरगन्ज उद्योग वाणिज्य संघका वाणिज्य सचिव प्रेमचन्द्र गोयल भन्छन्।
सचिव गोयलका अनुसार ३० प्रतिशत भन्सार महसूल लगाउँदा व्यापारीले चिनी आयात गरेनन्। जसले गर्दा अहिले हाहाकार देखिएको हो।
त्यस्तै, वीरगन्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थी पनि आन्तरिक उत्पादनमा विश्वास गरेर पनि ३० प्रतिशत भन्सार महसूल लगाउँदा अहिलेको समस्या आएको स्वीकार गर्छन्। उनका अनुसार भन्सार महसूल बढाएका कारण चालू आवमा नेपाली व्यवसायीले चिनी आयात गरेनन्। जसले गर्दा पनि बजारमा अभाव भयो।
दोस्रो कारण, भारतले चिनी निर्यातमा रोक लगाएको छ। जसले गर्दा भन्सार भएर चिनी आयात भइरहेको छैन। त्यसको असर पनि परेको भन्सार प्रमुख पन्थी बताउँछन्। उनी भन्छन्, “भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ, त्यसकारण चिनी नभित्रिएर अहिले बजारमा मूल्य बढेको होला।”
भारतले चिनी निर्यातमा रोक लगाएपछि लुकिछिपी आयात भइरहेको छ। कतिपयले चामलको बोराभित्र चिनी ल्याइरहेको व्यवसायी बताउँछन्। त्यसरी ल्याइएको चिनी व्यापारीले आफूखुशी मूल्यमा बिक्री गर्दै आएका छन्। जसले गर्दा उपभोक्ता मर्कामा परेका हुन्।
झन् चाडपर्वको वेला चिनी बढी खपत हुन्छ। सेल, मिठाई लगायत परिकारमा चिनीको प्रयोग हुन्छ। खपत बढी हुने वेलामै आपूर्ति नहुँदा मूल्य बढेको व्यापारीको भनाइ छ।
चाडपर्वका वेला चिनी नपाइएपछि सीमा क्षेत्रका बासिन्दा भारततिर जान थालेका छन्। तर दुवैतिरका सुरक्षाकर्मीको सास्ती खेप्नुपरिरहेको सीमा क्षेत्रका बासिन्दा बताउँछन्।